"नेपालीको क्यान्सर उपचार नेपालमै "-डा सुदिप श्रेष्ठ

महिला स्वास्थ्य

२०७६ असार ५ बिहिबार

फेसबुक , जनाइएको , शेर्पा

नेपालमा क्यान्सर रोग दिन प्रतिदिन बढ्दो छ । बदलिँदो जीवनशैली, गलत खानपान, धुँवाधुलोको प्रदुषण तथा सूर्तीजन्य पदार्थका कारण नेपालमा वर्षेनी हजारौं मानिसलाई क्यान्सर लाग्ने गरेको छ ।

नेपालमा क्यान्सर रोगको अवस्था जति भयावह छ, बिरामीको उपचार पनि त्यति नै जटिल छ । उपचारका लागि मानिसहरु विदेशसम्म जाने गरेका छन् भने आर्थिक अवस्था कमजोर हुनेहरुले घरखेत बेचेर सुकुम्वासी बन्नुपरेको छ । यिनै प्रश्नहरुको सेरोफेरोमा हामीले नेपाल क्यान्सर अस्पतालका प्रमुख एवं वरिष्ठ मेडिकल अन्कोलोजीस्ट डा सुदिप श्रेष्ठ  सँग क्यान्सर रोगको अवस्था, भ्रम र नेपाल क्यान्सर अस्पतालको भुमिका केलाउँदै लामो कुराकानी गरेका छौं ।


हाल नेपालमा क्यान्सरको अवस्था कस्तो छ र नेपाल क्यान्सर अस्पतालमा कुन कुन क्यान्सरका बिरामी बढिआउने गर्छन् ?

नेपालमा वर्षैनी क्यान्सर बिरामी बढि रहेका छन् । विश्वको परिवेशमा पनि अत्यधिक बढि रहेको पाइन्छ ।बदलिँदो जीवनशैली, गलत खानपान, धुँवाधुलोको प्रदुषण तथा सूर्तीजन्य पदार्थका कारण नेपालमा वर्षेनी हजारौं मानिसलाई क्यान्सर लाग्ने गरेको छ । 

यस अस्पतालमा सबै किसिमका क्यान्सरका बिरामी आउने गर्छन् त्यस मध्ये पनि महिलाहरुमा स्तन क्यान्सर बढि छन् भने पुरुषहरु र महिलाहरुलाई जोडेर फोक्सोको क्यान्सर बढि मात्रामा छन् । यसका अलावा महिलाहरुमा पाठेघरको मुखको क्यान्सर र प्रज्जनन् सम्बन्धीको क्यान्सर पनि बढि आउने गरेका छन् ।


दैनिक कति बिरामीहरु यस अस्पतालमा आउछन् र नेपाल क्यान्सर अस्पतालले कति व्यक्तिहरुलाई क्यान्सर निको पारेको छ ?

बार्षिक दरले हेर्ने हो भने ३००० जति नयाँ क्यान्सरहरु दर्ता हुन्छन् । त्यसैको आधारमा प्रति दिन ५ देखि ६ नयाँ क्यान्सरको बिरामी आउछन् । यसका अलावा पुराना बिरामीहरु पनि आउछन् । 

यस नेपाल क्यान्सर अस्पतालले झन्डौँ एक तिहाई (१/३) क्यान्सर बिरामीहरुको सफलतापुर्वक उपचार गरेर  स्वस्थ बनाएर घर पठाएको छ । अहिले उहाँहरु आफ्नो जिवन सामान्य तरिकाले बिताईरहेका छन् ।

 

क्यान्सर रोगको उपचार नेपालमै सम्भव छ भने उपचार गर्नका लागि बाहिर जानुका कारण के हो र यसलाई कसरी कम गर्न सकिन्छ ?
यसको धेरै कारणहरु छन् जस्तै विश्वास नभएर - क्यान्सर भन्ने बितिकै ज्यानलेवा रोग हो भन्ने बुझाई  रहेको छ र आफुलाई कहाँ गएर राम्रो हुन्छ भन्ने हिसाबले बाहिर जाने चलन चलेको छ ।
नेपालमै उपचार गरेर निको भएका व्यक्तिहरुले मलाई क्यान्सर भएको हो र नेपालमै उपचार गरेर निको भयो भनेर बोल्न हिच्किचाउने भएको हुनाले र कोहि व्यक्तिलाई क्यान्सर लागेर मृत्यु भएको छ भने यस्तो सन्देशहरु एकदमै चाडै फैलिने कारणले गर्दा बिरामीहरुमा नेपालका अस्पतालहरु प्रती विश्वास घट्दो छ ।

हाम्रो देशका कलाकारहरु अथवा राजनितिक नेताहरु क्यान्सरको उपचारको लागि बाहिर जानुहुन्छ जुन कुरा समाचारको शीर्षकमा आउछ त्यसले गर्दा समाजमा त्रास आउने गर्छ कि क्यान्सरको उपचार गर्न बाहिर नै जानु पर्ने रैछ । नेपालकै अस्पतालमा जाँच गराउदा पनि गाँउ, समाजका व्यक्तिका कुरा सुनेर बाहिर उपचार गर्न जाने गर्छन् ।

 

साधारण मानिसहरुले क्यान्सरलाई भयावह रोग हो भन्ने बुझ्छन् यो भ्रमलाई मेटाउन के भन्न चाहनु हुन्छ  ?
 

सर्बप्रथम क्यान्सर बाट निको भएका व्यक्तिहरुले समाजमा बोल्दिनु पर्यो । मलाई क्यान्सर भएको थियो र उपचार गरेर निको भयो । क्यान्सर पनि एउटा सामान्य रोग हो र तिमीहरु पनि निको हुन सक्छौँ भन्ने हिसाबले समाजमा चेतना फैलाउनुपर्छ । जस्ले गर्दा मलाई क्यान्सर भएको हो र उ जस्तै म पनि निको हुन सक्छु भनेर प्रोत्साहन हुन्छ र बिरामी नजिकैको अस्पतालमा उपचारको लागी जानसक्छन्  । 
नेपालमै डायगनोसिस हुन्छ, नेपालमै उपचार सम्भव हुन्छ भन्ने  विश्वास भएपछि मानिसहरुले क्यान्सरलाई सामान्य रोग को रुपमा लिन थाल्छन् ।


यस नेपाल क्यान्सर अस्पतालले आर्थिक स्थिति कमजोर भएका व्यक्तिलाई पनि सहयोग गर्दै आएको छ र अरु के कस्ता योजनाहरु रहेका छन्  ?

यस अस्पातल संचालनको मुख्य लक्ष्य भनेको राम्रो सुविधा र अर्को भनेको यदि उपचारको क्रममा कोहि बिरामीहरु आर्थिक विपन्न हुनुहुन्छ भने उहाँहरुलाई पैसाको कारणले यो अस्पतालबाट बाहिर जानु नपरोस भन्ने हो ,यस कुरालाई हामीले पुरा ध्यान राखेका छौँ । यसको लागि  सहयोग समुह (charity community )  पनि बनाएका छौँ र सरकारको पनि सहयोग रहेको छ ।

अस्पतालको १० प्रतिशत बेडहरुलाई फ्रि बेडको रुपमा राखीएको छ भने जो बिरामीहरु आर्थिक रुपमा सक्षम हुनुहुन्न उहाँहरुले हामीलाई निबेदन दिनु भयो भने हामीले उहाँहरुलाई कसरी सहयोग गर्न सक्छौ हामी गछौँ । यसका अलवा स्तन क्यान्सर हुने महिलाहरु जो आर्थिक अवस्थाले कमजोर हुनुहुन्छ उहाँहरुलाई हामीले फ्रि मै अप्रेशन गर्ने गरेका छौँ ।


यस अस्पतालमा कुनकुन क्यान्सरको उपचार हुन्छ र कुन केशमा बाहिर जानको लागि रिफर गर्नु हुन्छ ?

हाम्रो एउटा नारा छ ‘नेपालीको क्यान्सरको उपचार नेपालमा’ यो नारा किन राखिएको हो भने हामीलाई पुरा तरिकाले विश्वास छ कि कुनै पनि क्यान्सरको उपचार नेपालमा गर्न सकिन्छ र डायग्नोसिस नेपालमै गर्न सकिन्छ, यदि बिरामीहरुलाई ठूलो ठूलो प्रत्यारोपण गर्नु पर्यो भनि मात्रै उहाँहरुले बाहिर जानु पर्ने हुन्छ र कुनै जाचँहरु नेपालमा नहुने हुन्छ यस्तो जाँच गराउनु पर्यो भने बाहिर जानु पर्ने हुन्छ ।

 

नेपाल क्यान्सर अस्पातलले क्यान्सर सम्बन्धि जनचेतना फैलाउन  के कस्ता कार्यक्रमहरु गरेको छ र पछिको के योजन रहेको  छ ?

नेपाल क्यान्सरको अर्को उद्देश्य भनेको हाम्रो सेवा अस्पतालमै सिमित नहोस् र क्यान्सर जस्तो जटिल रोगको लागि “prevention is better than cure ” भन्ने वास्तविक्ता  लाई आत्मसाथ गर्न जरुरी छ । यसका लागी हामीले विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गरिरहेका हुन्छौ । 

 

क्यान्सरको उपचार कतिको महङ्गो छ ?

क्यान्सरको उपचारको लागि ३ विधिहरु प्रयोग भएका छ शैली चिकित्सा, रेडियो विकिरण र किमो थेरापी ।
यो ३ वटै विधिहरु महङ्गो छ किनभने क्यान्सरको शैली चिकित्सा एकदम जटिल हुन्छ थुप्रै मेसिनको आवश्यकता हुन्छ त्यस्तै गरी रेडियो विकिरण सेवा पनि महङ्गो हुन्छ र यस्मा प्रयोग हुने सामान र त्यस्को मर्मत पनि महङ्गो हुन्छ साथसाथै अन्य प्रयोग हुने औषधिहरु पनि महङ्गो छन् । यी सबै कारणले गर्दा क्यान्सरको उपचार महङ्गो छ ।


क्यान्सर लागेका व्यक्तिलाई के सुझाव दिन चाहनु हुन्छ र क्यान्सर हुन नदिनुको लागि मानिसले के कस्ता जिवनशैली अप्नाउनु पर्छ ?

क्यान्सर एउटा जटिल रोग हो तर यस रोग बाट हामी बाच्न सक्छौँ । क्यान्सरबाट बच्नका लागि हामीले धेरै कामहरु गर्न सक्छौँ जस्तै क्यान्सर हुने मुख्य कारण धुम्रपानबाट बच्यौँ भने हामी ७०-८० प्रतिशत फोक्सोको क्यान्सर र मुखको क्यान्सरबाट बच्न सकिन्छ यसका अलावा खानपानमा ध्यान दियौँ भने खानपिन बाट हुने क्यान्सरबाट बच्न सक्छौँ ।

( नेपाल क्यान्सर अस्पतालका प्रमुख एवं वरिष्ठ मेडिकल अन्कोलोजीस्ट डा सुदिप श्रेष्ठ  सँग कुराकानीमा आधारीत )

 

महिलास्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment