हरेक महिनाको ४/५ दिन मेरो योनीबाट बग्ने रगतलाई बरदान कहिले मान्ने ?

महिला स्वास्थ्य

२०७६ श्रावण ३१ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

- भागिरथी पण्डित 

काठमाडौ । म पहिलो पटक महिनावारी हुदाँ शरीर त पिडामा थियो नै मनमा पनि कता कता पिडाहरु महसुस गरेको थिएँ । महिनावारी हुदाँ शरीर भारी हुन्छ पेट दुख्छ भनेको सुनेको थिएँ । त्यो दिन पहिलो पटक मैले पनि भोगेँ । तर मनमा एक किसिमको डरले डेरा जमाएर बस्यो । केहिसमय पहिला दिदी महिनावारी हुदाँ पल्लोघर (गोठ) मा राखेको यादले कतिबेला मेरो  आँखा रसाएछ । 

त्यो अध्यारो ठाँउमा एक्लै बस्नुपर्ने पिरले मम्मिलाई भनौँ, नभनौँ भइरहेको थियो । त्यतिबेला नै मम्मि मेरो छेउ आइपुग्नुभयो । हत्तपत आँसु लुकाएँ । सायद मेरो अनुहार मलिन देखेर होला मम्मिले प्रश्नहरुको बर्षा ओइराउनुभयो । मलाई डर र लाज लागीरहेको थियो । केहिबेर मौन बसेँ । मम्मि मेरो स्वभावमा छक्क पर्नुभयो ।  हिम्मत गरेर म नछुने भएँ भने । ममी मुस्कुराउदैँ बाहिर बस्न हुन्न अब ७ दिन लुकेर बस्नुपर्छ भन्दै पल्लोघरमा लग्नुभयो । मम्मिलाई देखेर केहिबेर लुकाएर राखेको आँसु झन तप तप खस्न थाल्यो । 

मम्मिले परम्परा हो मान्नुपर्छ भन्दै आँसु पुछिदिनुभयो । टाउको हल्लाएर सहमती जनाएँ । घरको धुरी, सुर्य र परिवारको पुरुष सदस्य (दाजुभाई र बाबा) लाई हेर्न हुदैन भनेर मम्मि  त्यहाँबाट जानुभयो । तर हेर्दा के हुन्छ भन्नुभएन । खै किन मलाई त्यतिबेला नै भाईलाई हेर्न मन लाग्यो । तर त्यो दिन भाईलाई देखिन् । 

भोलिपल्ट देखि मेरो कक्षा ९ को दोस्रो परीक्षा थियो । परिक्षा दिन कसैले रोकतोक गर्नुभएन । भाईलाई हेर्ने इच्छा अझै ताजा थियो । स्कुल जाने समयमा घरतर्फ नजर घुमाए भाई स्कुल गइसकेछ । तर दाई (काकाको छोरा) र म एउटै स्कुलमा पढ्थ्यौ । घर र्फकने समयमा एक्कासि दाई मेरो अगाडि आयो । म झस्याङ भएँ मानौ कि म कतिदिनको निन्द्राबाट उठेँ । अब के अनर्थ हुने हो भन्ने डरले मेरो हात खुट्टा कामिरहेको थियोे । अब के अशुभ खबर सुन्न पर्ने हो भन्ने डरले भित्र भित्रै खाइसकेको थियो । 

भाइहरु स्कुलबाट आएर बल खेल्दै थिए । मैले स्पष्ट उनीहरुको आवाज सुनीरहेको थिएँ । सम्योगबस उनीहरु खेलिरहेको बल झ्यालबाट म सुतेको ठाँउमा आइपुग्यो । भाई बल लिन आयो । त्यो दिन मैले दाई र भाई दुवैलाई देखेँ । के अनिष्ट हुने हो भन्ने डरले रातभर निदाउन सकिन । तर भाई अनि दाईलाई देखेको कुरा कसैलाई भनिन दिनहरु बित्दै गए तर मैले सोचे जस्तो अनिष्ट केहि भएन त्यसपछि यो हाम्रो समाजमा फैलाइएको अन्धविश्वास र भम्र मात्र रहेछ भन्ने लाग्यो । आत्मविश्वास बढ्दै गयो । त्यसपछि मैले महिनावारी पाप नभई बरदानको रुपमा लिए । 

महिनावारी महिलाको प्रजनन् क्षमतासँग जोडिएको, शारीरिक परिपक्वताको एक महत्वपूर्ण चक्र हो । यसको बारेमा हाम्रो परिवार, समाज र देशमा नै खुलेर कुरा गर्ने महिलाहरु एकदमै कम छन् । हाम्रो समाजमा छोरी महिनावारी हुदाँ आमा गर्व  गर्न सक्दिन्न  सकेसम्म समाजमा थाहा नहोस् भन्ने चाहन्छिन् । आखिर किन लुकाइन्छ महिनावारीलाई ? यसलाई किन बनाइन्छ लज्जाको  बिषय ? महिनावारी हुनु कुनै पाप होइन् ।  पाप धर्म त केवल मानसिकताको उपज हो । यो धार्मिक परम्पराको नाममा जरो गाडेर बसेको कुरीती र महिलामाथि हुने अत्याचार हो ।  

२१औँ शताब्दिमा पनि हाम्रो समाजका महिलाहरु छाउपडि प्रथा जस्तो रुढिबादी परम्परालाई आत्मसाथ गरिरहेका छन् । सनातन धर्म ग्रन्थ लगायत संसारका सबै धर्म ग्रन्थहरूमा महिनावारीलाई धार्मिक, संस्कृतिक लगायत दैनिक जीवनमा वर्जित गरिएको छ । सनातन धर्मको मूल आधार चारै वेदमा भने महिलाको महिनावारिलाई छुन नहुने भनेर भनेको छ भनेर वेद ज्ञाताहरू कसैले यहाँ भन्न सकिरहेका छैनन्। महिनावारी छुनै नहुने धार्मीक संस्कार हो भने बागलुङ र मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरमा महिनावारी भएको महिलालाई किन पुजा गर्न अनुमति दिइन्छ ।

परापुर्वकालदेखी पुज्दै आएका पार्वती लक्ष्मी सरस्वती गोठमा बस्न गएको किन कुनै धार्मीक ग्रन्थमा उल्लेख गरिएको छैन ? श्रृष्टि चक्रको आरम्भलाई नै पाप ठान्ने कस्तो अचम्म छ हाम्रो परम्परा । अहिलेसम्म महिनावारी भएको समयमा कुनै महिलाले पुरुषलाई छोएर ‘पाप’ गरेको प्रमाण कसले जुटाएको छ ? 

अहिलेपनि सुदूरपश्चिमका केही जिल्लामा महिनावारी भएका महिलाले घरभित्र बस्न नपाउने र छाउगोठमा अलग्गै बस्नुपर्ने कुसंस्कार कायम नै छ । महिनावारी भएको बेला घरभित्र बसे देउता रिसाउने, दुधदहि खान नहुने लगायतका रुढिबादी परम्परा हट्न सकेको छैन । छाउगोठमा बस्नुपर्ने बाध्यताले महिलाको शारिरीक र मानसिक स्वास्थ्यमा गम्भीर समस्या सँगै  ज्यान जाने सम्मका घटनाहरु भइरहेका छन् । 

२०७५ जेठ १९ गते अछामको तुर्माखाद गाँउपालिकाकी १८ बर्षिय पार्वती बुढाकोे महिनावारी बार्न छाउ गोठमा सुतेको बेला सर्पले डसेर मृत्यु भएको थियो । त्यस्तै बाजुराको बुढीनन्द नगरपालिकामा गत पुस २४ गते छाउगोठमा आगलागीका कारण धुवाँले निस्सासिए ३५ बर्षिय अम्बा बोहोरासँगै छोराछोरीले पनि अकालमा ज्यान गुमाएका थिए । यस्ता कतिपय समाचार बाहिर आएकाछन् त कति भित्रै दबाइन्छ । संसार कहाँ पुगिसक्यो, हाम्रो मुलुक अझै यस्ता परम्पराभित्र रुमलिइरहेको छ ।

सुदुरपश्चिममा मात्र नभई ग्रामीण क्षेत्रदेखि सहर, जताततै यो प्रथा कायम छ । सहरमा पनि छोरीहरू पहिलो पटक महिनावारी हुँदा अलग्गै कुटी बनाएर नराखेपनि पुरूष सदस्यको मुख हेर्न हुँदैन भनेर आफन्तकोमा लगेर राखिन्छ । आफ्नो घर बस्न नपाउनु यो पनि छाउपडी भन्दा कम कहाँ हो र ?  

छाउपडि प्रथालाई हटाउनका लागी सरकार लगायत विभिन्न संघ संस्थाले करोडौ खर्च गरिसकेका छन् । सरकारले पहिलोपटक फौजदारी अपराधको संज्ञा सहित मुलुकी अपराध संहिता बिधेयक, २०७४ पारित गरेको छ । छाउपडि राखेमा वा त्यस्तो कार्यमा बाध्य गराउनेलाई तिन महिनाको कैद र जरीवानाको व्यवस्था समेत गरेको छ । तर अहिलेसम्म कसैलाई पनि छाउगोठमा राखेको भन्दै कारबाहि गरिएको छैन । छाउपडी प्रथा सम्बन्धि सरकारले कानुन बनाएपनि प्रभाबकारी हुन सकेको छैन । 

पछिल्लो समयमा स्थानिय सरकारले छाउपडि प्रथा सम्बन्धि कुरुती हटाउनका लागी सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिरहेको समचारमा आइरहेका छन् । साथै महिनावारी नबार्ने महिलालाई पुरस्कारको व्यवस्था गरिएको समेत समाचारमा उल्लेख छ । 

छाउपडि सम्बन्धि परम्परागत सोच वा अन्धविश्वासलाई चिर्न नसकेसम्म  महिलाहरुले अकालमा ज्यान गुमाइरहन्छन् । महिलाहरुको सुरक्षा, र यस्ता परम्परागत कुसंस्कारको अन्त्यका लागी सर्वप्रथम सोचमा परिवर्तन ल्याउन हामीबाट नै सुरु गर्न जरुरी छ । 

महिनावारीको समयमा हरेक महिला तथा किशोरीहरुले सरसफाईमा बिशेष ध्यान दिनुपर्छ  । यो अवस्थामा महिलाहरु कमजोर हुने भएकाले पौष्टिक आहार खानुपर्छ । 

 हरेक महिलालाई महिनावारीले प्रजनन् रुपमा सक्षम भएको प्रमाण पनि दिन्छ । हाम्रो मम्मि महिनावारी भएर हामी जन्मेका हौँ । म महिनावारी भएकै कारण आमा बन्ने परिकल्पना गर्न सक्छु । र मेरो श्रीमानको बंश जर्गेना गर्न सक्छु । यो प्रकृतिको रीत हो । हो हरेक महिनाकोे ४/५ दिन मेरो योनिबाट रगत बग्छ । म यसलाई बरदान मानी गर्व गर्छु । जुन हरेक महिलाले बुझ्न जरुरी छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment