मोटपना र रोग व्यवस्थापनका लागि योग  अत्यावश्यक

महिला स्वास्थ्य

२०७६ भदौ ११ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

-भागिरथी पण्डित

काठमाडौं । अव्यवस्थित खानपान, बिलासी जिवनशैलीका कारण  धेरैजसोे महिलाहरु मोटोपनाको शिकार भएको पाइन्छ । उनीहरु शरिरलाई आकर्षित र फिट राख्न विभिन्न उपायहरु अपनाउँछन्  । 

मोटोपनका कारण उनिहरु कपडा लगाउदाँ शरीर भद्दा र असहज महशुस गर्न थाल्छन् । उनीहरु आफ्नो सुन्दरतामा कमी देख्न थाल्छन् । हालको परिवेशलाई नियाल्ने हो भने हरेक घरका महिलामा मोटोपनाको समस्या पाउन सकिन्छ । शरीरलाई कसरी फिट राख्ने सबैकोे साझा समस्या बनेको छ ।

मोटोपना व्यवस्थापन गर्ने सबैभन्दा सरल र प्रभावकारी उपाय योग हो । कुनै व्यक्तिको लगनशिलता, व्यवस्थित आहार र दैनिकी परिर्वतन गर्दा मोटोपना घटाउन सकिन्छ । मोटाउदा  बिशेषगरी पेट र कम्मर बढ्ने गर्दछ । त्यसैले कम्मर र पेट घटाउने सम्बन्धि क्रियाकलाप गर्नुपर्छ ।

पहिला जिउ तताउने र ज्वाइन्टहरु लुज गराउने किसिमका क्रियाकलापहरु गर्नुपर्छ । एकैपटक कडा किसिमका आसन कदापी गर्न हुदैन । त्यसपछि आफ्नो शरिरलाई कस्तो आसन आवश्यक पर्छ त्यस्ता किसिमका आसनहरुमा रहेर योग गर्नुपर्छ । 

केहि प्राणायमहरु र आसनहरु जस्तैः कपालभाति, अनुलोमबिलोम, बाह्य प्रणायमहरु, बक्राशन, नौकाशन, धनुरासन, सुर्य नमस्कारका विभिन्न आसनहरु, अर्धहलासन, दुईचक्रिका आसन लगायत अन्य आसनमा रहेर योग गर्नुपर्छ । 

प्राणायमहरु

कपाल भाति 

धेरै ऊर्जावान उच्च पेट श्वास सम्बन्धि अभ्यास हो। कपाल अर्थात मस्तिष्क र भाति  स्वच्छतालाई बुझिन्छ । कपाल भाति प्रणायम गर्दा  मस्तिष्क स्वच्छ हुन्छ । 

कपाल भाति प्राणायाम गर्दा मेरुदण्डलाई  सीधा राखेर ध्यानात्मक आसन, सुखासन वा कुर्सिमा बस्न सकिन्छ । त्यसपछि नाकको दुबै प्वालबाट जतिसक्दो सास बाहिर फाल्नुपर्छ । साथै पेटभित्र दबाउनुपर्छ । त्यसपछि  नाकको दुबै प्वाँलबाट सास भित्र लिने र पेटसकेसम्म बाहिर ल्याउने गर्नुपर्छ ।  यो आवश्यकता अनुसार ५० देखि ५०० पटक सम्म गर्न सकिन्छ । तर पहिलो पटक गर्दा ५० पटक गरेर बिस्तारै बढाउदै लैजादाँ उचित हुन्छ । यो क्रियाकलाप कममा ५ मिनेट देखि ३० मिनेटसम्म गर्न सकिन्छ । 

यो प्राणायाम  नियमित गर्दा शरीरको अनावश्यक मोटोपना घट्छ ।  दिन भर सक्रिय हुन सकिन्छ । रातमा सजिलै निदाउन सकिन्छ ।   दमजस्ता रोगको जोखिम कम गर्न सकिन्छ । 

यो प्रणायम हृदय रोग र उच्च रक्तचाप भएका व्यक्तिले बिस्तारै गर्नुपर्छ । प्रदुषित वातावरणमा यो प्रणायम गर्नु हुदैन ।  ज्वरो, पखला लागिरहेको समयमा महिनावारी र गर्भावस्थामा पनि गर्न हुदैन ।

मस्तिष्क सन्तुलनको लागी अनुलोम विलोम

अनुलोम विलोम सबै उमेर समुहका मानिसहरुले गर्न सकिन्छ । अनुलोम विलोम प्राणायामले मस्तिष्क सन्तुलनमा राख्न सकिन्छ । 

प्राणायाम गर्दा गहिरो सास लिदाँ शुद्ध वायु हाम्रो रगतको दूषित पदार्थको बाहिर निकाल्छ र शुद्ध रक्त शरीरको सबै अंगमा गएर पोषण प्रदान गर्छ । प्राणायाम गर्न ध्यानात्मक आसन जस्तै पदमासन गर्नुपर्छ । 

बाह्य प्राणायाम 

बाहिरी अर्थात बाहिरबाट।  यो प्राणायाममा  अभ्यास गर्ने क्रममा सास फुकिन्छ, त्यसैले गर्दा यसलाई बाह्य प्राणायाम भनिन्छ ।

बाह्य प्राणायाम बिहान पानी पनि नखाइ  खाली पेटमा गर्नुपर्छ। यदि बाह्य प्राणायाम अघि केहि अन्य प्राणायाम गरेको छ भने पहिला सासलाई सामान्य बनाउनुपर्छ । थकान हटाउनुपर्छ । सफा वातावरणमा पद्मासन वा सुखासनमा बस्नुपर्छ ।  त्यसपछि शरीरलाई सिधा राखेर सास शरीरबाट पूर्ण रूपमा बाहिर जान दिनुपर्छ । 

आसनहरु 

बक्रासन
 
खुट्टा पसारेर बस्ने र दायाँ खुट्टालाई मोडेर बायाँ तिघ्राको छेउमा नितम्बसँग छोएर राख्ने । त्यसपछि बायाँ खुट्टा एंवम पेट सीधा गर्नुपर्छ । 

बायाँ हातलाई दायाँ खुट्टा एंवम पेटको बिचबाट ल्याएर दायाँ खुट्टाको पञ्जाको छेउमा लुकाउनुपर्छ । दाहिने हातलाई कम्मर पछाडी जमिनमा सिधा राख्ने, घाँटीलाई दाहिनेतिर घुमाएर हेर्नुपर्छ । यसलाई ४ देखि ६ पटकसम्म गर्न सकिन्छ । यसै प्रकार अर्कोतिर गर्नुपर्छ। बक्राशनमा रहेर योगा गर्दा  कम्मरको बोसो कम भएर जान्छ । कलेजो तथा फियोमा लाभ पुग्छ ।

अर्धहलासन

उत्तानो फर्केर जमिनमा सुत्नुपर्छ । त्यसपछि  श्वास भित्र भर्दै बिस्तारै खुट्टालाई उठाउने, पहिले ३० डिग्री पछि ६० डिग्रीसम्म उठाउनुपर्छ ।

यो स्थितिमा गाह्रो नहुन्जेल वा ३० सेकेण्डसम्म  बस्नुपर्छ । फर्केर आँउदा जुन क्रमले माथि आइन्छ, त्यही क्रमले खुट्टा बिस्तारै झार्दै भुइँमा सिधा छोड्नु पर्छ ।

अर्धहलासनमा रहेर योगा गर्दा थाइरोइड  ग्रन्थिलाई चुस्त बनाएर मोटोपन, भकभकाउने, पुड्को शरीर दुर्बलतामा लाभ पुर्याउँछ। मेरूदण्ड स्वस्थ, लचकदार बनाउँछ । स्त्री रोग कष्टातर्वमा उपयोगी हुन्छ । अन्याशय पेन्क्रियाज सक्रिय पारेर मधुमेहमा हित गर्छ । अजीर्ण, मन्दाग्नि, कब्जियतलाई लाभदायक हुन्छ । उच्च रक्तचाप , काँध दुख्ने , धेरै बढेको फियो र कलेजोमा यो आसन गर्नुहुदैन । 

नौकासन

दुबै हातलाई कम्मरको माथि राखेर सीधा सुत्नुपर्छ । त्यसपछि बिस्तारै श्वास भित्र भर्दै पहिले टाउको अनि काँधलाई माथि उठाउनुपर्छ । 

अनि खुट्टालाई पनि माथि उठाउनुपर्छ । हात, खुट्टा र टाउको समानान्तर  डुंगा जस्तै उठेको हुनुपर्छ । यो स्थितिमा केहि समय रोकिएर विस्तारै विस्तारै हात खुट्टा एंवम टाउकोलाई भुइमा श्वास बाहिर निकाल्दै वा छोड्दै ल्याउनुपर्छ ।

यस प्रकार ३ देखि ७ पल्ट सम्म दोहोराउन सकिन्छ । यो आसनको प्रतियोगि पूरक वा लगत्तै गर्नु पर्ने आसन धनुरासन हो। नौकासन पछि धनुरासन गर्नु पर्दछ ।  

यो आसनमा रहेर योगा गर्दा मुटु एवं कलेजो र फोक्सो पनि प्राणवायुको प्रवेशबाट सबल बन्छ । आन्द्रा, आमाशय तथा अग्नाशय आदिको लागि लाभदायक हुन्छ ।

धनुरासन

यो आसन गर्दा धनुषको आकार आउने भएकोले यसलाई धनुरासन भनिन्छ । 

पहिला घोप्टो परेर सुत्नुपर्छ । घुँडासम्म खुट्टालाई मोडेर कुर्कुचा नितम्बको माथि राख्ने र घुँडा र पञ्जा आपसमा मिलाउनुपर्छ । त्यसपछि दुवै हातले खुट्टाको कुर्कुचा नजिक समात्नुपर्छ । श्वास भित्र तानेर घुँडा एवं छाती वा ढाडलाई क्रमशः उठाएर माथितिर तान्नुपर्छ । तान्दा हात सीधा हुनुपर्छ । पछाडिको भाग उठेपश्चात पेटको माथिको भाग छाती, घाँटी एंवम टाउकोलाई पनि माथि उठाउनुपर्छ । 

नाभि र पेटको नजिकको भाग भुइमै हुनुपर्छ र अन्य भाग माथि उठेको हुनुपर्छ । शरीरको आकृति डोरी तानेको धनुषझैं हुन्छ । यो स्थितिमा करिब आधा मिनेटसम्म रहनुपर्छ । त्यसपछि क्रमशः श्वास छोड्दै पूर्ववत् स्थितिमा आउनुपर्छ ।

यो आसनमा रहेर योगा गर्दा मेरुदण्डलाई लचिलो एवं स्वस्थ बनाउँछ । हात, काँध र खुट्टाका हाड दुख्ने, ढाड दुख्ने र पेटको समस्त रोगका लागी फाइदाजनक हुन्छ । गानो जाने समस्या हट्छ । मिर्गौलालाई बल प्रदान गरी मूत्र विकारलाई समाप्त गर्छ । डर वा बेचैनीको कारण हुने बारम्बार पिशाब आउने समस्या कम हुन्छ । 

सूर्य नमस्कार

सूर्य नमस्कारले सम्पूर्ण शरीरलाई आरोग्य शक्ति एवं उर्जा प्राप्ति हुन्छ । यसबाट शरीरको सबै अंग प्रत्यंगहरु सक्रिय हुन्छन् । तथा शरीरको समस्त अन्तस्राबी ग्रन्थिहरुको कार्य सुचारु हुन्छन् । यदि संम्भव हुन्छ भने सुर्योदयको समय गर्नु राम्रो हुन्छ । सूर्य नमस्कारलाई ११देखि २१ पल्टसम्म गर्न सकिन्छ ।
 
सूर्य प्राणायमले शरीरको सबै अंग बलिष्ठ एवं निरोग हुन्छ । पेट, आन्द्रा, आमाशय, ह्दय एवं फोक्सोलाई स्वस्थ राख्दछ । मेरुदण्ड एवं कम्मरलाई लचिलो बनाएर त्यहाँ आएको विकृतिलाई टाढा भगाउँछ । सम्पूर्ण शरीरमा रक्त परि भ्रमणलाई सुचारु रुप बाट संचालन गर्दछ । यसैले रगतको अशुद्धिलाई समाप्त गरेर चर्म रोगलाई नाश गर्दछ । हात खुट्टा टुक्रा तिघ्रा काँध आदि सबै अगंको मांशपेशीहरु स्वस्थ एवं सुन्दर बनाउँछ । मानसिक शान्ति एवं बल ओज वा तेजलाई बृद्धि गर्छ । मधुमेहको लागि पनि विशेष उपयोगी हुन्छ । सूर्य नमस्कारले सम्पूर्ण शरीरलाई पूर्ण आरोग्य प्रदान गर्दछ ।

योग सँगै दैनिक खानपानमा पनि व्यवस्थित गर्नुपर्छ । फ्याट नभएका रेसादार खानेकुरा खानुपर्छ । एकै पटक धेरै खाना नखाई पटक पटक थोरै खानेकुरा खाने बानि बसाल्नुपर्छ । खाना सँगै पानि खानुहुदैन । त्यसरी खाना खाँदा पाचन प्रणालीमा समस्या आउँनसक्छ । 

चिल्लो, तारेको, भुटेको, मसलेदार रेष्टुरेन्टको खानेकुरा, फास्टफूड, जंकफूड खानेकुरा खानुहुदैँन । सकेसम्म उसिनेको खानेकुरा खानुपर्छ । खानेकुरामा सलादको मात्रा बढी हुनुपर्छ । फलफूल, सलादको सेवनले मोटोपन नियन्त्रणमा प्रभावकारी काम गर्छ । 

(गोकुल पराजुली कविराज निरिक्षक, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग कार्यरत हुनुहुन्छ । -कुराकानीमा आधारित )

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment