सपनाको घर सजाउन नपाउदै भताभुङ्ग भएको त्यो पल

महिला स्वास्थ्य

२०७६ आश्विन २ बिहिबार

फेसबुक , जनाइएको , शेर्पा

भागिरथी पण्डित
काठमाडौ ।
जन्म र मुत्यु बिचको समयलाई जिवन भनिन्छ । यो जिवनमा धेरैै उतार चढाव आउँछन् । यि उतार चढावमा जिवन रुपि फुललाई कसरी सजाउने, हुर्काउने अनि बढाउने आफैंमा भर पर्छ । जिवन कल्पना गरे जस्तो सजिलो कहाँ छ र तर असल मानिसको जिवनभर साथ पाए त्यति गाह्रो पनि हुदैनथियो होला ।

भाग्यको खेल भनौ या भगवानको लिला जो सँग सुखमय जिवन बिताउछु भनेर साचेको थिए, सपनाको घर बन्न नपाउदै भताभुङ्ग भयो । हाम्रो एकसाथको यात्रा छोटो समयमा नै टुङगियो । 

विवाहको अर्थ नबुझ्दै परिवारको निर्णयमा १९ बर्षको उमेरमा बैवाहिक बन्धनमा बाधिँएको थिए । नयाँ घर नयाँ परिवार नयाँ सम्बन्ध बुझ्दै थिए । २४ बर्षको उमेरमा नै यो संसारमा म एक्लो भए । 

जिवनसाथिको साथ सँगै परिवारको साथ पनि टुट्यो । हाम्रो समाजमा एउटा भनाई छ नि ‘ओरालो लागेको मृगलाई सबैले लखेटछन्’ यसको तात्पर्य त्यतिबेला बुझेको थिए । हाम्रो समाजमा अझै पनि एकल महिलालाई हेर्ने दृष्टिकोण परिर्वतन हुन सकेको छैन । उनिहरुलाई यो समाजमा संघर्ष गरेर बाच्ँन निकै कठिन छ । उनिहरु माथि हुने अमानविय व्यवहार पहिलाको तुलनामा केहि हदसम्म कम भएपनि ग्रामिण भेगमा यसले जरो गाडेको छ । एकल महिलालाई अनेक कुरा काट्ने, लानछना लगाउने जस्ता व्यबहार मैले पनि सहनुपरेको थियो । 

श्रीमानको अल्पआयुमा मुत्यु हुनुमा मेरो के दोष थियो र ? मेरो  हातमा श्रीमानको आयु हुन्थ्यो भने आफ्नो आयु पनि श्रीमानलाई दिन्थे । आफु हजारौँ कष्ट सहन तयार हुन्थे तर श्रीमानलाई केहि हुन दिदैनथे । तर पनि हाम्रो समाजमा एकल पुरुष बाँच्न एकदम सहज छ । उसले श्रीमतिको मुत्यु भएको बर्ष दिन नहुँदै शिर उठाएर छाति फुलाएर अर्को विवाह गर्न मिल्छ । तर एकल महिलाले दोस्रो बिवाह गर्ने कल्पनामा पनि आपत्ति जनाइन्छ । किन हुन्छ यो विभेद अनि कहिले सम्मको लागी ? कस्ले गर्छ यो विभेदको अन्त्य ? उत्तरबिहिन प्रश्नहरु हरेक क्षण मनमा खेलिरहन्छ । 

हाम्रो ६ बर्षको सहयात्रामा दुई सन्तानले जन्म लिइसकेका थिए । तिनीहरुको लालन पालनको जिम्मा म एक्लैले गनुपर्ने भयो । जिवन देखि कहालि लागिसकेको थियो । तरपनि सन्तानको अनुहार हेरेर आफुलाई सम्हाल्थे । आशुलाई शक्तिमा परिणत गरि साहस बटुलेर दुई छोराहरुलाई कहिल्यै बाबाको अभाव हुन नदिने अठोट गरे । परिवार र समाजलाई साइडमा राखेर अघि बढ्ने कोसिस गरे । यो कासिसमा दिदि भिनाजुले साथ दिनुभयो । मेलम्ची बजारमा सानो कस्मेटिक पसलबाट आफ्नो व्यवसाय सुरु गरे । सन्तानको उज्वल भबिश्यको लागि दिन रात नभनि मेहनत गरे । व्यवसाय राम्रो हुदैँ गयो । 
दुई सन्तान जिवन जिउने आधार थिए । व्यवसाय जिवनका हर संकल्प पुरा गर्र्ने माध्यम बन्यो । हाल सन्तानको लालनपालनमा आर्थीक समस्या छैन । तर कहिँलेकाहीँ छोराहरुले आफन्तको बारेमा जिज्ञासा राख्छन् । साथिहरुको सपरिवार देख्दा उनिहरुलाई पनि आफ्नो आफन्तबारे जिज्ञासा लाग्यो होला । उनिहरुको हरेक जिज्ञासा उत्तरबिहिन छन् । हरदिन उनिहरुलाई केहि चिजको कमि नहोस् भन्ने कोसिस गरिरहन्छु ।  

सबै एकल महिलाहरु व्यवसाय गरेर जिवनलाई एउटा दिशा दिन सक्दैनन् किनकि महिला स्वंयको सम्पति हुदैँन । हाम्रो समाजमा श्रीमानले कमाएर ल्याउँछन् श्रीमतिले घरधन्दा सम्हाल्ने चलन यथावत नै छ । त्यसैले महिलाहरु पुरुषमा निर्भर छन् । 

महिलाहरु आत्मनिर्भर बन्नका लागी महिला स्वंयको सम्पति हुनुपर्छ । तबमात्र उनिहरु आर्थिक रुपमा सशक्त हुन्छन् । सम्पत्तिले हैसियत र शक्ति पाउन सकिन्छ । स्वंयमले केहि गर्न सक्छन् । 

एकल महिलाको नीतिगत व्यवस्थाहरु
२०५८ सालको मुलुकी ऐनको एघारौं संशोधनमा अंशबन्डाको महल १३ अनुसार एकल महिलाले मृत पतिको सम्पत्ति प्राप्त गर्न ३५ वर्ष उमेर पूरा गरेको र सत्मा बसेको हुनुपर्ने थियो । पुनः बिहे भएमा पहिलो पतिको सम्पत्ति फर्काउनुपर्ने प्रावधान थियो । हाल ३५ वर्ष पुग्नुपर्ने व्यवस्था हटाइएको छ । सत् भन्ने शब्द पनि हटाइएको छ । 

देवानी संहिता ऐन २०७४ अंशबन्डाको २१४ को २ मा विधवाले अर्को विवाह गरेमा निजले अंशवापत पाएको सम्पत्ति अघिल्लो श्रीमान तर्फका छोराछोरी भए उनीहरूले पाउँछन्, नभए आफैंले लिन पाउने कानुनी व्यवस्था छ । यस्तै एकल महिलाले आफ्नो भागको सम्पत्ति बेच्न १६ वर्ष पुगेको छोरा र अविवाहित छोरीको मञ्जुरी लिनुपर्ने थियो । हाल यो व्यवस्था पूर्णतया हटेको छ । विनामञ्जुरी आफ्नो अंश बेच्न पाउँछन् । श्रीमान् जागिरे भए उनको नामको निवृत्तभरण, बीमा रकम, उनको मृत्युको कारण पाएको क्षतिपूर्ति सबै श्रीमतिले पाउने व्यवस्था छ ।

एकल महिलाले ६० वर्षपछि मात्रै भत्ता पाउने व्यवस्था थियो । हाल सबै उमेरका एकल महिलाले भत्ता पाउँछन् । एकल महिला सामाजिक सुरक्षा कोष स्थापना भएको छ । वार्षिक एक करोड रुपैयाँबाट सुरु भएको यस सुरक्षा कोषमा हाल वार्षिक पाँच करोड रकम जम्मा भइसकेको छ । यसबाट सम्बन्ध–विच्छेद गरेका, विधवा, पैंतीस वर्षसम्म अविवाहित, अंशबन्डा गरी पतिसँग अलग भएकी महिला, पति बेपत्ता भएका महिलाले सुविधा पाउन सक्छन् । 
 
एकल महिलाको तथ्यांक 
केन्द्रीय तथ्याङ्क विभागले २०६८ सालमा गरेको राष्ट्रिय जनगणनाका तथ्याङ्क अनुसार   नेपालमा ४ लाख ९८ हजार ६ सय ६ जना विधवा छन् । कुल एकल महिलामध्ये ८७.५ प्रतिशत महिला पढ्न वा लेख्न नजान्ने छन् । जम्मा ११ प्रतिशत मात्रै पढ्न जान्दछन् । ७५ प्रतिशत एकल महिलाको विवाह १० देखि १९ बर्षभित्र भएको थियो । ८३.७ प्रतिशत एकल महिला गाउँमा बस्छन् र जम्मा ४२.६ प्रतिशत एकल महिलाको घरमुलीको नाममा सम्पत्ति छ । 

महिलाहरु शिक्षित र उमेर पुगेपछि मात्र विवाह गर्ने प्रचलन हुने हो भने उनिहरु आफैँमा सक्षम हुनसक्छन् र जस्तोसुकै आपत्तिको सामना गर्ने क्षमता उनिहरुसँग हुन्छ । महिला सशक्त भएमा कुनै पनि बालबालिका बाबा नभएका कारण आधारभुत आवश्यकता बिहिन हुदैँन थिए होला । आमाहरुले सन्तानलाई संसारको बहुमुल्य चिज ठान्दछन् । एकल महिलाको सन्तानको सफलतामा आमाको संघर्ष लुकेको हुन्छ । एकल आमाहरुले जिवनको कठिन परिस्थीतिमा हिम्मत र साहस जुटाएर सङघर्ष गर्न सके कोहि बच्चा अनाथ र सडक बालबालिका हुने थिएनन् । 

( सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाबासि रुकमणी ढकालको जीवनमा आधारीत )

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment