स्वास्थ्यका लागि फाइदाजनक मानिने गोल्डेन मिल्क कसरी सेवन गर्ने ?

महिला स्वास्थ्य

२०७६ मंसिर ३ मंगलबार

फेसबुक , जनाइएको , शेर्पा

मानव स्वास्थ्यमा गोल्डेन मिल्कको प्रयोगले धेरै फाइदा पुर्‍याउने हुँदा पश्चिमा मुलुकहरुमा समेत यसको अधिक प्रयोग हुन्छ । हामीले हजारौं वर्षदेखि प्रयोग गर्दै आएको ‘गोल्डेन मिल्क’ पश्चिमा मुलुकहरुमा पनि अहिले लोकप्रिय बन्न पुगेको छ ।

‘गोल्डेन मिल्क’ अर्थात् सुनौलो दूध भने अरु केही होइन बेसार हालिएको दूध हो। पश्चिमी मुलुकका धेरै कफी पसलमा यो बिक्न थालेको बिबिसीले लेखेको छ।

दूध र बेसारको उचित मात्रा मिलाएर पिउनेहरू बढ्दैछन्। बेसारमा ‘एन्टी९इन्फ्लामेटरी’ तत्त्व हुन्छ। धेरै अध्ययनले जोर्नीको दुखाइ र सुन्निने समस्याका लागि बेसार फाइदाजनक भएको देखाएको छ।

अध्ययनहरूले बेसारमा ‘एन्टी(अक्सिडेन्ट’ गुण हुने देखाएका छन्। यसले उच्च रक्तचाप, रगतमा चिनीको मात्रा अनियन्त्रित हुने लगायत समस्या कम गर्न सहयोग पुर्याउँछ। केही जानकारहरूले मरिच वा अरू कुनै कुरासँग मिसाएर खाँदा बेसार शरीरका लागि लाभदायक हुने बताएका छन्। यसले दिमागी स्वास्थ्य राम्रो राख्न र निद्रा लगाउन पनि मद्दत गर्ने मानिन्छ।

केही देशमा दूध (बेसारमा) दालचिनी र अदुवा पनि हालेर पिइन्छ। पेट दुखाइ, पाचनसँग सम्बन्धित समस्या र कमजोरीमा अदुवा फाइदाजनक हुनसक्छ। दालचिनी त औषधिकै रूपमा प्रयोग हुन्छ। खाद्यविज्ञ केरी टरेन्सका अनुसार दालचिनी वर्षौंदेखि पेटको समस्याका लागि धेरै देशमा प्रयोग हुँदै आएको छ।

‘दालचिनीले रोगसँग लड्ने र रगतमा अक्सिजनको मात्रा सही राख्न धेरै मद्दत गर्न सक्छ,’ केरीको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ।

सन् २०१६ मा मिशिगन केन्द्रीय विश्वविद्यालय र नोवा साउथइस्टर्न विश्वविद्यालयका वैज्ञानिकले बेसार सजिलै नपच्ने र शरीरले नसोस्ने बताएका थिए। स्ट्यानफोर्ड वुड्स इन्स्टिच्युट फर इन्भाइरोंमेन्टलको अध्ययनले पनि बेसारमा ‘विषालु शिशा’ हुने बताएको छ। बेसारमा हुने यो पहेँलो तत्त्वले कुनै चिजको चमक बढाउन मद्दत गर्ने तर मान्छेले खाँदा यसले विषालु रूप लिने अध्ययनको भनाइ छ।

रोचस्टर फर्स्ट वेबसाइटका अनुसार बेसारको यो समस्या कुनै अचम्मको कुरा होइन। मसलाजन्य खाद्यपदार्थमा केही विषालु तत्त्व हुनु समान्य हो। बंगलादेशका धेरै जिल्लामा बेसारका कारण स्वास्थ्य समस्या आएको वेबसाइटले लेखेको छ। यसबारे थप अध्ययन गर्न अनुसन्धाताहरूले त्यहीँ गएर बेसार खाने प्रक्रिया र मात्रा बुझ्न चाहेका छन्।

अध्ययनका अनुसार बंगलादेशमा व्यवसायीहरूले किसानलाई बेसारको रङ चहकिलो बनाउन कृत्रिम तरिका अपनाउन भनेका छन्। अध्येताहरूले केही बेसार उद्योगमा यसको प्रमाण पनि फेला पारेका थिए। यो चलन ३० वर्षभन्दा बढिदेखि चलिरहेको पनि किसानहरूले बताएको रोचस्टर फर्स्टमा उल्लेख छ। पश्चिमा मुलुकमा बेसार लोकप्रिय बनेपछि यसबारे धेरै चासो सुरू भएको छ।

न्यूयोर्क टाइम्समा प्रकाशित एक लेखअनुसार सन् २०१८ मा करिब ३२ करोड ८० लाख अमेरिकी डलर बराबरको बेसार अमेरिकामा बिक्री भएको थियो। एक दशकअघिको तुलनामा यो सात गुणा बढी हो।

नेसनल मेडिकल एसोसिएसनकी बोर्ड सदस्य अनुपमा खिजाक्केभित्तिलले बेसारलाई महत्त्वपूर्ण र विशेष जडिबुटी भनेकी छन्।

‘हामी बेसार धेरै अवस्थामा प्रयोग गर्छौं,’ न्यूयोर्क टाइम्सको लेखले अनुपमाको भनाइ उद्धृत गर्दै भनेको छ, ‘हाम्रो विज्ञानले यसको पूर्ण अध्ययन गरेको छैन। वैकल्पिक औषधिहरूको मुख्य समस्या नै यही हो।’

पश्चिमा मुलुकले ‘यो त सुन हो’ भन्दै बेसार प्रयोग गर्न थालेपछि त्यहाँ यसबारे केही अध्ययन भएका थिए। जसमध्ये मिनिसोटा विश्वविद्यालयका सहायक अनुसन्धाता तथा अध्यापक क्याथरिन एम। नेल्सनको अध्ययनले यसका ‘अभूतपूर्व’ फाइदा नरहेको भन्दै ‘बेसार मूर्खको सुन हो’ भनेको थियो। उनको अध्ययन सन् २०१७ को जर्नल अफ मेडिसिनल केमेस्ट्रीमा प्रकाशित छ।

लन्डनस्थित वेस्टर्न विश्वविद्यालयका मेडिसिन प्राध्यापक डा। अमित एक्स। गार्गले आफू भारतीय मूलको भएकाले बेसारको औषधीय प्रयोगबारे जानकार रहेको बताएका थिए। उनले भारतीयको बिहेमा बेसार दल्ने कार्यक्रम हुने बताउँदै यसको सांस्कृतिक महत्त्व पनि रहेको जानकारी दिएका छन्।

त्यसपछि डा. अमितले आफ्ना साथीहरूसँग मिलेर गरेको अध्ययनले पनि बेसार सोचेजस्तो प्रभावकारी नभएको देखाएको थियो। उनको यो अध्ययन गत वर्ष क्यानेडियन मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशन भएको न्यूयोर्क टाइम्समा उल्लेख छ।

एसियाली मुलुकमा शताब्दीऔंदेखि प्रयोग हुँदै आएको बेसार पश्चिमा मुलुकका मान्छेको जीवनमा ‘सुन’ का रूपमा घुलिन थालेपछि उनीहरूले यसबारे धेरै गम्भीर अध्ययन थालेका छन्।

एजेन्सी

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment