आई पिलको प्रयोग आकस्मीक अवस्थामा बर्षमा २ पटक मात्र 

महिला स्वास्थ्य

२०७६ पुष २ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

- भागिरथी पण्डित

 काठमाडौं - आइ पिल अर्थात आकस्मिक गर्भनिरोधक चक्कि । यो चक्किलाई अस्थाई गर्भनिरोधक चक्किको रुपमा महिलाहरुले मकै समान खाइरहेका छन् । यस्ता औषधिहरु धेरैजसो फार्मेसीहरुबाट बिक्रि हुने गर्दछन् । 

मैतीदेवीस्थित एम. एल फार्मेसीबाट सातामा ४० भन्दा माथी आइ पिल चक्कि बिक्री हुन्छ । फार्मेसि सञ्चालकका अनुसार आई पिल चक्कि खोज्न जुनसुकै उमेर समुहका महिलाहरु  आउँछन्, तर धेरैजसो किशोरीहरु नै हुन्छन् । यो चक्कि लिन कोहि महिलाहरु सातामा दोहोर्याएर पनि आउने गरेका छन् । 

मैतीदेवीमा नै रहेको अर्को विवेक फार्मेसिबाट पनि हप्तामा २० वटा भन्दा माथी आई पिल चक्कि बिक्रि हुने गर्दछ । सो फार्मेसिमा पनि एउटै महिला सातामा दोहोर्याएर यो चक्कि लिन आउने फार्मेसि सञ्चालकले बताए । 

फार्मेसीबाट अत्याधिक बिक्री भइरहेको आई पिल चक्किको दुरुपयोग भइरहेको छ । महिलाहरु इच्छाएको व्यक्तिसँग असुरक्षीत यौनसम्पर्क पश्चात ८० रुपैँया खर्च गरेर यो चक्कि सेवन गरी अनिच्छुक गर्भ रोकि आफुलाई सुरक्षित महशुस गर्छन । 

आई पिल चक्किको प्रयोग आकस्मिक (अन्य अस्थाई गर्भनिरोधक साधनको प्रयोग गरेर पनि गर्भ रहेको शंका लागेको) अवस्थामा अनिच्छुक गर्भ रोक्नका लागी बर्षमा २ पटकसम्म प्रयोग गर्न मिल्ने बिराट मेडिकल कलेजमा स्त्री रोग बिशेषज्ञको रुपमा कार्यरत डा. मोना प्रियदशनीले बताइन् । 

डा. प्रियदशनीका अनुसार आई पिल चक्कि र गर्भपतन गराउने औषधि फरक हो । यो चक्कि यौन सम्पर्क भएको ७२ घण्टा भित्र खाएमा मात्र अनिच्छुक गर्भ रोक्न सकिन्छ ।  आइपिल ओभुलेसन हुनु अगाडि खाए डिम्बाशयबाट ओभम रिलिज हुदैँन ओभुलेसन भएपछि खाए ओभमलाई फर्टिलाइज हुन दिदैँन, त्यसकारण गर्भ रहदैँन ।  

आइपिलको बारम्बार प्रयोगले महिलाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने गर्दछ । छोटो समयमा धेरैपटक आई–पिल खाएमा महिनावारीमा गडबडी हुने कतिपयमा महिनावारीको समयमा धेरै रगत बग्न सक्छ । साथै हर्मोनल असन्तुलन भई वान्ता लाग्ने, रिंगटा लाग्ने पेट दुख्ने, थकाई लाग्ने, स्तन दुख्ने, टाउको दुख्ने जस्ता समस्या आउँने डा. प्रियदशनीले बताइन् । उनको अनुसार आई पिलको अत्याधिक सेवनले महिनावारी गडबडि वा महिनावारीमा अत्याधिक रगत बगेमा चिकित्सकको सल्लाह लिनुपर्छ । 

धेरै पटक आई पिलको प्रयोगले ओभरीमा हानी पुग्न सक्छ । निकट भविष्यमा भुण्र नरहने जस्ता समस्या आउँन सक्छ । रगत जम्ने समस्या भएको व्यक्तिले आई पिल सेवन गरे ब्लडकल्ट हुने,स्ट्रोकका साथै ह्आर्टअट्याक आउन सक्ने उनले बताइन् । 

धेरैजसो महिलाहरु असुरक्षित यौनसम्पर्क पश्चात आइ पिल खाएर ढुक्क हुने गर्दछन् । तर यो चक्किले यौनसम्पर्कबाट लाग्ने रोगहरुबाट बचाउदैन । असुरक्षित यौन सम्पर्कको दलदलमा फसेका महिलाहरुले आइ पिलको सेवनले अनिच्छुक गर्भबाट छुटकारा त पाउँछन् तर यौनसम्पर्कबाट लाग्ने संक्रमणबाट पिडित हुन्छन् । 

आई पिल चक्कि ७२ घण्टा भित्र सेवन गर्नुपर्छ । त्यसमा पनि यौन सम्पर्क गरेको २४ घण्टा भित्र खाएमा ९८ प्रतिशत गर्भ रोक्छ, २४ घण्टा पछि खाएमा गर्भ रोक्ने दर ८७ हुनसक्छ । 

किशोरीहरुमा यौन शिक्षाको अभावका कारण सुरक्षित यौन सम्पर्कप्रती सजग हुदैनन् जसका कारण विभिन्न यौनजन्य रोगहरु लाग्नका साथै आई पिल चक्किको अत्याधिक प्रयोग गर्छन्  । अनिच्छुक गर्भ रोक्न परिवार नियोजनको अन्य साधहरुको प्रयोग गर्नुपर्छ । 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment