गर्भावस्था: एक अनौठो अनुभुति

महिला स्वास्थ्य

२०७७ जेठ २८ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

 - यशोदा दाहाल

काठमाडौं - तिहारको माहोल । अन्ध्यारो रात । घरघरमा बलेका झिलिमिल्लि बत्तिले रातलाई चुनौती दिइरहे झैं लाग्थ्यो ।

भाइटिकाको दिन बिहानै हामी तीन दिदिबहिनीले नुहायौं । भाइलार्इ मीठो परिकार बनाएर खुवाउने तयारीमा हामी जुट्यौं । अचार बनाउनका लागि कागती लिन घरछेउको फुलबारीमा गएँ । कागती टिप्दा मलाई अघि पछिको भन्दा फरक महशुस भयो । सधैँ कागतीको बास्ना मन पराउने मलाई बास्नाले नै रिंगटा लागे झैं भयो । एक्कासि उल्टि हुन लागे जस्तो महशुस भयो । के भयो, अचानक यस्तो रु म एकछिन अल्लमल्लमा परें । 

दाम्पत्य जीवनमा बाँधिएको  ६ महिना पुगेको थियो । हामी केहि समय बच्चा नजन्माउने योजनामा थियौं ।   यो फरक अनुभुतिले मनमा चिसो पस्यो । अब के हुन्छ रु को सँग यो बिषयमा कुरा गरौँ, कसैलाई भन्नु ठिक होला/नहोला मनमा अनेक प्रश्नहरु उब्जिए । कसैसँग केहि कुरा गर्दिन भन्ने निष्कर्षमा पुगेँ । कागती लिएर अचारसँगै अरु परिकार बनायौं । हामीले रमाइलोसँग तिहार  मनायौं । भोलीपल्ट विवाहघर (रामेछाप) फर्किए ।

पहिला परिक्षण गरेर मात्र श्रीमानसँग कुरा गर्छु भन्ने सोच बनाएर घर नजिकैको स्वास्थ्य चौकि गएँ । परिक्षण गर्दा गर्भवती भएको थाहा पाएँ । बच्चा जन्माउने योजना नभएर होला अत्तालिए । केहिबेरमा आँखाबाट आँसु रसाए । थाहा छैन यो आसु खुशीको थियो की डरको आफैलाई अन्यौल भयो । घर गएर सासु आमालाइ सुनाएँ । उहाँको अनुहारमा खुशी सहितको मुस्कान छचल्कियो आमाले सम्झाउँदै भन्नुभयो ‘केहि गलत भएको छैन । भगवानको आर्शिवाद हो । हामीले स्वीकार गर्नुपर्छ । त्यसपछि श्रीमानसँग कुरा गरेँ । उहाँलाई पहिलादेखि नै शंका लागिरहेको भन्दै खुशि भाव व्यक्त गर्नुभयो ।

स्नातकतह तेस्रो बर्षको परीक्षा दिएर नतिजाको प्रतिक्षामा थिएँ । स्नाकोत्तर पढ्ने इच्छा थियो । तर,जीवनमा एक नयाँ मोड आयो । अझैं पनि स्नाकोत्तर भर्ना गर्छु र परिक्षा दिन जान्छु भन्ने सोच बनाएको थिएँ । त्यहि बर्षबाट पत्रकारितामा समेस्टर प्रणाली लागु भयो । अन्ततः केहि समयकोलागि पढाई अबरुद्ध भयो । 

गर्भावस्थाका चरणहरु

गर्भावस्थाको पहिलो चरण अर्थात  पहिलो तीन महिना निकै कमजोर महसुस भयो । खासै खान मन नलाग्ने, केहि खाए पनि उल्टि भइ हाल्ने, रिंगटा लाग्ने गथ्र्यो । तीन महिना कटाउन अलि गाह्रो भयो ।

गर्भावस्थाको दोस्रो चरण सुरुभए पछि यी समस्याहरु कम हुँदै गएको थियो । बिस्तार सबै किसिमका खानेकुराहरु मिलाएर खान थालें । कमजोरी पन बिस्तारै कम हुदैँ आयो । केहि दिनपछि भुण्र चलेको महसुस भयो ।त्यो क्षण मातृत्व प्राप्त हुने अवस्थाले गर्दा खुशीको महसुस भयो ।

नियमित परिक्षणकालागी अस्पताल गइरहेकी थिएँ । ३७ हप्तामा भिडियो एक्सरे गर्दा चिकित्सकले  गर्भमा रहेको भु्रणको अवस्था सामान्य भएको जानकारी दिए ।  तर उल्टो बसेको बताउँदा झसँग भए । चिकित्सकबाट प्रसुति अवस्थामा जटिल हुन सक्ने वा नसक्ने बारे जानकारी लिएँ  । चिकित्सकले भु्रणको पोजिशन सहि भएको भए नर्मल प्रसुती गराउन सकिन्थ्यो । उल्टो हुँदा नर्मल प्रसुती गराउँदा आमा र शिशु दुबैलाई जोखिम हुने जानकारी दिनु भयो ।  त्यसपछि मनमा एक किसीमको डर पैदा भयो । सिजेरियन नै गरे पनि आमा र शिशु दुबैको स्वास्थ्य राम्रो भए पुग्छ । त्यसबाहेक मलाई अन्य केहि अपेक्षा थिएन । दिनप्रतिदिन भु्रणको बृद्धि विकास भइरहेको थियो ।

गर्भावस्थाको तेस्रो चरण सातौँ महिनामा प्रबेश गर्दा सम्म पेट देखिन थालिसकेको थियो । त्यसका साथै ढाड, कम्मर र हातखुट्टा दुख्ने, झमझमाउने जस्ता लक्षणहरु देखिन थाल्यो । तर पनि अल्छि गरेर कोठा भित्र मात्र बसिन । बिहान बेलुका १ घण्टा दैनिक हिंड्ने गर्थे  । प्रसुतीको समय नजिकिदैं थियो ।बाँचिदैन कि भन्ने डरले मनमा डेरा जमाउन सुरु गरेको थियो । नियमित परिक्षण गर्न अस्पताल गएँ । भु्रण उल्टो पोजिशनमा नै थियो । चिकित्सकसँग नर्मल प्रसुती हुन एक पटक कोसिस गर्छु भन्ने तर्क राखें । उहाँले फेरी पनि नर्मल प्रसुती गराउँदा आमा र शिशु दुबैलाई जोखिम हुने बताउनुभयो । श्रीमानले सिजेरियनकोलागि जेष्ठ २८ गतेको समय लिनुभयो ।

आमा बन्ने खुशी एकतातिर थियो । अर्कोतर्फ डर लागिरहेको थियो । शिशु वा आफैलाई केहि हुने हो कि भन्ने डर । त्यसका साथै विभिन्न अस्पतालमा प्रसुती हुँदा कयौँ आमा र शिशुले ज्यान गुमाएका घटनाहरु सुनिरहेको हुन्थे । मनमा यस्तै कुराहरु चलिरहेको थियो । निर्धारित जेष्ठ २७ गते अस्पताल भर्ना भएँ । भोलिपल्ट सिजेरियनको पालो आयो ।  मेरो कम्मरमाथी मात्र लट्याइएको थियो । सिजेरियन गर्दाको सबै क्रियाकलाप मैले लाइटमा हेरिरहेकी थिएँ । केहि बेरपछि अन्ततः शिशु निकालियो । मेरो छोरी पहिलो पटक रोई । त्यसबेला मेरो आँखामा आँसुसँगै ओठमा मुस्कान आयो । धन्य, भगवान मलाई केहि भएपनि मेरो बच्चा बाची भन्ने वाक्य निस्किएको थियो ।

हाम्रो परिवारमा लक्ष्मीको रुपमा हाम्रो पहिलो सन्तान छोरीले जन्म लिई । परिवारमा सबै खुसी थिए । अझै पनि हाम्रो समाजमा छोरा र छोरी बीचको बिभेदको अन्त्य भएको छैन । तर मैले प्रसूति पीडासँग छोरी जन्माउनुको पिडा भोग्नुपरेन । केहिदिनपछि म अस्पतालबाट डिस्चार्ज भएँ । जब छोरीको अनुहारमा हेर्थें सबै पीडाहरु भुल्थें । उसका क्रियाकलापले हाम्रो परिवारमा खुशिको बहार ल्याएको थियो । 

आमाको महिमालाई यति महत्व दिइनुको कारण मैले पनि बुझेँ । हरेक महिलाले मातृत्व सुख प्राप्तिका लागि मृत्युसँग जुध्नु पर्ने रहेछ । धन्य, भगवान मैले त्यो समय पार गरें ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment