कोरोना भाइरस र महिलामा प्रभाव 

महिला स्वास्थ्य

२०७७ असार २ मंगलबार

फेसबुक , जनाइएको , शेर्पा

- प्रकृती सापकोटा

काठमाडौं- सात महिनादेखि विश्वव्यापिरुपमा महामारी फैलाइरहेको कोरोना भाइरस संक्रमणको त्रास दिनानुदिन बढिरहेको छ । चीनको वुहानबाट सुरु भएर संसार भरि डढेलोसरी फैलिरहेको कोरोना भाइरस (कोभिड- १९) बाट नेपाल पनि अछुतो रहन सकेन ।

चीनबाट  स्वदेश फर्केका नेपाली युवामा पहिलो पटक गत माघ ९ गते कोरोना संक्रमण देखिएको थियो । विदेशबाट आएका व्यक्तिहरुमा मात्रै देखिएको यो महामारी बिस्तारै समुदाय स्तरमा  फैलन थालेको छ ।भुसको आगो सरह भित्रभित्रै फैलिदै गइरहेको छ ।  अहिलेसम्म आइपुग्दा  नेपालमा  ६ हजार भन्दा धेरैमा संक्रमण फेला परेको छ । कोरोना संक्रमणबाट अहिलेसम्म १९ जनाको ज्यान गइसकेको छ ।  त्यस्तै अस्पतालको आइसोलेसनमा उपचार गरेर १ हजार भन्दा बढी  डिस्चार्ज भइसकेका छन । 

गैरआवासीय नेपाली सँघ (एनआरएनए)का  अनुसार, विदेशमा रहेका १ हजार २७ जना नेपालीको कोरोना संक्रमणबाट ज्यान  गइसकेको छ । कोरोना संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले गत चैत ११ गते लक डाउन घोषणा गरेपनि संक्रमितको संख्या बढिरहेको छ । यसै बीचमा असार १ गतेदेखि लक डाउन खुकुलो पार्ने सरकारी निर्णयले संक्रमण झन बढ्ने विज्ञहरुको भनाई छ । कोरोनाभाइरस महामारीले अरु विभिन्न महामारी तथा प्राकृतिक बिपत्तिजस्तै विभिन्न समस्या  निम्त्याएको छ । स्वास्थ्य, शिक्षा, रोजगारी, आर्थिक र सामाजिक क्षेत्रमा नकारात्मक प्रभाव देखा परिसकेको छ । यसको सामान्य देखि जटिल प्रभाव परेको छ । भाइरसको संक्रमण हुन नदिन र एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन नदिन देशभर लकडाउनको ब्यबस्था गरिएकोमा अहिले लकडाउन लाई खुकुलो बनाएर चरणबद्ध रुपमा फुकुवा गर्ने नीति कार्यक्रम सरकारले ल्याएको छ । 

पछिल्लो ८५ दिनदेखि जारी लकडाउनको प्रभाव देशको हरेक क्षेत्रमा परेसंगै महिला र बालबालिकाहरुमा पनि यसको जटिल र नकारात्मक प्रभाव पर्दै आएको छ । यो प्रभाव कोरोना भाइरस महामारीको अन्त्य पछि पनि रहिरहने देखिएको छ । कोभिड महामारीले संसारभरीनै भैइरहेको जातीय र लैंगिक भेदभाव र असमानतालाई अझ प्रस्फुटन गरेको छ । महिलामाथि हुने हिंसा र दुर्व्यवहारलाई यसले अझ बढवा दिएको छ ।इतिहास मा भएका  अन्य महामारीमा देखिएजस्तै यस महामारीमा पनि महिलाले हिंसा, मानबाधिकार, महिलाअधिकारको हनन् र स्वास्थ्य र सुरक्षामा चुनौती महसुस गरेका छन् । 

संसारमै बिध्यमान असमानता, लैंगिकताका आधारमा हुने हिंसालाई अझ गहिरो बनाउदै जाँदा यस महामारीले आर्थिक, राजनैतिक,र सामाजिक जोखिम छर्लंग बनाएको छ र महामारीको प्रभावलाई अझ बिस्तृत रुपमा देखाएको छ । अहिलेसम्मको राष्ट्रिय, अन्तरास्ट्रिय महिला अधिकार र महिला स्वास्थ्यमा  पाइएको सफलता, उपलब्धिलाई पनि चुनौती दिएको छ । सरकारले आह्वान गरेको लकडाउनले महिलालाई अझै समस्यामा पारेको छ । महिलाले भोग्दै आएको असमान कार्य विभाजन, महिलाको कामको अबमुल्यांकन, घरायसी कामकाजको अबमुल्यांकन लाई अझै प्रसय दिएको छ । हाम्रो पितृसत्तात्मक समाजमा महिलाको काम लाई पैसाको रुपमा नहेर्ने चलन छ । यस अबस्थामा महिला दोहोर भार बहन गर्न बाध्य छन् । रोजगारी भएका महिलाको रोजगारी गुमेकोमा दुखी त छदै छन् ,घरको कामकाजको बोझ थपिएकोमा अझ दुखी छन् । बालबालिका, जेष्ठसदस्यहरु,र श्रीमानको हेरबिचार, खानपान, सरसफाई, करेसाबारीको काम अरु समय भन्दाथपिएको छ र महिला अझ बेफुर्सदिला बनेका छन् । श्रीमान वा घरका अन्य सदस्यले सहयोग नगरिदिँदा महिलालाई अझ भार छ । कामकाजी महिला, बिद्यार्थी महिलालाई इन्टरनेटबाट हुने काम र पढाईको प्रेसर पनि उत्तिकै छ । 

लकडाउनभएसंगै महिलामाथि भएका हिंसाका घटनाहरु समेत बढेका छन्। संसारभरीनै र नेपालमा  समेत घरेलु हिंसाका घटनाहरु बढेका छन् । यद्यपीबाहिर आएकाभन्दा लुकेर बसेका घटनाहरु धेरै छ भनेर आकलन गर्न सकिन्छ । कतिपयअवस्थामा घरभित्रै, श्रीमानबाटैहिंसा भएका महिलाहरु सहयोग, सहायता नभएका कारणले उजुरी गर्न नसक्दा प्रताडित हुन बाध्य छन् । यसैगरि यौन हिंसा, बलात्कार, बलात्कार पछि हत्या र आत्महत्याकाघटनाहरु बढेका छन् । यीसबैका कारण कोरोनामहामारी,लकडाउन, यसले निम्त्याएको मानसिक तनाब, आर्थिक चुनौती, र गतिबिधिमा रोक लगाउनुको हो । क्वारेन्टाइनमा राखिएका महिलाहरुमा पनि उत्तिकै समस्याहरु छन् । महिला सुरक्षित नहुनु, महिला र पुरुष छुट्ट्याएर नराख्नु, प्राइभेसीनहुनु, महिनावारी भएका बेला समस्या हुनु , उचित खानपान र शौचालयको व्यवस्था नहुनु आदि समस्या भोगिरहेका छन् । यसैगरि यौन तथा प्रजनन स्वास्थ्य को जानकारी नपाउनु, उचित स्वास्थ्य सुबिधा नपाउनु, परिवार नियोजनका साधनहरु सजिलै उपलब्ध नहुनु र यसको पहुँच नहुदा लकडाउनको समय र त्यसपछि पनि थुप्रै अनिक्षित गर्भ, असुरक्षित गर्भपतन र अरु अनेकन स्वास्थ्य समस्या हुने निश्चित देखिन्छ ।

लकडाउनको कारण अधिकांस अस्पतालहरु बन्द रहेका छन् र सेवा दिएका कतिपयले समेत सेवा दिनबाट पछि हटेको र कोरोनाको जोखिमको कारणले स्वास्थ्य संस्था जान बाट बन्चित हुँदाकरिब ३३ गर्भवती र सुत्केरी महिलाले ज्यान गुमाएका छन् । झन महामारीकाकारण अरु कुरा प्राथमिकतामा परेका हुँदा र महिलाका समस्यालाई नजरअन्दाज  गर्ने सामाजिक रुढी को कारणले गर्दा पनि अकालमै ज्यान गुमाएका छन् , गम्भीर समस्या हुँदा पनि सामान्य रुपमा लिने, साथै कोरोना संक्रमणको डरले समयमै अस्पताल पुराउन नसक्दा कयौं नवजात शिशु आमाविहिन हुनपुगेका छन ।

महिलाकै कुरा गर्दा स्वास्थ्य क्षेत्रमा काम गर्नेजनशक्तिमा अधिकांस महिला छन् । महिला डाक्टर, नर्स र अन्य महिला कर्मचारीले यस महामारीमा असमान व्यवहार भोगेका छन् । आफ्नो स्वास्थ्य र सुरक्षाको उचित प्राबधान नहुँदा,आवश्यक पि।पि।इ को अभावमा पनि दिनरात जोखिम मोलेर बिरामीको सेवामा खटिएका उनीहरुलाई जस नदिने, गाली गलौज गर्ने,भाडाको कोठाबाट निकालिदिने, धम्कि दिने, स्वयंबिरामी र आफन्तले श्रेय नदिने आदि कुरा झन बढेको छ। पाउनुपर्ने पारिश्रमिक समेत कटौती गरेर , अझ आर्थिक संकट भनेर जागिरबाट निकालिदिएका कारण मानसिक स्वास्थ्यमा समेत प्रभाव परेको छ । ज्यालादारी, मजदुरीगरेर जीविकोपार्जन गर्ने निम्न तथा अतिनिम्न आय भएका महिला यस महामारीको चपेटामा परेका छन्। एक त रोजगारी गुमेको छ, अर्कोतिर आर्थिक संकट र त्यसमाथि कोरोना संक्रमणको डर, यीसबैले महिलाहरुका समस्या झन चुलायका  छन् । कोरोना पछि जागिरमा फिर्ता हुने, आर्थिक सबलता कायम हुने र किशोरीहरु स्कुल फर्किने अनिश्चय छ ।यसैगरि खाडी मुलुकबाट उद्दार गरेर ल्याएका महिला कामदारहरुमा समाजमा पुन स्थापनामा चुनौती रहेको छ ।

यस महामारीको विसंम परिस्थितिसंग जुझ्न र दिर्घकालिन उपचार गर्नको लागि सरकारले चालेका कदम, नीति तथा कार्यक्रममा महिलाको उपस्थिति अनिबार्य छ । हरेक योजना तथा कार्यक्रममा महिलाको स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्यको उपलब्धता, पहुँच, रोजगारी, आर्थिक शुर्दिढिकरण सुनिश्चित गर्नुपर्छ। हरेक स्थानीय निकायका जोखिम नियन्त्रण,आर्थिक बिनियोजन, योजना लागु गर्नमा महिला सहभागिता आनिबार्य हुनुपर्छ । यसैगरि महिला हिंसाका घटनाहरु नलुकाईकन सजिलै संग कानुनी उपचार र स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय निकाय, प्रहरी, जनप्रतिनिधि, महिला संगठन र स्वयं महिलाको सहकार्य हुनुपर्छ । महिला भएकै कारण महिलामा हुने हिंसा र त्यसलाई प्रोत्साहन नदिन, कोरोना महामारी बिरुद्ध लड्न सबैजना आफ्नो आफ्नो स्थानबाट एकजुट हुनु पर्ने खाँचो छ । 

 कोरोना विरुद्धको लडाईमा सरकारको मात्र एक्लो प्रयासले सम्भव हुँदैन । सरकारका साथै निजी  र सामुदायिक क्षेत्रबाट पनि सहकार्य र समन्वयको खाँचो देखिएको छ । नागरिक स्तरमा पनि जनचेतना फैलाउनुका साथै जनतामा पनि राष्टप्रतिको कर्तव्यबोध हुनु पर्ने आवश्यकता देखिएको छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment