अभिभाबक बनौं सचेत, कुपोषणले बालबालिकाको स्वास्थ्यमा पार्न सक्छन् यस्ता प्रभाब

महिला स्वास्थ्य

२०७७ असार ९ मंगलबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - बालबालिकामा कुपोषण भएमा उनीहरुको शारिरीक विकास मात्र होइन मानसिक विकासमा पनि नकारात्मक असर पर्छ । रक्तअल्पताका कारण केटाकेटीमा पनि नयाँ कुरा सिक्ने क्षमता कम हुन्छ । बच्चाहरुले एउटै कुरामा ध्यान नदिने, लोसे हुने, सुतिरहन मात्र खोज्ने हुन्न सक्छन् । 

हाम्रो समाजमा कतिपय अभिभाबकले चाहेर पनि बालबालिकालई सन्तुलित आहारा खुवाउन सकेका छैनन् भने कतिपयले बालबालिकालाई सानै देखि स्लिम तथा सुन्दर बनाउने उद्देश्यले मोटा बालबालिकाहरुलाई एकैचोटी खानामा नियन्त्रण गर्दछन् । यसरी खानामा एकैचोटी नियन्त्रण गर्दा बालबालिकाको शारिरीक एवं मानसिक विकासमा नकारात्मक असर पुग्छ । त्यस्तैगरी बालबालिकालाई प्रसस्त मात्रामा जंक फुड खुवाउने गर्नाले  पोषणमा असन्तुलन आई उनीहरुका अंगहरु सही तरिकाले विकास हुन पाउदैनन् । साथै रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति पनि कम भएर आउँछ । जसले गर्दा उनीहरुलाई रक्तअल्पता, कुपोषण, क्षयरोग जस्ता समस्या हुनसक्छ ।  

कतिपय जंक फुडमा अजिनोमोटो मिसाइएको हुन्छ । यस्ता खाने कुराले आन्द्रा तथा पेटको क्यान्सर हुने सम्भावना हुन्छ । साथै हड्डीलाई पनि खियाउँदै लान्छ । तयारी खानाहरुमा रेशादार पदार्थ हुँदैन । यसले गर्दा पेटसँग सम्बन्धित विभिन्न किसिमका रोगहरु लाग्ने सम्भावना हुन्छ । विशेषतः चिजबल, चाउचाउ, बिस्कूट जस्ता बस्तुहरु खाने गर्छन यसले बालबालिकाको पोषणमा कुनै मद्दत्त गर्दैन ।  

बेलायतको मेन्टल हेल्थ फाउण्डेशनले गरेको एक अनुसन्धान अनुसार पछिल्ला ५० वर्षमा मानसिक समस्याहरु निकै बृद्धि भएको र यसो हुनुको कारण मानिसहरुले खाने खाद्यबस्तुहरुमा आएको परिवर्तन मूख्य भएको उल्लेख छ । अनुसन्धान प्रतिबेदन अनुसार मानसिक समस्या भएका मानिसहरुले खानामा पाउरोटी, चकलेटलगायतका तयारी खाना, चिसो पेय पदार्थ बढी खान्थे उनीहरुले  अन्न, हरियो तरकारी, फलफुलको उपभोग निकै कम गरेको पाइएको थियो । 

आमाहरु नै कुपोषणको सिकार हुनु पनि बालबालिका कुपोषित हुनुको एउटा प्रमुख कारण हो । खासगरि प्रोटिनको कमीबाट हुने कुपोषण, आयोडिनको कमीबाट हुने रोग प्रतिरोधात्मक क्षमताको असन्तुलन, भिटामिन ‘ए’ को कमी तथा आइरनको कमी नै बालबालिकाको कुपोषणसँग सम्बन्धित समस्या हुन् । 

महत्वपूर्ण पोषक तत्वहरु 

मानिसहरुको स्वाभाविक शारीरिक मानसिक विकास गर्न र रोगहरुबाट बचाउनका लागि विभिन्न पोषक तत्वहरको आवश्यकता पर्ने हुन्छ तर पनि मानिसहरु पोषणलाई भन्दा पनि जिब्रोको स्वादलाई बढी प्राथमिकता दिन्छन् । यसले गर्दा पोषक तत्वको कमी भई रोेगहरु लाग्ने गर्छ । कस्तो प्रकारका पोषक तत्वहरुको आवश्यकता मानिसहरुलाई कति मात्रामा पर्छ कुन प्रकारका खाद्य वस्तुहरमा कस्ता प्रकारका पोषक तत्वहरु पाइन्छ भन्ने जानकारी सर्वसाधारणलाई नभएका कारणले पनि यस किसिमको समस्या आउने गरेको छ ।
 
मानिसको शरीरलाई स्वस्थ राख्न ४० भन्दा बढी किसिमका विभिन्न पोषक तत्वको आवश्यकता पर्छ । खाने कुराबाट आवश्यक पोषण प्राप्त हुन्छ र यसबाट काम गर्न बढ्न र स्वस्थ रहन मद्दत्त पुग्छ । एकै किसिमको खानाबाट शरीरलाई चाहिने आवश्यक पोषण प्राप्त नहुने भएकाले यसका लागि विभिन्न किसिमका खानाहरु खानुपर्छ । प्राकृतिक खाद्यपदार्थहरुमा एकभन्दा बढी पोषक तत्वहरु पाइन्छन् । यीनै पोषक तत्वहरुले शरीर स्वस्थ राख्न, बृद्धि गराउन, विग्रिएका तन्तु मर्मत गर्न र शारीरिक क्रियाकलाप गर्न शक्ति प्रदान गर्छन् ।

 

(जनस्वास्थ्यबिद्, अरुण उप्रतीको हेल्थ बुकबाट साभार)

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment