हेला गरिएका कन्दमुल पोषणले भरिपुर्ण

महिला स्वास्थ्य

२०७७ कार्तिक २७ बिहिबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं । नेपाली समाजमा गिठ्ठा भ्याकुर, तरुल जस्ता कन्दमूललाई प्रायः राम्रो आहार मानिदैन । तर यस्ता खाद्य बस्तुमा शरीरलाई पोषण दिने थुप्रै गुणहरु हुन्छन । यस्ता गुणहरुको वारेमा पनि धेरै मानिसहरु अनविज्ञनै हुन्छन् । वास्तवमा यस्ता खाद्य वस्तु पोषणका गुणले भरिपूर्ण हुन्छन । यसै कारणले पनि संसारमा आदिवासी जनजातिहरुले यस्ता खाद्यवस्तुलाई परम्परागत खाद्यवस्तुका रुपमा निरन्तर उपभोग गर्दै आएका छन । बर्तमान आधुनिक समाजमा पनि यसको महत्व बढ्दै गएको पाइएको छ । यस्ता कन्दमूलका विषयमा अहिले अध्ययन अनुसन्धानहरु पनि भइरहेका छन् । साथै यस्ता कन्दमूलका विभिन्न आधुनिक परिकारहरु पनि तयार गर्न थालिएको छ । बुझ्नेहरुले शहर बजारमा पनि यसलाई महत्वका साथ उपभोग गरिरहेका छन । तर कतिपय मानिसहरूले नबुझेर यसलाई उपेक्षा गर्ने गरिव तथा पिछडिएकाहरुले खाने खानाका रुपमा लिएका छन् ।

संसारमा ६ सय किसिमका गिठ्ठा भ्याकुर पाइन्छन् । गिठ्ठा भ्याकुरको प्रयोग संसारका झण्डै ६ करोड मानिसले दैनिक भोजनको रुपमा गर्ने गर्छन । पश्चिम अफ्रिकामा यसको अत्यधिक प्रयोग हुन्छ । नेपालमा खासगरी जंगलको छेउछाउ वस्ने राउटे, चेपाङ लगायतका जनजातीले यसको उपभोग बढी गर्ने गरेको पाइन्छ । त्यसैगरी यसको औषधिय गुण र पोषणकै कारणले जापान र ब्रिटेनमा पनि अहिले यो लोकप्रिय बनेको छ । 

खासगरी जंगलमा बढी हुने गिठ्ठा शक्तिको एक राम्रो स्रोत हो । यसमा काब्रोहाइडे«ट र रेशादार पदार्थ पनि पर्याप्त मात्रामा हुन्छ । यसले कब्जियत कम गर्छ , कोलेस्टोरल पनि कम हुन्छ । यसमा भिटामिन बि र फोलिक एसिड पनि रहेको हुन्छ । साथै म्यागनेशियम, पोटाशियम, लौह तत्व जस्ता विभिन्न किसिमका सुक्ष्म पोषण तत्व पनि रहेका हुन्छन ।  

नेपालमा मध्य पहाडी भूभाग र तराईका बाक्ला जंगलमा यो पाइन्छ । चेपाङहरुको लागि यो दैनिक खाद्यान्न नै हो । कतिपय अवस्थामा भोकमरी भएर चेपाङहरुले गिठ्ठा भ्याकुर खाइरहेकोले चामललगायतका खाद्य वस्तु उपलब्ध गराउनु पर्ने कुरा पनि उठ्ने गरेको छ । यस सन्दर्भमा चामलको तुलनामा गिट्ठा भ्याकुर खाद्य वस्तु नै होइन भन्ने किसिमको प्रस्तुति उचित होइन । यस्ता वस्तु अझ पोषिला हुन्छन । यस्ता खाद्य वस्तुको निरन्तर उपलब्धता महत्वपूर्ण हो । गिठ्ठा भ्याकुर पोषणको एक राम्रो स्रोत हो भन्ने वैज्ञानिक अनुसन्धानले पुष्टि भइसकेको छ ।

१ सय  ग्राम गिठ्ठा, तरुल र आलुमा पाइने पोषणयुक्त पदार्थ 

कन्दमुल           कार्बोहाइडेट          प्रोटिन         रेशादार पदार्थ         
गिठ्ठा               २८ ग्राम               १.५३ ग्राम        ४.१ ग्राम    
सिमल तरूल    ३४.७                  १.२                 ०.४३    
आलु               २३.०                   १.६                 ०.६    
                
(कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग)

यस तथ्यले आलु, तरुल र गिठ्ठा /भ्याकुर शक्तिका राम्रा स्रोत हुन  भन्ने देखिन्छ । मानिसको पोषणको स्थितिमा सुधार गर्नका लागि गिठ्ठा भ्याकुरको उपभोगलाई बढाउन सकिन्छ । 

यस्ता कन्दमूले अहिलेसम्म त प्राय जंगलमा खोजेर खाने चलन छ । यसको खेती गरेर उपयोगिता बढाउन सके पोषणयुक्त खाद्य वस्तुको आपूर्तिमा बृद्धि हुनेछ ।  यी खाद्य वस्तु सजिलैसँग जमीनमा फल्न सक्ने हुनाले यसको खेती सजिलै गर्न सकिन्छ ।

अफ्रिकामा गिठ्ठा भ्याकुरकै लागि विशेष प्रकारको पर्व नै मनाइन्छ । त्यहाँ गिठ्ठा भ्याकुरको पिठो बनाएर केकमा हालेर वा सुप बनाएर खाने चलन छ । जापानमा पनि गिठ्ठा भ्याकुरको नुडल पनि बनाउने चलन छ ।

चीनमा गिठ्ठा भ्याकुरको औषधिय गुणको बढी उपयोग गरिन्छ । यसबाट निस्कने रस जस्तो पदार्थलाई बाहिरी घाउ , पिलो आदिमा लगाएर निको पार्ने औषधि बनाइन्छ ।

नेपालको सन्दर्भमा गिठ्ठा भ्याकुरको आर्थिक र पोषण दुवै महत्व छ । यसलाई विभिन्न खानेकुरासँग मिसाएर खाँदा स्वाद र पौष्टिकता पनि बढ्न जान्छ । यसलाई व्यापारिक दृष्टिले उत्पादन गरेर पिठो, नुडल्स चिप आदि बनाएर आर्थिक  रुपमा पनि उन्नती गर्न सकिन्छ । संसारमा पाइने सवै गिट्ठा भ्याकुर सुरक्षित हुदैनन । अफ्रिकामा पाइने गिठ्ठा/भ्याकुर खाँदा बडो होश पु¥याउनु पर्छ । यसमा केही विषालु तत्व पनि हुनसक्छ । यसलाई विशेष किसिमबाट पकाएर निकाल्ने गरिन्छ ।  तर नेपालमा पाइने गिठ्ठा भ्याकुरमा चाँहि विषालुपन पाइएको छैन । यसमा केही तितोपना चाँहि छ । यो तितोपनालाई पकाउँदा निकाल्न सकिन्छ । उमालेर, आगोमा पोलेर तितोपना हटाउन सकिन्छ । त्यसैले गिठ्ठा भ्याकुरलाई काँचो नखाएर पकाएर नै खानुपर्छ । नेपालमा मकवानपुरस्थित एक संस्थाले यसको चिप्स, नुडल्स बनाएर व्यापारिक रुपमा बेच्न पनि थालेको छ । यस्ता कन्दमूललाई व्यवसायिक खेती गरेर आय आर्जन पनि गर्न सकिन्छ ।

अहिले नेपालका बालबालिकालाई कुपोषणबाट बचाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दा  स्वास्थ्य कार्यकर्ता र स्वयंसेविकालाई प्याकेटका खानेकुरा र औषधी आदिले नै कुपोषण कम हुन्छ भन्ने ज्ञान दिइने गरिन्छ । उनीहरुबाट यो मानसिकता  हटाउनै पर्छ । हाम्रो भान्सा र स्थानीय स्तरमा के के उपलब्ध हुन्छन् त्यही खाद्य वस्तुबाट स्वादिष्ट र पोषणयुक्त खाना बालबालिकालाई खुवाउन सिकाउनु पर्छ । स्थानीय स्तरमा पाइने खाद्य वस्तुलाई बालबालिकाको स्वाद अनुरुप स्वादिष्ट र पोषणयुक्त बनाउन सकिन्छ । त्यसका लागि स्थानीय स्तरमा छलफल हुन आवश्यक छ ।

(जनस्वास्थ्य विद् डा.अरुणा उप्रेतीको पुस्तक खाना खानुभयो’ बाट लिइएको केहि अंश)

 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment