तितो मेथीको मीठोपन

महिला स्वास्थ्य

२०७७ मंसिर ३ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - अहिले बजारमा सहजै पाइने जंक फुडहरुका कारण हामिले घरमै उपलब्ध हुने कतिपय महत्वपूर्ण खानाहरुलाई वेवास्ता गरिरहेका छौँ । हाम्रा घर वरिपरि वा भान्सामा हुने यस्ता खानाहरु सस्ता मात्र छैनन्, स्वास्थ्यबद्र्धक र पोषणयुक्त पनि छन् । तर हामी यस्ता खानालाई भुल्दै बजारमा बढी चर्चा हुने र विज्ञापनमार्फत प्रचार गरिएका खानाहरुतिर आकर्षित भइरहेका छौँ । यस्ता खाना महंगो मुल्य तिरे पछि सहजै उपलब्ध हुन्छन् । तर स्वास्थ्य तथा पोषणका दृष्टिले भने निकै नै कमसल हुन्छन् । यस्ता जंक फुडहरुको अधिक प्रयोगले गर्दा आजको पुस्ता विभिन्न रोगको शिकार भइरहेका छन् ।

हाम्रा परम्परागत खानामा प्रयोग गरिने र स्वास्थ्य तथा पोषणका दृष्टिले निकै महत्वपूर्ण रहेको मेथी  छाँयामा परेको छ । कतिपय मानिसहरुले यसलाई काम नलाग्ने तितो बस्तुका रुपमा पनि हेर्छन । कतिपयलाई यसको कसरी प्रयोग गर्ने भन्ने कुराको ज्ञान तथा हेक्का पनि छैन । परम्परागत रुपमा खानालाई पोषणयुक्त र स्वादिष्ट बनाउन प्रयोग गरिने मेथीलाई धेरैले वास्ता नगरे पनि हाम्रो परम्परागत भान्सामा यसको प्रयोग प्रसस्त मात्रामा भएको देखिन्छ 

दालमा  जिरा, मेथी फुराएर खाने नेपालीहरुको परम्परागत बानी छ । त्यसैगरि मोहीमा मेथी र लसुन फुराएर पनि खाइन्छ । तर हामीहरु मध्ये धेरै जसोलाई मेथीको तितोपन मन पर्दैन र झानेको दालको पनि मेथी पन्छाएर दाल खान्छौँ । तर मेथीका गुणहरु के के छन भनेर थाहा पाइयो भने त शायद मेथीलाई भोेजनको एक अभिन्न अगं नै बनाइन्छ होला ।

मेथीको टुसा उमारेर अचार बनाउनु नेवारी खाना पराम्परामा निकै पुरानो चलन हो । यसले एउटा महत्वपूर्ण संस्कृतिको रुप अंगाली सकेको छ । कतिपय व्यक्तिलाई चाहिँ मेथीको तितोपन मन पर्दैन । टुसा उमारेको मेथीको अचार खाँदा केही तितोपन अनुभव भए पनि त्यही तितोपनले शरीर स्वस्थ्य राख्न कति मद्दत्त गर्छ भन्ने कुरा धेरैलाई पत्तै हुँदैन । 

बालबालिकालाई पेट दुख्दा वा पखाला लाग्दा मेथी जाउलो पकाएर खुवाउने  नेपाली पराम्परा  हो । अहिले शहरी जीवन शैलीमा यो पराम्परा हट्दै गएको भए पनि गाउँघरतिर भने अझै छ । खासगरी घरका हजुरआमाहरुले यसलाई महत्व दिएको देखिन्छ । तर आधुनिक पुस्ताका व्यक्तिहरु चाहिँ घरायसी उपाय अपनाउनु भन्दा हतारिएर औषधि खुवाउन तम्सेको पाइन्छ । 

परम्पारगत मेथी जाउलो पकाउने कार्य त्यति कठिनपूर्ण पनि छैन । यस प्रकारको जाउलो तयार गर्न एकमुठी चामल, दुई मुठि दाल मिसाएर बनाउन सकिन्छ । पाक्ने बेलामा मेथी र  लसुनलाई घिउमा फुराएर जाउलोमा हालिन्छि । केहि छिन छोपेर अलिकता गाईको घिउ हालेर पकाउने गरिन्छ । यसरी पकाएको मेथी जाउलो खाँदा केटाकेटीको पेट दुखाइमा  आराम पु¥याएको पाइन्छ । साथै यो मेथी जाउलो स्वादिलो पनि हुन्छ ।

जाउलो पकाउने तरिका अनुसन्धान गरेर तयार गरिएको कुनै नयाँ तथा आधुनिक ज्ञान होइन । यो केवल पराम्परागत रैथाने ज्ञान हो । मेथीलाई फु¥याएर पेट दुखाइ कसरी कम हुन्छ भन्ने कुरा मेथी जाउलो बनाएर खुवाउनेहरुलाई थाहा नहुन सक्छ । तर यसले पेट दुखाईमा फाइदा पुग्छ भन्ने कुरा चाहिँ  मेथी जाउलो पकाउनेहरुलाई राम्रैसँग थाहा हुन्छ । 

मेथीमा स्वास्थ्यलाई लाभ पु¥याउने धेरै प्रकारका गुण हुन्छन भन्ने कुरा अहिले खोज अनुसन्धानबाट पनि सिद्ध भइसकेको छ ।

मेथीमा रहेको रेशादार पदार्थले कब्जीयत घटाउन मद्दत्त गर्छ । साथै चिनी रोग र उच्च रत्तचाप भएका व्यक्तिलाई पनि यसको सेवनले फाइदा गर्छ । यस्तो समस्या भएका व्यक्तिले  औषधि छोडेर केवल मेथीको सेवन गरेर मात्रै चिनी रोग निको हुने चाहिँ होइन । 
  
सुत्केरी आमालाई मेथीको दानाको खिर बनाएर दिने चलन पनि छ । कतिपयलाई चाहिँ  मेथीको खिर पनि कसरी खाने होला रु तितो पो हुन्छ, भन्ने परिरहेको हुन्छ । तर मेथीलाई भिजाएर त्यसको पानी निचोरेर दुधमा पकाएर खाँदा त्यसको तितोपन धेरै कम हुन्छ । साथै बानी लागिसकेपछि त त्यही तितोपन नै मोठोपनमा बदलिन्छ ।

मेथीको विभिन्न तरिकाले प्रयोग गर्दा सुत्केरी आमाको स्तनबाट दुध बढी आउँछ । गर्भवती र सुत्केरी महिलालाई स्वस्थ राख्न अनेक किसिमको महँगो र बजारीया  खानेकुरा किन्नै पर्दैन । घरमा नै भएका खानेकुराले स्वस्थ रहन सकिन्छ । 

गर्भवती महिलालाई कब्जियत हुनु एक साधारण समस्या हो । बजारका अनेक थरिका औषधी किनेर कब्जियत हटाउनुको सट्टा मेथी भिजाएर टुसा उमारेको मेथीको सलाद बनाएर खाए यसले कब्जियत कम गर्न मद्दत्त गर्न सक्छ । साथै मेथीमा रहेको लौहतत्वले रगत बढाउन पनि मद्दत्त गर्छ । सलाद बनाउँदा यसमा कागती हाले पछि मेथीमा रहेको लौह तत्व शरीरमा राम्रोसँग शोषण हुन्छ मेथीको पाउडर बनाएर प्रयोग गरेकै कारण कतिपय महिलाहरुलाई रक्तअल्पताको समस्या कम गर्न मद्दत्त गर्न सक्छ । सजिलै पाइने र घरमै विभिन्न प्रकारका परिकार बनाएर खान सकिने बहुगुणकारी मेथीको वारेमा कतिपय मानिसहरुलाई जानकारी छैन । 

 मेथीको महत्व वारेमा थाहा पाएर प्रयोग गरेमा महिलाको स्वास्थ्य राम्रो हुन्छ । मेथिलाई विभिन्न परिकारमा मिसाएर वा परिकार बनाएर खान सकिन्छ । मेथिलाई मसिनोगरी पिसेर सलादमा छर्केर खाएमा पनि फाइदा गर्छ । मेथीमा रहेको अनेक थरिका गुणलाई बुझेर यसले किशोरीको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने गरेकोलेनै होला, दक्षिण भारतमा बालिकालाई पहिलो पल्ट महिनावारी हुँदा गुड हालेर बनाइएको मेथीको लड्डु  महिना भरि दिने गरिन्छ  । यो चलनलाई हामीले पनि परम्पराको रुपमा अपनाउन सके यसले किशोरीहरुको रक्तअल्पता कम गर्न  सहयोग पुग्ने थियो । 

मेथीको दानाको स्वाद पहिलो चोटी खाँदा तितो लाग्छ । विस्तारै स्वाद लिन पहिले मेथीको धुलो सलाद वा सुपमा प्रयोग गर्दै यसलाई खाने बानी गर्न सकिन्छ । दाल वा सुप  पकाएर निकाल्दा अलिकता मेथीको धुलो हालेर एक छिन छोपिदियो भने दाल र सुपको पोषिलो गुण पनि बढ्न जान्छ। त्यसैगरि रोटी बनाउँदा आँटामा अलिकता मेथीको धुलो हालेर पकायो भने गहुँको रोटीको गुण बृद्धि हुन्छ र  स्वास्थ्यलाई फाइदा गर्छ  । 

 मेथीको साग पनि स्वास्थ्यको लागि अति नै उपयोगी हुन्छ । बालबालिकालाई  खानामा मेथीको साग समावेस गर्न अनेक तरिका अपनाउन सकिन्छ । मेथी र आलुको सुप बनाएर वा दाल पकाउँदा मेथीको साग काटेर दालमा नै हाल्न सकिन्छ । यसरी  खाँदा स्वाद पनि मीठो हुन्छ । भिटामिन ए ले भरिएको मेथीको साग बालबालिकालाई दिंदा त उनीहरुको आँखा र छाला राम्रो हुनुको साथै रोगसँग लड्ने शक्ति पनि बढ्न जान्छ भन्ने कुरा आमा र बाले थाहा पाइराख्न जरुरी छ । मेथीको सागलाई मसिनो पारेर पिठोमा मिसाई पराठा पकाउन सकिन्छ । स्कुल जाने केटाकेटीहरुलाई विस्कुट, चाउचाउ जस्ता महंगा तथा पोषणहिन खाजाको सट्टा मेथिको साग मिलाएर बनाएको रोटी, तरकारी दिनु निकै लाभप्रद हुन्छ ।  

 मेथी खाएर स्वास्थ्य त राम्रो हुन्छ नै मेथीको प्रयोग कपाल र छालालाई पनि स्वस्थ बनाउँछ । मेथीमा रहेको लेसिथीन नामक विशेष तत्वले कपाललाई चमकिलोपन दिन्छ । त्यसैले त विभिन्न सौन्र्दय सम्वन्धी काम गर्ने व्यक्तिहरुले मेथीको धुलो दहीमा मिलाएर कपालमा लगाउन सल्लाह दिन्छन् । कपालको चाँया हटाउन पनि धेरै महिलाले मेथी पिसेर दहिसँग भिजाएर कपालमा लगाउँछन । सौन्र्दय विशेषज्ञहरुको यस्तो सल्लाहमा धेरैले यस्तो उपाय अपनाएको देखिन्छ । 

मेथीलाई भिजाएर टुसा उमारेर हप्तामा दुई तिन चोटी खाँदा खानाको स्वाद फेरिनुका साथै स्वास्थ्यलाई फाइदा पनि पुग्छ । टुसा उमारेको मेथीमा काँक्रो, गोलभेडा, हरियो धनिया,  कागती र काँचो तेल र स्वाद अनुसार यसमा नुन वा विरे नुन हालेर  खाँदा निकै स्वादिष्ट हुन्छ । टुसा उमारेको मेथीमा तितोपन पनि धेरै नै कम हुन्छ ।

(जनस्वास्थ्य विद् डा.अरुणा उप्रेतीको पुस्तक खाना खानुभयो’ बाट लिइएको केहि अंश)

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment