जसको बढ्यो भुँडी, उसलाई रोगको लुँडी

महिला स्वास्थ्य

२०७७ पुष २७ सोमबार

फेसबुक , जनाइएको , शेर्पा

- डा.हेमराज कोइराला

काठमाडौं - चिकित्सा विज्ञानमा भएका अनुसन्धानका अनुसार पेट लाग्ने समस्यालाई अनेकौं रोगहरूको कारक तत्वको रूपमा लिइएको छ । 

अत्याधिक पेट लाग्नुका कारणले अनेकौं दीर्घ एवं जीर्ण रोगहरू लाग्ने भएकाले पेटलाई हाम्रो व्यक्तित्वको प्रतीक नभई रोगको पोको मान्न थालिएको छ । अत्याधिक पेट लाग्नाले स्वास्थ्यमा आउन सक्ने समस्याहरु यस्ता छन् । 

मुटुरोगः

संसारमा प्रत्येक वर्ष मुटु तथा रक्तनलीको रोगको कारणले एक करोड ७७ लाख मानिसको मृत्यु हुने गर्दछ । 

पेटमा बोसो लाग्दा रक्तचाप बढ्ने, रक्त ग्लुकोज बढ्ने, राम्रो कोलेस्ट्रोल घट्ने, नराम्रो कोलेस्ट्रोल र ट्राइग्लिसराईड बढ्ने, शारीरिक सक्रियता घट्ने, मानसिक तनाव बढ्ने जस्ता मुटुरोगका जोखिम बढाउने समस्याहरू बढ्ने हुँदा मुटु तथा रक्तनली सम्बन्धी रोग पनि लाग्ने गर्छ ।

मधुमेहः

अत्याधिक पेट लाग्दा पेटको बोसोबाट उत्सर्जित हुने एडिपोकाइन्सहरूले ग्लुकोज टोलरेन्स बिगार्ने, इन्सुलिन प्रतिरोधकता बढाउने र रक्तग्लुकोज बढाएर टाइप–२ मधुमेह गराउने गर्दछ । 

दम:

पेट लाग्दै गएपछि उसलाई दमको समस्या पनि देखापर्छ । पेट लागेपछि प्रमुख श्वास प्रश्वासको मांशपेशी डायफमलाई मजाले फैलिन नदिएर पूरै सास फेर्न दिँदैन । जसले गर्दा लङ्ग भोल्युम घट्न गई दम बढ्छ ।

मानिस मोटाएपछि शारीरिक निष्क्रियता पनि बढ्ने हुँदा शरीरका अन्य मांशपेशीसहित श्वासप्रश्वासका मंशपेशीहरू पनि कमजोर हुने हुँदा दम देखापर्छ । 

अल्जाइमर रोग:

अनुभूत गरिएका विषयहरूलाई स्मरण गर्न नसक्ने रोगलाई अल्जाइमर रोग भनिन्छ । यसैगरी पेटमा बोसो लागेकै कारणले अनेकौं मेटाबोलिक परिवर्तन भई मष्तिस्कका रक्तनलीहरूमा अथेरोस्क्लेरोसिस भई अल्जाइमरको समस्या बढ्छ । अनुसन्धानहरूले दर्शाए अनुरूप पेटका कोमल अङ्गहरूमा बोसोको मात्रा बढ्दा मष्तिस्कको आयतन पनि घट्ने गर्दछ । जसले गर्दा विस्मृति रोग लाग्छ ।

उच्चरक्त चापः

तौल बढेकाहरूमध्ये अधिकांशलाई उच्च रक्तचापको समस्या पनि भएको पाइएको छ । पेट लाग्दा वा तौल बढ्दा बोसो तन्तुहरूबाट निस्कने हार्मोनहरूले शरीरमा रेनिन–एन्जियोटेन्सिन–एल्डेस्टेरोन सिस्टमलाई पनि सक्रिय गरिदिने हुँदा रक्तचाप बढ्छ ।

सौन्दर्य समस्या:

तौल बढ्दा सबैभन्दा पहिला सौन्दर्यमा असर पार्छ । यसैगरी बोसो जम्मा भएको स्थानमा छाला तन्किएर स्ट्रेच मार्क देखिने, छालामा काला धर्सा देखिने, अनावश्यक ठाउँमा रौं आउने, घाउ, खटिरा, पिलो आउने र छालाको वर्ण, कान्ति र तेज कम हुने र पुरूषहरूमा पनि स्तन बढ्ने समस्या देखिने गर्छ ।

अम्लपित्तः

पेटलागेकाहरूलाई अम्लपित्त बढ्ने, पेट हुडल्ने, ग्याष्ट्रिक हुने गर्छ । पेटलाग्दा हाइटस हर्निया पनि हुन सक्छ, जसले अम्लपित्त बदाउँछ ।

पित्तथैलीको पत्थरीः

तौल बढ्दा शरीर रक्तचिल्लोको गडबढि भई कोलेस्ट्रोल पनि बढ्ने हुँदा यो कोलेस्ट्रोल पित्तमा उत्सर्जित भई पित्तको पत्थरीको रूप धारण गर्नसक्छ ।

क्यान्सरः

शरीरको तौल बढेसँगै अनेकौं प्रकारका क्यानसरहरू लाग्ने खतरा बढेर जान्छ । त्यसमा पनि दश सामान्य खालका क्यानसरहरू जस्तै स्तनको क्यान्सर, डिम्बासयको क्यान्सर, अन्ननलीको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर, कलेजो, पित्तथैली, प्याङ्क्रियाज, आमशय, पाठेघर, पोस्टेट ग्रन्थी, मिर्गौलाको क्यान्सर, लिम्फोमा, माइलोमा आदिको उत्पत्तिमा मोटोपनको ठूलो हात छ । 

दीर्घकालीन मृगौला रोगः

मोटोपन भएकाका व्यक्तिको मिर्गौलाले शरीरको मेटाबोलिक आवश्यकतालाई पूर्ति गर्नका लागि अतिरिक्त कार्य गर्नुपर्ने एवं बढी बिषाक्त रगतलाई छान्नुपर्ने हुँदा दीर्घकालीन मिर्गौला रोग उब्जिन सक्छ ।

पिसाब चुहिने समस्याः

पेटलाग्दा पिसाब थैलीमा दबाब दिँदा अर्ज इन्कन्टिनेन्स ९पिसाब चुहिने समस्या० हुन्छ । तौल बढेकाहरूलाई दीर्घकालीन तनाव पनि हुने हुँदा स्ट्रेस इन्कन्टिनेन्सको समस्या पनि देखा पर्छ ।

प्रजनन क्षमतामा ह्रासः

 तौल बढ्दा शरीरमा इस्ट्रोजन र एडिपोकाइन्स जस्ता हर्मोनहरूको मात्रा बढ्छ । यी हार्मोनहरूको मात्रा बढ्दा गोनोडोट्रोपिन रिलिजिङ्ग हर्मोनको मात्रा घट्दछ जसले ल्यास्टेलाइजिङ्ग हर्मोन र फोलिकल स्टिमुलेटिङ्ग हर्मोनको मात्रा पनि घटाउँछ । जसका कारण प्रजननाङ्गले पर्याप्त सेक्स हार्मोनहरूको उत्पादन नगर्दा प्रजनन क्षमतामा ह्रास वा हाइपो गोनोडिजमको समस्या देखापर्छ ।

नपुंसकताः

तौल बढेकाहरूलाई हाइपो गोनोडिजम लगायत अन्य स्वास्थ्य समस्या पनि देखापर्ने हुँदा नपुंसकता ९इरेक्टाइल डिस्फङ्गसन० हुन सक्छ ।

पोलिसिस्टिक ओभेरियन सिन्ड्रोमः

पेट लागेका र तौल बढेकाहरूको बोसो तन्तुबाट प्रशस्त मात्रामा एडिपोकाइन्सहरू निस्कन्छन् । यी एडिपोकाइन्सहरूले शरीरको इन्सुलिन संवेदनशीलता घटाउने हुँदा इन्सुलिन प्रतिरोधकता बढी पीसीओडीको समस्या देखापर्छ ।

बाझोपनः

तौल बढ्दा शरीरमा इस्ट्रोजिन हार्मोनको मात्रा बढ्छ जसले महिलाहरूको डिम्बोत्सर्जन र पुरूषहरूको शुक्राणुजनमा हस्तक्षेप पु¥याउँछ जसका कारण महिला र पुरूष दुवैमा बाँझोपनको समस्या देखापर्छ ।

युरिक एसिड बढ्ने समस्याः

तौल बढेसँगै युरिक एसिड पनि बढ्छ । 

हड्डी खिइने समस्याः

तौल बढ्दा हड्डी खिइनुको मुख्य कारण बढेको अतिरिक्त तौलले तौल धारक जोर्नीहरूमा दबाब दिनु हो भने बोसे तन्तुहरूबाट उत्सर्जित हुने एडिपोकाइन्सहरूले जोर्नीका कार्टिलेजहरूलाई कमजोर परिदिने हुँदा हड्डी खिइन्छ ।

ढाड दुख्ने समस्याः

पेटलाग्दा ढाडमा खिचाब गरिरहने हुँदा ढाडका मांशपेशीहरू पाट्टिने, ढाडको हड्डी खिइने, नशा च्यापिने आदि समस्या हुनेहुँदा ढाड दुख्छ ।

मष्तिस्कघातः

पेटमा बोसो लाग्दा मष्तिस्कघातका जोखिम कारक तत्वहरू जस्तै रक्तचाप बढ्ने, मधुमेह हुने, राम्रो कोलेस्टेरोल घट्ने, नराम्रो केलेस्टेरोल र ट्राइग्लिसराइड बढ्ने र मष्तिस्कका नशाहरू साँघुरिएर इस्केमिक वा हेमोरेजीक स्ट्रोक हुन सक्छ ।

माइग्रेन:

माइग्रेन र बढेको तौलका बीचमा कुनै ठोस सम्बन्घ नभेटिए पनि बीएमआई ३० कि।ग्रा÷मिटर स्क्वायरभन्दा धेरै भएकाहरूलाई माइग्रेन हुने जोखिम ५० प्रतिशत भन्दामाथि रहन्छ ।

नशा च्यापिने समस्याः

तौल बढेकाहरूलाई कम्मरमा, गर्दनमा, नाडीमा नशा च्यापिने समस्या हुने गर्छ ।

मष्तिस्कको रक्तचाप बढ्नुः

पेट लागेकाहरूमा मष्तिस्कको रक्तचाप बढ्ने समस्या पनि देखिने गरेको छ ।

मानसिक समस्याः

तौल बढेकाहरूलाई तनाव, चिन्ता, भय, उदासीनता, नैरास्यता जस्ता मानसिक समस्याहरूको सिर्जना हुन्छ । तौल बढेपछि मानसिक चाहना उच्च हँदाहुँदै शारीरिक असक्षमता रहनु, सौन्दर्यात्मक समस्या देखिनु, हासिमजाकको पात्र बनिनु, शारीरिक एवं मानसिक पीडा आदि कारक तत्वहरू हुन् ।

घुर्ने समस्याः

तौल बढेसँगै माथिल्लो श्वासमार्गमा बोसो जम्ने र बढेको भुँडीले छातीलाई राम्ररी फैलन नदिनेहुँदा घुर्ने समस्या देखापर्छ ।

जटिल गर्भावस्थाः

तौल बढि भएका महिलाहरुमा सुरुमा गर्भाधारण गर्न नै समस्या हुन्छ । गर्भ रहे पनि गर्भावस्थामा हुने मधुमेह, रक्तचाप वा अन्य समस्या देखा पर्ने, हात गोडा सुन्निने, टक्सिमिया देखा पर्ने, गर्भपात हुने जस्ता अनेकौं जटिलता देखापर्न सक्छन् ।

(लेखक डा कोइराला योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको मेडिकल डाइरेक्टर हुन्)

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment