काठमाडौं । विभिन्न जनचेतनामुलक कार्यक्रम गरी विश्वभर आज मुटु दिवस मनाइदैछ । विश्व मुटु महासंघको आह्वानमा हरेक वर्ष सेम्टेम्बर महिनाको २९ तारिखमा यो दिवस मनाइने गरिन्छ ।
पछिल्लो समय मुटु रोगबाट प्रभावित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । मुटु रोग अहिले घरघरकै समस्याजस्तो भएको छ । विलासी जीवनशैली, शारीरिक अभ्यासको कमी र जथाभावी खानपानका कारण मुटु समस्याले युवास्थामै धेरैलाई पिरोल्दै आएको छ ।
मुटु विशेषज्ञका अनुसार रक्तचापमा गढबढ भएमा यसले मुटुमा असर गर्छ । उच्च रक्तचापले मुटुमा भार बढाउने, हृदयघात, स्ट्रोक, मिर्गौलामा असर पुर्याउनुका साथै आँखामा समेत असर पुर्याउँछ । आवश्यकताअनुसार रक्तचापको अवस्था जाँच गराउनुपर्छ । चिकित्सकका अनुसार मुटु रोग लाग्नुमा प्रमुख कारण तनाव हो । त्यसैले मुटु रोग लाग्नबाट बच्नका लागि सबैभन्दा पहिले तनाव कम गर्न जरुरी छ । नियमित व्यायाम तथा चिकित्सकको सल्लाहअनुसार मुटुसम्बन्धि व्यायाम गरेमा मुटु रोग लाग्नबाट बच्न सकिन्छ ।
कस्तो खाना खाने ?
१)फाइबर (रेसा) भएको खाना खाने
२)होल ग्रेन, गेडागुडी, दाल, फलफूल, हरिया सागसब्जी
३)वनस्पतिको तेल
४)घिउ, नरिवलको तेल सक्दो कम गर्ने
५)आइसक्रिम, कुकिज, चाउचाउ, बट्टाको जुस आदि प्रशोधित खाना कम खाने
६)खानामा नुनको प्रयोग कम गर्ने
७)तारेका, भुटेका भन्दा उसिनेका, पोलेका खानेकुरा खाने