एजेन्सी । एक्काइसौँ शताब्दीको चरम विकाससँगै विज्ञान र प्रविधिको उपलब्धिका कारणले मानिसलाई एक पाइला हिँड्न र कुनै काम पनि आफूलाई गर्न परेको छैन ।
मानिसले गर्ने काम सबै मानव निर्मित यन्त्रहरूबाटै भइरहेका छन् । जसका कारण मानिस प्रविधिको दास भएको छ । खाना मीठो,चिल्लो र मसालादार खानुपर्ने,ऐस आरामको जिन्दगी बिताउनुपर्ने र कामै नगरी वा कुनै दुःख नगरी बस्नुपर्ने आजका मानिसका दैनिकि बनिरहेका छन् ।
त्यस्तै मानिसमा आएका अधिक चेतनाका कारण विकसित प्रविधिसँगै हाल सरुवा रोगहरू नियन्त्रणतर्फ गइरहेका छन् तर नसर्ने खालका दीर्घकालीन रोगहरूले मानिसलाई ग्रस्त बनाइरहेको छ । त्यसमाथि वातावरण प्रदूषणले मानिसको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पु-याएको छ ।
जीवनशैली,वातावरण र मानिसको स्वास्थ्य एकआपसमा निकै घनिष्ठ सम्बन्ध भएका विषयवस्तु बनेका छन् । यसरी सरसर्ती हेर्दा मानिसको जीवनशैलीमा आएको व्यापक परिवर्तनले गर्दा नै कहिल्यै निको नहुने खालका गम्भीर रोगहरूका साथै खानपानका कारण लाग्ने सामान्य प्रकारका रोग पनि जटिल रूपमा देखापर्ने गरेको हो भन्नुमा कुनै शङ्का छैन । यस्ता विभिन्न रोगबाट छुटकारा पाउन जीवनशैलीमै पुनः परिवर्तन गरेमा मात्र त्यो सम्भव छ ।
अन्यथा विभिन्न उपचार पद्धति र रसायनयुक्त खाद्यपदार्थको सेवन गरिरहने हो भने सामान्य रोग पनि भयङ्कर रोगका रूपमा देखापर्न सक्छ । अतः जीवनशैली परिवर्तन र विभिन्न रोगहरूबीचको सम्बन्ध निकै मजबुत छ भन्न सकिन्छ ।
सातामा ५० घण्टाभन्दा बढी काम गर्ने मानिसको कार्यक्षमतामा ह्रास आउँदै जान्छ । त्यसकारण काम र आराम दुवै एकैसाथ हुनुपर्छ । यसबाट कार्यक्षमता पनि बढ्छ भने अनेक खालका रोगहरूबाट समेत मुक्ति मिल्छ ।
यसको लागि निम्न तरिकाहरू अपनाई बिताउन सकिन्छ ।
– सधैँ एकै समयमा उठ्ने,
– बिहानको समय आफ्ना लागि पनि छुट्याउने,
– ससाना साहासिक योजना बनाई नयाँ कार्य गर्ने,
– आफ्नो लगावलाई पनि स्थान दिने,
– कार्यालयको काम घरमा नलग्ने,
– हरेक साता एकै किसिमको काम नगरी फरक काम गर्ने,
– दिनहुँ व्यायाम गर्न नछुटाउने,
– साताभरका कुराहरू सोचेर समीक्षा गर्ने,
– परिवारसँग समय बिताउने र
– आउने साताको तयारी गर्ने आदि ।