काठमाडौं । तनाव व्यवस्थापन यस युगको अनिवार्यता भएर आएको छ । यससम्बन्धी धेरै अध्ययन, सभा सेमिनार, प्रयोग र साहित्य सिर्जना भइरहेका छन् । साधारणतः तनाव तथा नैराश्य हटाउन विभिन्न प्रकारका औषधि बजारमा प्रचलित छन्, जस्तै : ट्राइजेपाम टियाजोलाम, हेलोपेरिडोल इत्यादि ।
यी सबैको साइड इफेक्ट हुन्छ र अलिकति मात्रा फरक परेमा यो प्राणघातक पनि हुन सक्छ । लत लागे यिनीहरूलाई छोड्न लागूपदार्थ छोड्नभन्दा गाह्रो हुन्छ । जीवनशैलीमा परिवर्तन नै तनाव विसर्जनको एकमात्र निरापद उपाय हो । यसका लागि केही सुझावहरू यहा प्रस्तुत गरिएका छन् –
- प्राकृतिक आहारविहार, फलफूल, सादा शाकाहारी भोजन गर्ने, गुलियो र अति नुनिलो चिज नखाने । क्याफिन तथा बोतलबन्द पेयपदार्थ, फास्टफुड, जङ्कफुड नखाने, धूमपान र मद्यपानबाट बच्ने ।
-एकमात्र शुद्ध पेयपदार्थ सादा पानी नै हो । त्यसका अरू विकल्प जस्तो कोक, फेन्टा, पेप्सी, बियर इत्यादिले तनाव घटाउने जस्तो देखिए पनि अन्ततः तनाव बढाउ“छन् । प्रतिदिन ३ देखि ५ लिटरसम्म सफा पानी पिउनु आवश्यक छ।
-चिया र कफीले पनि स्वस्थ निद्रामा बाधा गर्छन् । हृदय र नाडीको गति बढाउ“छन् र अन्ततः तनाव वृद्धिमा सहायक बन्छन् । कागती पानी या जडीबुटीको चिया चिया र कफीका राम्रा विकल्प हुन् ।
-मानिसलाई दैनिक ७ घण्टाको निद्रा आवश्यक हुन्छ । छिटो सुत्नु र छिटै उठ्ने बानीले तनाव घटाउँछ।
-आफूलाई भौतिक, मानसिक कुरामा प्रतिकूल असर पार्ने कतिपय कुराको संलग्नताप्रति दृढतापूर्ण नाइ भन्न सिक्ने ।
-ध्यान र योगाभ्यास तनाव विसर्जनमा सर्वाधिक लाभदायक हुन्छन् । नियमित ध्यानले अति तनावग्रस्त परिस्थितिमा पनि शान्त र सकारात्मक रहन सक्ने समझ र धैर्यको विकास हुन्छ । त्यसकारण ध्यान र योगाभ्यासले आज डाक्टरहरूको पे्रस्क्रिप्सनमा पनि ठाउ बनाइसकेका छन् । हालैका खोजले योग, पौडी र प्रकृतिमा टहल्नुलाई तनावबाट मुक्त हुने निरापद उपायका रुपमा लिएको पाइन्छ ।
-ओशोले हास्य, नृत्य, योग, ध्यान र प्रेमलाई तनाव विसर्जन गर्ने महाऔषधि मानेका छन् । योग र ध्यान धेरै प्रचलित भएकाले यसका नाममा बजारमा चलेका मान्यताहरू सबै वैज्ञानिक छैनन् । प्रेम भन्नासाथ हाम्रो मनले यौन बुझ्छ । सम्यक् यौन पनि तनाव विसर्जनमा सहायक हुने चिकित्सकहरूको राय छ तर असन्तुलित यौन र प्रेमले सबैभन्दा बढी तनाव सिर्जना गर्छ । ‘सन्तुलित यौन र प्रेम कसलाई भन्ने?’ यो आफैमा एक विशद र विवादास्पद विषय हो । तर प्रकृतिको समीपको वातावरण र प्राकृतिक जीवनले मानिसलाई सन्तुलित बनाइरहन्छ,यो तनाव विसर्जनको राम्रो उपाय हो।