गर्भावस्थाका समयमा मुख्यगरी गिजा र दाँतको समस्या देखा पर्छ। प्रोजेस्टिरोन नामक हर्मोनको मात्रा गर्भावस्थाका समयमा शरीरमा १० गुना तथा ओइस्ट्रिजोन हार्मोन ३० गुनासम्म बढी भई तथा विभिन्न किसिमका जीवाणु खासगरी प्रिमोटेला इन्टरमेडिया, प्रोफाइरोमोनास जिन्जिमालिसहरूको वृद्धि र विकासमा मद्दत पुर्याउँछ।
जसले गर्दा गिजाका समस्या प्रायः सबै आमाहरूमा देखापर्ने साझा समस्या हुनसक्छ। दाँत तथा गिजाको भित्री भागमा सेतो तथा पहेँलो किसिमको टाँसिएको पदार्थ, जसलाई प्लाग भनिन्छ त्यसमा जीवाणुको संख्या बढ्न गई गिजामा नराम्रो असर पुग्छ। गिजाको समस्या मुख्यगरी गर्भावस्थाको त्रैमासिकदेखि बढ्दै गई आठौं महिनामा अत्यधिक रूपमा देखापर्छ र यो समस्या नवौं महिनादेखि क्रमशः सुधार भई डेलिभरीको दुई महिनापश्चात् धेरै सुधार हुन जान्छ। गिजाको समस्या ३५ देखि सय प्रतिशत महिलामा देखिने गरेको अध्ययनले देखाउँछ। गिजाका मुख्य समस्या रातो हुने, रगत आउने, सुन्निने, गिजा कमजोर भई दाँतै हल्लिने, फोहोर जम्मा भई मुख गन्हाउने र गिजा तल–तल सर्नेजस्ता समस्या देखा पर्छन्।
दाँतमा देखिने मुख्य समस्यामा किरा लाग्नु, दाँतको भित्री भाग खिइनु, जुन खासगरी गर्भावस्थामा बारम्बार आमाहरूलाई आउने बान्ताले पेटमा भएको अम्ल दाँतमा परी, दाँतको भित्री भाग खिइनु र जसले गर्दा दाँत सिरिंङ हुनुजस्ता समस्या देखिन्छ।
यी हरेक आमाले आफ्नो गर्भावस्था समयमा भोग्ने साझा समस्या हो। हुन त यी समस्या अस्थायी हुन् जुन गर्भावस्थापछि आफैं केही हदसम्म ठीक भएर जान्छ। यी समस्याको निराकरण गर्न नसके यसले जन्मिने शिशुलाई पनि नराम्रो असर गरेको अध्ययनले देखाउँछ। तसर्थ मुखको स्वास्थ्यसँग सम्बन्धित समस्या पहिचान, रोकथाम,
उपचार र जनचेतना आमाको स्वास्थ्यलाई मात्र नभई जन्मिने शिशुको स्वास्थ्यलाई पनि त्यति नै आवश्यक पर्छ। गिजाको समस्या भएका आमाले बच्चा जन्माउँदा शिशुको स्वास्थ्यमा नराम्रो असर देखिने अध्ययनले देखाउँछ । अध्ययनअनुसार गिजामा हुने ब्याक्टेरिया रगत हुँदै आमाको गर्भाशयमा पुगी प्लासेन्टल ब्यारियर अर्थात्फे टोप्लासेन्टल युनिटलाई नष्ट गरिदिन्छ र ब्याक्टेरियामा पाइने प्रोस्टाग्लान्डिन जस्ता हार्मोनहरूले गर्भाशयलाई कम्प्रेस गर्न थाल्छ।
गर्भवती महिलाले यसरी गर्नुहोस् दाँतको स्याहार
दन्त विशेषज्ञको सल्लाह लिने, दिनमा दुई पटक नरम ब्रस र फ्लोराइडयुक्त दन्तमञ्जनको प्रयोग गर्ने तथा जिब्रो पनि सफा गर्ने, पौष्टिक खानेकुरा सेवन गर्ने,
प्रशस्त पानी पिउने तथा भिटामिन सी एवं क्यालसियमयुक्त खाने कुरामा ध्यान दिने, डेन्टल फ्लसको प्रयोग गरीदिनहुँ दाँतमा अड्किएका खानेकुरा निकाल्ने,
खान खाएपछि र खानुअघि मुख कुल्ला गर्ने, गर्भावस्थापूर्व नै मुखका समस्याको समाधान तथा उपचार गराउने,गर्भावस्थाको पहिलो त्रैमासिक एवं तेस्रो त्रैमासिकमा दन्त उपचारमा प्रयोग हुने एक्सरे तथा अन्य औषधिले बच्चामा असर गर्नसक्ने हुँदा सकभर दोस्रो त्रैमासिकमा मुखसम्बन्धी समस्याको उपचार गराउने। मद्यपान तथा धुमपानको सेवन गर्ने बानी भए त्यसलाई परित्याग गर्ने र गुलियो खानेकुराको सकभर परित्याग गर्ने।