काठमाडौं । नेपाललाई विश्वमै परिचित गराउने खानामध्ये अकबरे खुर्सानी एक हो। यो खुर्सानी संसारमा कहीँ पनि नपाइने, कतै पाइहाले पनि नेपालको जस्तो पिरो र स्वादिलो पाइँदैन।
यो खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि पनि चिनिन्छ। आवश्यकताभन्दा बढी खाएमा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ज्यानमारा खुर्सानी भनिन्छ । साधारणतया खुर्सानी पिरो स्वाद दिने फल हो। खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ।
अरु खुर्सानीको तुलनामा अकबरे पिरो र स्वादिलो हुन्छ। डल्ले खुर्सानीलाई विदेशीले पनि निकै चाख दिएर खान्छन्। यसले खानालाई पिरो मात्र बनाउने होइन, एक किसिमको छुट्टै खालको स्वाद दिने हुँदा खानाको स्वादमा नै भिन्न मिठास ल्याइदिन्छ ।
स्वादका साथै यो खुर्सानीले स्वास्थ्यलाई पनि व्यापक फाइदा गर्छ। नेपाली समाजमा यो खुर्सानीलाई ग्याँस्ट्रिकको दबाइ भनेर नै चिनिन्छ। खुर्सानी खानु केही पेटका बिमारीका लागि बेफाइदा भए तापनि यसका फाइदा धेरै छन्। अन्य खुर्सानीको तुलनामा यो खुर्सानीको अलि भिन्न स्वाद हुने हुँदा जसरी खाँदा पनि उत्तम मानिन्छ।
जिब्रोलाई पिरो लागे तापनि अन्य खुर्सानीले जस्तो यो खुर्सानीले पेटमा कुनै असर गर्दैन। नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसिया लगायतका देशहरुमा निर्यात हुँदै आएको छ। साथै यो खुर्सानी ग्याँस्ट्रिक तथा चिसो लागेका मानिसको लागि औषधिको रुपमा पनि प्रयोग हुँदै आएको पाइन्छ।
चिसोबाट बचाउँछः खुर्सानीको विशेषता पिरो र तातो हो । यसले शरिरलाई चिसो हुनबाट जोगाउँछ । चिसो पेट फुलेको वा डम्म भएको छ भने खुर्सानी राखेका तरकारीले शरिरलाई फाइदा गर्छ ।
खाना पचाउन सहयोग गर्छः खुर्सानीले पाचन पक्रियालाई पनि सहयोग गर्छ । त्यही भएर कतिपय चिनियाँ औषधीमा केही मात्रामा खुर्सानी मिसाइन्छ ।
तौल घटाउँछः खुर्सानीले तौल घटाउन पनि सहयोग गर्छ । सन् १९९८ मा गरिएको एक अध्यनमा रातो खुर्सानीले मेटाबोलिजम बृद्धि गर्ने र शरिरको ऊर्जा छिटो उपययोग हुने जनाइएको थियो । रातो खुर्सानीले भोक घटाउने भएकोले तौल घटाउन प्रभावकारी मानिन्छ ।
क्यान्सरसँग लड्ने क्षमताः सन् २००७ मा गरिएको एक अध्ययनमा खुर्सानीमा हुने क्युरकुमिनले क्यान्सरबिरुद्ध लड्न सहयोग गर्छ । नियमित खुर्सानी खाँदा प्रोटेस्ट क्यान्सर नहुने अध्ययनमा जनाइएको थियो । आम भारतीयमा प्रोटेस्ट क्यानसर नहुनुमा खुर्सानीको मात्रा बढी खानु हो ।