काठमाडौं । विराटनगरमा डेङ्गु संक्रमितको संख्या ९० पुगेको छ । विराटनगर महानगरपालिकाले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार परीक्षण गरिएकामध्ये विराटनगरमा हालसम्म ९० जनामा डेंगु पुष्टि भएको छ । महामारीकै रूपमा फैलिइरहेको डेङ्गु पुष्टि हुने विराटनगरमा महिला धेरै छन् । डेंगु पुष्टि भएकामध्ये महिलाको संख्या ५० रहेको महानगरले जनाएको छ ।
डेंगुबाट अन्य स्थानमा पुरुष बढी संक्रमित भइरहेको विज्ञहरुले बताए । उनीहरुले विराटनगरमा महिला बढी संक्रमित हुनुलाई अनौठो मनेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर डा. सुरेन्द्रकुमार उराँवले विराटनगरको डेंगुको तथ्यांक अन्यत्रको भन्दा विपरीत आएको बताए।
‘मुलुकका अरु स्थानमा डेंगुका कारण बिरामी पर्नेमा पुरुषको संख्या धेरै छ । विराटनगरमा भने महिला धेरै रहेको पाइयो,’ उनले भने, ‘विराटनगरको तथ्यांक अन्यत्रको भन्दा भिन्न खालको छ । यसको कारण पत्ता लगाउन आवश्यक देखियो ।’
‘हर्मोनका कारण पुरुषमा बढी लामखुट्टे आकर्षित हुन्छ,’ उनले भने, ‘त्यो हिसाबले पुरुष बढी संक्रमित हुनुपर्ने हो । तर यहाँ महिला बढी संक्रमित भइरहेको तथ्यांक प्राप्त भयो । यो एउटा नयाँ खोज एवं अनुसन्धानको विषय बनेको छ ।’
विराटनगरमा स्थायी भन्दा पनि अस्थायी रूपमा बसोबास गर्नेहरु डेंगुबाट बढी संक्रमित भएको महानगरले जनाएको छ । महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले विराटनगरमा घर नभएका र डेरामा बसोबास गरिरहेकाहरु डेंगुबाट धेरै संक्रमित भइरहेको बताए ।
अलीका अनुसार विराटनगरको १, ३, ४ र ५ नम्बर वडा डेंगुका कारण सबैभन्दा बढी प्रभावित बनेको छ । विराटनगरका १९ वटा वडामध्ये हालसम्म ६, १२, १३, १५ र १८ नम्बर वडामा डेंगुका संक्रमित भेटिएका छैनन् । अन्य १४ वटा वडा डेंगुबाट प्रभावित बनिसकेको उनले बताए ।
‘डेंगु नियन्त्रणका लागि सबै वडामा स्प्रे (औषधि छिर्किने) गर्नेदेखि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने काम भइरहेको उनले बताए । विरामीलाई निःशुल्क रूपमा पारासिटामोल र जीवनजल वितरण पनि भइरहेको जानकारी उनले दिए ।