पर्वत- कोरोना सङ्क्रमित बढ्दै गएपछि पर्वत जिल्लामा १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्लाभर मङ्गलवार राती १२ बजेबाट लागु हुने गरी जेठ ७ गतेसम्म निषेधाज्ञा गरिने छ ।
निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न पूर्णत रोक लगाइएको छ ।
अत्यावश्यक सेवा बाहेकका पसल बन्द गर्ने, सरकारी कार्यालयमा न्यूनतम कर्मचारीमार्फत मात्रै सेवा प्रवाह गर्ने, सार्वजनिक तथा निजी सवारी साधन चलाउने रोक लगाउने, विकास निर्माणका काम नरोक्ने तर कार्यस्थलमै मजदुरलाई खाने, बस्ने व्यवस्था गर्ने, लघुवित्त, सहकारी तथा बिमा कम्पनीहरू बन्द गर्ने लगायतका निर्णय भएका छन् ।
औषधी तथा स्वास्थ्यका सामाग्री किनबेच हुने पसल २४ घण्टा सञ्चालन गर्न दिने, एम्बुलेन्स, शव वाहन, दमकल, खाद्य सामाग्री, निर्माण सामाग्री, दूध, दही, पानी, पेट्रोल आदी बोकेका सवारीलाई सञ्चालनमा रोक नलगाउने प्रशासनले जनाएको छ ।