काठमाडौं । नेपालमा पछिल्लो समय ‘ग्रीन-टी’ पिउनेको संख्या ह्वात्तै बढेको छ । चीन, दक्षिण र उत्तर कोरिया, जापानलगायतका देशमा ग्रीन-टी पिउनेको संख्या संसारमै धेरै छ ।
नेपालमा पनि पछिल्लो दुई वर्षमा ग्रीन-टी पिउनेको संख्या बढेको अनुमान गरिएको छ । विभिन्न ठाउँमा अहिले दूध चिया र कालो चिया लगभग बन्द नै भैसकेको छ ।
खाली पेटमा खानु हुँदैन
पेटको बोसो नियन्त्रणका लागि महिला र पुरुष दुवैले ग्रीन-टी पिउने गर्छन् । कुन समयमा पिउने भन्ने बारेमा उनीहरुलाई आवश्यक ज्ञान भने हुँदैन । विभिन्न प्रकारका अध्ययनले ग्रीन-टीले मानिसको भोक नियन्त्रण गरे पनि अन्य हानि नोक्सानी गरिरहेको पुष्टि भएको छ । खाली पेटमा पिउँदा रक्तअल्पता पनि गराउँछ ।
खाली पेटमा ग्रीन-टी पिउँदा मेटाबोलिज्म-खाना पचाउने प्रक्रिया)मा असर हुन्छ । त्यसैले खाली पेटमा ग्रीन-टी खाएमा एसिड उत्पन्न हुने, क्याफिनका कारण भोक नलाग्ने र पेट पोल्ने जस्ता समस्या निम्तिन सक्छ । त्यसैले ग्रीन-टीले खाली पेटमा राम्रो भन्दा पनि नराम्रो असर बढी गर्छ ।
चिकित्सकहरुले ग्रीन टीसँगै हल्का अन्य ठोस खानेकुरा खान सल्लाह दिएका छन् । पेटको बोसो घटाउनका लागि ग्रीन-टीको बोतलमा बिहान आधा चम्चा चिया राख्ने र बेलुकीसम्म निरन्तर त्यसकै पानी पिउँदा फाइदा पुग्छ ।
खानासँगै खानु उत्तम
विभिन्न प्रकारका अध्ययनमा ग्रीन-टी समय र अवस्था मिलाएर खाएमा हाम्रो स्वास्थ्यका लागि राम्रो मानिन्छ । त्यसैले ग्रीन-टीलाई खाली पेटमा भन्दा पनि खाना खाएसँगै खानु उत्तम हुन्छ ।
शरीरमा पानीको मात्रा आपूर्ति गर्ने, पेट राम्रोसँग सफा हुने र तौल नियन्त्रण ग्रीन-टी औषधि नै हो । ग्रीन-टीसँगै केही खानेकुराहरु निरन्तर खाइराख्नु पनि राम्रो मानिन्छ । ग्रीन-टीमा पाइने डिउरेटिक तत्वले पानीको मात्रा पिसाबबाट फाल्ने भएकाले निरन्तर पानी पिउन आवश्यक हुन्छ।
मुटु र मिर्गौलाका बिरामीका लागि ग्रीन-टी राम्रो मानिन्छ । तर यसको प्रयोगमा भने ध्यान दिनुपर्छ। माइग्रेन र टाउको दुख्ने समस्या भएका व्यक्तिले भने ग्रीन-टी नखानु नै उत्तम हुन्छ।
नेपालमा पनि पछिल्लो समय बिहानदेखि बेलुकीसम्म एउटै ग्रीन-टीको पानी खाने कल्चर बढ्न थालेको छ । त्यसले भने शरीरलाई फाइदा गर्छ। ग्रीन-टीको मात्रा निरन्तर नयाँनयाँ गरेर दिनमा धेरै पटक खानु हुँदैन। ग्रीन-टीसँगै अन्य खानेकुरामा पनि ध्यान दिनु आवश्यक हुन्छ।