- बोनिता शर्मा
काठमाडौं - म आफूलाई युवा अभियन्ता भन्न रुचाउँछु । पोषण क्षेत्रमा महिला र बालबालिकाको स्वास्थ्य सुधारका लागि अघि सरेको एक युवा अभियन्ताका रुपमा आफूलाई परिचित गराउन चाहन्छु । सानो छँदादेखि मैले देख्दै आइरहेको छुँ की परिवारका सबै सदस्यले खाना खाएपछि अन्त्यमा विवाहित महिला खानु पर्छ । घरमा पाहुना आउँदा पनि छोरा भए परिवारका बाबासँग बसेरसँगै खान पर्ने अनि छोरीले चाहिं आमासँग पछि मात्र खानु पर्ने चलन अझैं समाजमा कायम नै छ ।
पोषणको बारेमा कुरा गर्दा छोराको ६ महिनामा पास्नी हुन्छ । छोरीको ५ महिनामा नै पास्नी गरिदिने प्रचलन छ । ६ महिनासम्म कुनै पनि शिशुलाई ठोस खानेकुरा दिनु हुँदैन । आमाको दुध मात्र खुवाउनु पर्छ । तर, समाजमा नारीहरुको वृद्धि विकास छिट्टै हुन्छ भन्ने अन्धविश्वासका कारण ५ महिनामा नै पास्नि गरिदिने चलन छ । सानो बाल्यवस्थादेखि नै छोरीमाथी एक खालको विभेद गरिन्छ । यसको मुख्य कारण पितृसत्तात्मक सोच नै हो ।
परापूर्व काल देखि नै महिलाहरुले धेरैखाले विभेदहरुको सामना गर्दै आइरहनु परेको छ । महिला स्वमंले पनि त्यो विभेदहरु भनेर थाहा नपाएको अवस्था छ । जस्तै महिनावारी बार्ने विषयमा पनि पुरुष अर्थात दाई भाई वा बाबालाई धेरै वास्ता हुँदैन । तर, महिलाले नै महिनाबारीको बेला बार्नु पर्छ भन्ने खालको कुप्रथा अघि बढाएका छन । त्यस्तै महिनाबारीको बेलामा पोषणयुक्त खानेकुरा थप आवश्यकता पर्छ भन्ने विषयमा पनि धेरैले हेक्का राखेका हुँदैनन । त्यस्तै कतिपय महिलाहरु बच्चा जन्माइसकेपछि पोष्टपर्टम डिप्रेसनमा जाने गरेको पाइन्छ । विशेषगरी जागिरे महिलालाई बच्चा छोडेर काममा जानुपर्नेबाध्यता हुन्छ । त्यस्तो अवस्थामा सासुले मेरो नाति दुब्लायो वा श्रीमानले छोरा दुब्लायो भन्दा पीर पर्छ ।
तिमीले स्याहार गरेनौ भन्दा उसको मानसिक स्वास्थ्यमा असर पर्न सक्छ । त्यसैले महिलाको मानसिक स्वास्थ्यको लागि परिवारमा सहयोगी वातावरण सिर्जना गर्नु पर्छ । नारीप्रति पुरुष तथा आमसमुदायको सोंच कस्तो मेरो आमाबुवा दुवै शिक्षित भएका कारण मैले भेदभाव भोग्नु परेन । समाजमा महिला र पुरुषबीचको जुन स्तरको भेदभाव हुन्छ त्यो मैले महसुस गर्नु परेन । समाज विभेदकारी छ । तर, हामो परवारमा विभेद गरिंदैनथ्यो । सानो उमेरमा छोरा र छोरीलाई दिइने खेलौनामा चाहिं भिन्नता देखेको छुँ । सुरक्षाको लागि केटा नै चाहिन्छ भन्ने मान्यताको हावी भएको देखेको छुँ । भाइ सानो भएपनि आफु भन्दा ठूलो दिदीको लागि साथी गइदे भन्ने गरिन्थ्यो । दिदीको सुरक्षाको लागि बडिगार्ड बनाएर किन पठाएको होला ? जस्तो लाग्थ्यो । त्यतिबेला लाग्थ्यो भाई शक्तिशाली जस्तो ।
नारी शारिरीक एवं मानसिक रुपमा सक्षम हुनु पर्छ । परिवारको सम्पूर्ण भार महिलाले मात्र लिनु न्यायसंगत छैन । महिलाहरु शक्तिशाली छन । हामीले नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्छौं । म गर्न सक्छु भन्ने आत्मबल सबै महिलामा हुनुपर्छ । परिवारको साथ पनि आवश्यक पर्छ ।
(बोनिता शर्मा ‘सोसल चेन्जमेकर्स एन्ड इन्नोभेटर्स’ (सोचाइ) की प्रमुख कार्यकारी अधिकृत हुन् । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) ले तयार पारेको सन् २०१९ को शक्तिशाली एक सय महिलाकोसूचीमा शर्मा पनि परेकी थिइन ।)