म्याङलुङ । कृषि र पशुपालनबाट आफ्नो जीविकोपार्जन गदै आएका तेह्रथुम लालिगुराँस नगरपालिका–८ मेघाका अधिकांश मतदाता हरेक चुनावमा आफ्नो गाउँको मुहार फेरिने आसामा छन् ।
गाउँमा गुणस्तरीय सडक, विद्यालय, खानेपानी र स्वास्थ्यचौकीको व्यवस्था नहुँदा जीवन कष्टकर रूपमा बिताउनु परेको उनीहरूको गुनासो छ । अहिले देशमा चुनाव लागेकाले नेता, तथा कार्यकर्ता भ्याइनभ्याइ गरी भोट माग्दै हिँड्न थालेका छन् । ‘०१५ सालदेखि भोट दिँदै आएको छु, नेताले काम नगरेका हुन् कि राम्रो उम्मेद्वार छान्न नजानेर हो हाम्रो गाउँको विकास जहाँको त्यही छ,’ ७५ वर्षीय कविन्द्र श्रेष्ठले पीडा पोखे ।
उनी मात्रै होइन, त्यस ठाउँका अधिकांश बासिन्दाले उम्मेद्वारसँग गाउँमा स्वास्थ्यचौकी भइदिए सिटामोलसम्म त खान पाइन्थो कि भनेर हरेक चुनावमा गुनासो गर्दै आएका छन् । राम्रो स्वास्थ्य सुविधा त के सिटामोल मात्रै खानकै लागि पनि एक दिनको बाटो हिँडेर जिल्ला अस्पताल धाउनु परेको अर्का स्थानीय ज्ञानबहादुर श्रीपालीले बताए ।
चुनाव आउन केही दिन मात्र बाँकी भए पनि कुन उम्मेद्वारलाई भोट दिने भन्ने निर्णय गर्न नसकिएको अर्का स्थानीय अम्बिका कार्कीले जोड दिइन् । स्वास्थ्यचौकी जसले स्थापना गर्छ उसलाई नै मत दिने पक्षमा रहेको उनले सुनाए ।
विगतका निर्वाचनमा थुप्रै नेतालाई जिताए पनि अहिलेसम्म कसैले पनि मन छुनेगरी काम गर्न नसकेको गुनासो गर्दै अम्बिकाले भनिन्, ‘हामीले विगतका चुनावमा धेरैलाई भोट दियौँ, खै उहाँहरूले अहिलेसम्म हाम्रा लागि केही गरेको देखेनाँैं । जसलाई जितायौँ, उहाँहरू अहिले हामीसँग राम्रोसँग बोल्न पनि हुन्न ।
अरू के कुरा गर्नु र ? त्यसैले यसपटक राम्रो काम गर्ने जनप्रतिनिधिको खोजीमा छौँ । हामीलाई ठूला कुरा होइन्, काम चाहिएको छ ।’ उनले भनिन्, ‘अहिले देशमा रोजगार नपाएर हाम्रा छोराछोरीले विदेशिनु परेको छ । अब हामी जनता पहिलेको जस्तो कुरामा भुल्ने छैनौँ । हामी बुझ्ने भइसकेका छौँ ।’
भेलामा करिब एक सय जनाको हाराहारीमा गाउँले सहभागी थिए । खासमा उनीहरू नेताको खोक्रो भाषण सुन्नुभन्दा आफ्ना गुनासा पोख्नका लागि सहभागी भएका थिए । त्यस ठाउँका मतदातासँग मत माग्न प्रतिनिधिसभाको उम्मेदवार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ र प्रदेशसभा १ का कांग्रेसकै उम्मेदवार सन्तोष सुुब्बालगायत गठबन्धन दलका नेता त्यहाँ पुगेका थिए ।
चुनाब आएसँगै सबै नेता गाउँ पस्छन्, जितेर गएपछि कोही फर्किंदैनन् । हामी गाउँलेको समस्या जहाको त्यही रहेको लालीगुराँस नगरपालिका–३ मुसांखेलकी कमला कार्कीले गुनासो गरिन् । मसिंरको चटारो धमाधम काम गर्न छोडेर नेताका भाषण सुन्ने फुर्सद पनि छैन । खेतमा धान र बारीमा कोदो पाकिसकेको छ ।
कुनै पार्टीका एजेन्डाले अहिलेसम्म गाउँको समस्या सम्बोधन नगरेको उनले गुनासो गरे । कार्की मात्र होइन वडा नं ६ का कृष्ण लिम्बूले भने, ‘गाउँगाउँमा सडकको ट्रयाक खोल्ने त काम भयो तर स्तरोन्नति नभएर आफूले उत्पादन गरेको कृषि उत्पादन बजारसम्म पु¥याउन नसकेको र बिरामी हँुदा अस्पतालसमेत लान गरो छ ।’
चुनाव आउँदा मात्र नेता गाउँमा आउने र चुनाव जितेर गएपछि फेरि नफर्किने गरेकाले गाउँको विकास पछि परेको गीता बाँनियाले बताइन् । अघिल्लो जनप्रतिनिधिभन्दा असल विचार, जनताको हितमा काम गर्ने र आधुनिक कुरामा राम्रो ज्ञान भएको जुझारु उम्मेद्वारलाई जिताउने पक्षमा रहेको अधिकांश मतदाता बताउँछन् ।