विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई विश्वव्यापी चिन्ताको भेरिअन्टको रूपमा वर्गीकरण गरेको छ।
प्रारम्भिक अध्ययनहरूले बी.१.६१७ भेरिअन्ट अन्य प्रकारभन्दा सजिलै फैलिने देखाएको बताउँदै डब्ल्यूएचओले यस विषयमा थप अध्ययन आवश्यक परेको बताएको छ।
डब्ल्यूएचओको अनुसार सो प्रकार ३० भन्दा बढी मुलुकहरूमा फैलिसकेको छ।
यूके, दक्षिण अफ्रिका र ब्रजिलका भेरिअन्टहरूलाई पनि डब्ल्यूएचओले उस्तै प्रकारले वर्गीकरण गरेको छ।
कुनैपनि प्रकारलाई डब्ल्यूएचओले चिन्ताको प्रकारमा वर्गीकरण गर्दा सहज सङ्क्रमण, गम्भीर लक्षण, एन्टीबडीको कम प्रभावकारिता र उपचार एवम् खोपको कम प्रभावकारिताको आधार हेर्ने गर्छ।
भारतमा खतरनाक दोस्रो लहर फैलिनुको कारण यो प्रकार हो कि होइन भनेर अध्ययन भइरहेको छ।
मङ्गलवार भारतमा तीन लाख २९ हजारभन्दा बढी सङ्क्रमण र ३,८७६ मृत्यु पुष्टि भएको छ। विज्ञहरूले कोभिडको खास सङ्ख्या योभन्दा निकै धेरै हुनसक्ने दाबी गरेका छन्।
राजधानी दिल्ली लगायतका धेरै स्थानहरूमा गम्भीर सङ्क्रमण बढिरहँदा अक्सिजनको अभाव भएका छन्।
आन्ध्र प्रदेशका स्थानीय समाचारपत्रहरूले तिरुपतिको एक अस्पतालमा अक्सिजनको आपूर्तिमा ढिलाइ हुँदा सोमवार राति ११ जनाको मृत्यु भएको विवरण प्रकाशन गरेका छन्।
भारतीय सरकारले नयाँ भेरिअन्ट र भारतको दोस्रो लहरबीच सम्बन्ध भएको बताए पनि सो सम्बन्ध स्पष्ट स्थापित गर्न सकिएको छैन।
भारतका थुप्रै राज्यहरूले गत महिना लकडाउन या कर्फ्यु या निषेधाज्ञा जारी गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि राष्ट्रव्यापी लकडाउन लगाउन दबाव बढिरहेको छ। मोदीमाथि हिन्दु मेला र चुनावमा ठूलो भिड जम्मा हुन नरोकेको आरोप पनि लागेका छन्।
सोमवार दिल्लीका स्वास्थ्यमन्त्रीले अब तीन या चार दिनलाई पुग्ने खोप मात्रै बाँकी रहेको बताएका छन्।
भारतको खोप कार्यक्रम अन्तर्गत अहिलेसम्म २.५ प्रतिशत जनसङ्ख्याले खोपको दुई मात्रा प्राप्त गरेका छन्।
डब्ल्यूएचओका प्राविधिक प्रमुखले सोमवार अहिले उपलब्ध खोपहरूको भारतीय प्रकारमाथि प्रभावकारिता कम हुनसक्ने देखिएको बताए पनि उसले अहिलेसम्म खोप प्रभावकारी नै हुने बताइरहेको छ।
बिबिसी