काठमाडौँ । हेल्थ फाउन्डेसन नेपालको वार्षिक सम्मेलन सम्पन्न भएको छ। सम्मेलन गत आईतबार अनलाईन माध्यमबाट सम्पन्न भएको हो।
सन् २०१३ मा स्थापना भएको फाउन्डेसनको हाल अमेरिका, काठमाडौँ र दाङमा कार्यालय छ। फाउन्डेसनले नेपालमा स्वास्थ्य सेवा पहुँच र विस्तारको साथै मानसिक स्वास्थ्य र नसर्ने रोगहरुमा केन्द्रित भएर कामहरू गरिरहेको छ।
स्माइल मदर प्रोजेक्ट अन्तरगत फाउन्डेसनले दुई हजार भन्दा बढी महिलाहरुलाई प्रोस्टपार्टम् डिप्रेसन लगायतको मानसिक स्वास्थ्य समस्याहरुको नि:शुल्क उपचार सेवा दिईसकेको छ। नेपाल र अमेरिका दुवै देशमा फाउन्डेसनलाई स्वयंसेवाको माध्यमबाट सहयोग गर्ने व्यक्तिहरू भएको अशोक पौडेलले बताए।
फाउन्डेसनले महिलाहरुको मानसिक समस्याको साथै वृद्धवृद्धाको मानसिक समस्या र स्कुल पढ्ने विद्यार्थीहरूमा समेत मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन गरेको छ।
फाउन्डेसनले स्वास्थ्य साक्षरता सम्बन्धी विभिन्न कार्यक्रम गर्ने गरेको फाउन्डेसनका उपाध्यक्ष मनोज भट्टराईले बताए। कार्यक्रममा नर्स बिनिता अधिकारीले फाउन्डेसनले गरेका कामहरूले बिस्तारै राष्ट्रिय स्तरका नीतिहरुमा समेत राम्रो प्रभाव पार्ने बताईन्।
उक्त कार्यक्रममा विदेशमा रहेका नेपालीहरुले नेपालको स्वास्थ्य सेवाको विकासमा कस्तो सहयोग गर्न सक्छन् भन्ने विषयमा छलफल भएको छ।
कार्यक्रममा बोल्दै श्रीधर पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा सबैले मिलेर काम गर्नुपर्ने बताए। अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष बिनोद खड्काले पनि देश भन्दा बाहिर रहेर स्वास्थ्य क्षेत्रमा काम गरिरहेकाले सबैले नेपालको स्वास्थ्य सेवाको विकासमा सहयोग पुर्यााउनुपर्ने बताए।
त्यस्तै सोसाइटी अफ अमेरिकन नेप्लिज नर्स(सान) की अध्यक्ष मन्जु संग्रौलाले पनि धेरै संस्था र व्यक्तिहरू मिलेर काम गरेमा स्वास्थ्यको क्षेत्रमा परिवर्तन सम्भव रहेको बताईन्।
कार्यक्रममा सहभागीले हेल्थ फाउन्डेसनले पछिल्लो दश वर्षयता नेपालको स्वास्थ्य सेवामा गरिरहेको कामको प्रशंसा गरेका थिए।