काठमाडौं । आसन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागि दलहरुको घोषणापत्रमा स्वास्थ्यको विषय समेटिएका छन् । घोषणापत्रमा दलहरूले स्वास्थ्य क्षेत्रका पुरानै एजेन्डा दोहोराएका छन् । गत सोमबार माओवादी केन्द्रले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको थियो ।
दलहरुको घोषणा पत्रमा के के समेटिए स्वास्थ्यका विषय
त्यस्तै नेकपा एमालेले गत मंगलबार घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा भनिएको छ, महिनावारी हुने उमेर समूहका देशभित्रका सम्पूर्ण महिलाका लागि स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदको लागि वार्षिकरु १ हजार ५ सय उपलब्ध गराउने ।
त्यस्तै एमालेले काठमाडौं उपत्यकामा ३सय शय्या र सातै प्रदेशमा ५० शय्याको सरुवा अस्पताल निर्माण गर्ने घोषणा गरेको छ । यसअघि कांग्रेसले सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याड दिने घोषणा गरेको थियो ।
पाँच वर्षभित्र हरेक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, विशिष्टीकृत अस्पताल (बालरोग, सरुवा रोग, मुटु, क्यान्सर, प्रसुति, मुख्य राजमार्गमा ट्रमा सेन्टर आदि) स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना गरी संचालन गरिने पनि कांग्रेसले घोषणापत्रमा लेखेको छ ।
एकीकृत समाजवादीले स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकता स्वास्थ्य उपचारलाई राख्ने घोषणा गरेको छ। स्थानीय सरकारले संघ र प्रदेश सरकारसँग सहकार्य गरि जनशक्ति उत्पादन र साधन स्रोतको वितरण स्थानीय तहमा गरि जनतालाई रोग लाग्नै नदिने जनाएको छ।
यस्तै, जटिल खालका शल्यक्रियाहरु बाहेकका उपचारहरु स्थानीय अस्पतालबाट निःशुल्क रुपमा उपलब्ध गराइने एकीकृत समाजवादीको घोषणा छ।
पालिकास्तरमा विशेषज्ञ चिकित्सकलाई आकर्षित गर्न स्थानीय सरकारले आकर्षक प्याकेजको व्यवस्था गर्ने र जनताले घरआँगनमै विशेषज्ञ स्वास्थ्य सेवा पाउन र स्वास्थ्य क्षेत्रका जनशक्ति विदेश पलायन हुनबाट रोक्ने एकीकृत समाजवादीको प्रतिवद्धता छ। तर स्थानीय तहमा चिकित्सकलाई आकर्षित गर्ने आकर्षक प्याकेज भनेको कस्तो हो भन्ने कुरा प्रस्ट गरिएको छैन।
जनताको सहज स्वास्थ्य उपचारका लागि घुम्ती स्वास्थ्य शिबिर, मोबाइल नर्सिङ, टेली मेडिसिन र टोल टोलमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरी औषधि र जनशक्तिको उचित व्यवस्था गरिने जनाइएको छ। सामुदायिक नर्सिङ सेवा मार्फत जनताको घरघरमा गएर स्वास्थ्य परीक्षण गर्ने र उपचारका लागि अस्पताल पु¥याउने, सुविधासम्पन्न बर्थिक सेन्टर, स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला लगायतका सुविधा उपलब्ध गराइने एकीकृत समाजवादीको प्रतिवद्धता छ।
माओवादीले निःशुल्क हुनेछ भनेको आधारभूत स्वास्थ्य सेवा संविधानले नै दिएको नागरिकको मौलिक हक भित्र पर्छ। ५ वर्ष अघि पनि सबै राजनीतिक दलहरुले आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनेछ भन्ने घोषणा गरिसकेका हुन्। तर आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रवाह गर्न ल्याउनुपर्ने नीति र कामबारे कुनै कुरा उल्लेख छैन।