काठमाडौं । नेपालको टिजिग फर्माद्वारा उत्पादित क्यान्सरको औषधि भारतको मुम्बईस्थित टाटा मेमोरियल क्यान्सर अस्पतालमा प्रयोग हुन थालेको छ । नेपालमा पहिलो पटक टिजिगले क्यान्सरको मुखबाट खाने केमोथेरापीको लागि प्रयोग हुने औषधि उत्पादन गरेको हो।
भारतको औषधी नियमक निकायको स्वीकृतिमा टिजिग फर्माले उत्पादन गरेको उक्त औषधि अस्पतालले प्रयोग गर्न थालेको टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश बैद्यले बताए । नेपालमा क्यान्सर रोगको उपचार भइरहेपनि औषधीको चरम अभाव,अनियमितता तथा औषधीको मुल्यमा असमानता लगायतका पक्षहरुलाई ध्यानमा राखी टिजिग उक्त औषधि उत्पादन गरेको कार्यकारी निर्देशक बैद्यले बताए ।
यो कम्पनी क्यान्सरको औषधि उत्पादन गर्ने भारतको चर्चित कम्पनी एसपी एक्यूर ल्याबसँग प्राविधिक सहयोगमा सञ्चालित छ । विश्व स्वास्थ्य संगठनको प्रविधि हस्तान्तरण सम्बन्धी निर्देशिका बमोजिम विदेशी कम्पनीको प्रविधि र लगानीमा नेपाल ल्याउन सक्ने यो पहिलो कम्पनी समेत हो ।
यस कम्पनीले फोक्सो ,रगत ,स्तन पाठेघर,मस्तिष्क,ठूलो आन्द्रामा हुने क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिको उत्पादन गरिरहेको छ । संस्थाले नेपाली बजारमा क्यान्सरका मुखबाट खाने ३४ प्रकारका मोलिक्युबाट उत्पादन हुन सक्ने ५३ किसिमको औषधिको उत्पादन गर्नका लागि नेपाल औषधि व्यवस्था विभागबाट अनुमती समेत पाइसकेको अवस्था छ ।
टिजिगले बिक्रिवितरण अनुमती पाएकामध्ये ५ प्रकारका मोलिक्युलका ७ किसिमका औषधिहरु मात्र नेपालमा बिक्रि वितरण गर्न पाएको छ । अरु ९ प्रकारका मोलिक्युलबाट १६ किसिमका औषधि बिक्री बिक्री वितरण गर्नका लागि तयारी भएको निर्देशक बैद्य बताउँछन् । टिजिग फर्माबाट उत्पादन हुने क्यान्सर विरुद्धको औषधिको मूल्य आयातीत औषधिको तुलनामा सस्तो रहेको दाबी औषधि उत्पादक कम्पनीको छ ।
नेपालको निजी क्षेत्रबाट नेपाल क्यान्सर अस्पताल,भक्तपुर क्यान्सर सेन्टर,नेशनल क्यान्सर सेन्टर ,पूर्वाञ्चल क्यान्सर सेन्टर र चितवनमा सीएमसी क्यान्सर सेन्टरमा क्यान्सर रोगीहरुको उपचार हुँदै आएको छ । यी बाहेक पाटन,वीर ,सिभिल,आर्मी,सशस्त्र,पुलिस,ओम,ग्रान्डी, कोशी लगायतका अस्पतालहरुमा पनि क्यान्सरको उपचार हुँदै आएको छ ।