कान मानव शरीरको एक संवेदनशील अंग हो । कानलाई ३ भागमा विभाजन गरिन्छ । बाहिरि, मध्य र भित्रि कान । बाहिरी र मध्यकानले ध्वनिलाई भित्रि कानसम्म प्रवाह गर्दछ । भित्रि कानले सो ध्वनीलाई प्राप्त गरि तंत्रिका (nerves) माध्यमबाट दिमाग भित्रको श्रवण केन्द्रसम्म पुर्याउँछ जहाँ आवाज भनि व्याख्या हुन्छ ।
त्यसैगरी, भित्रि कानले शरिरलाई आयाममा सन्तुलन (Balance in Space) राख्ने काम पनि गर्दछ । साधारणतया कान पाक्ने भन्नाले बाहिरि र मध्य कानकोे संक्रमणलाई बुझिन्छ । कान कोट्याउनु, कानमा चोट लाग्नु, कानमा तेल-पानी पस्नु, फोहोर जम्मा हुनु, खटिरा आउनु, ढुसी पर्नु आदि कारणले बाहिरी कान पाक्ने गर्दछ ।
त्यसैगरी, चिसो लाग्नु, रुघा/खोकि लाग्नु, घाँटीको संक्रमण हुनु, कानको जालिमा प्वाल भएको अवस्थामा बाहिरबाट फोहोर/धुलो पानि पस्नु आदि कारणले मध्य कान पाक्ने गर्दछ ।
मध्य कानको संक्रमण (Otitis Media) साधारणतया तीन किसिमका हुन्छन्ः पहिलो, मध्य कानमा तरल पदार्थ जम्मा भई संक्रमण हुनु, दोश्रो, कानको जालिमा प्वाल परि पटक–पटक मध्यकान पाकि रहनु, तेस्रो मध्यकानको माथिल्लो भागमा (attic) संक्रमण भई हड्डी कुहिने रोग लाग्न सक्छ र यस्तो अवस्थामा रोग वरिपरि फैलिने (Mastoiditis), अनुहारमा जाने नशा संक्रमण हुने ( Facial Paralysis) वा दिमागमा फैलिएर (Brain Abscess) प्राणघातक संक्रमण हुनसक्ने सम्भावना हुन्छ । त्यसैगरी, भित्रि कानको संक्रमण भई श्रवण शक्ति हराउनु, चक्कर लाग्नु आदि समस्या आउन सक्छ ।
कान संक्रमणका लक्षणहरु
-कान वरिपरि सुन्निनु
-कान दुख्नु
-कानबाट तरल पदार्थ बग्नु
-श्रवण शक्तिमा कमि आउनु
-कान बन्द भएको महशुश हुनु
-कान बज्नु
-पर आवाज आईरहनु रिंगटा लाग्नु
उपचार
बाहिरी कानको संक्रमण औषधि उपचारबाट निको गर्न सकिन्छ । कहिले काही पीप जमेको अवस्थामा (Abscess ) सानो चिरफार गर्नुपर्ने हुनसक्छ ।
- कानको जालिमा प्वाल भएको अवस्था र पटक–पटक पाकि रहेमा मध्य कानका संरचनाहरु क्षति हुँदै जाने र श्रवण शक्तिमा पनि कमि आउनसक्ने भएकोले त्यस्तो अवस्थामा जालिको र आवश्यकता अनुसार मध्यकानका संरचनाहरुका शल्यक्रिया (Tympanoplasty) गर्नु उपयुक्त हुन्छ ।
-सो शल्यकृयाको लक्ष्य भविष्यमा मध्य कानलाई संक्रमण हुनबाट रोकथाम गर्नु हो । सो शल्यक्रियापश्चात धेरैजसो बिरामीको श्रवण शक्तिमा सुधार आउन सक्छ भने १० प्रतिशत मा विभिन्न कारणले जालि नबस्ने सम्भावना पनि हुन्छ ।
- मध्यकानको हड्डी कुहिने संक्रमण भएमा, कानबाट थोरै मात्रामा बाक्लो गन्हाउने पीप आउँछ र सो संक्रमण कान वरिपरि वा दिमागतीर फैलिने र थप जटिलता आउनसक्ने सम्भावना भएकोले समयमै शल्यकृयाद्वारा उपचार गर्नु आवश्यक हुन्छ ।