काठमाडौं । विशेष गरी जाडोमा मानिसका शरीरको छाला सुख्खा हुने, हातखुट्टा, ओठ फुट्ने समस्या देखिन्छन् । त्यसैगरी अर्को ‘चिलब्लेन्स’ भन्ने हुन्छ । यसले हात गोडाहरु सुन्निने हुन्छ । चिसो लागिसकेपछि हातहरु रातो अनि घाउहरु जस्तो हुने कहिलेकाहीं पानीफोकाहरु पनि आउन सक्छ । अर्को ‘ह्यान्ड एक्जिमा’ हुने सम्भावना हुन्छ ।
छाला सुख्खा भइ जाडोमा हातखुट्टाहरु चिलाउने, पानीफोका निस्किने र कहिलेकाहीं पटपट फुट्ने समस्या पनि हुन सक्छन् । धेरैजस्तो साबुन, सर्फहरुमा धेरै समय बिताए यो समस्या बढ्छ । त्यसैले जाडोमा छालाको स्याहार अलि बढी गर्नुपर्छ ।
जाडोमा छालामा समस्या हुने कारण
– साबुनको धेरै प्रयोगले छाला सुख्खा हुनुका साथै फुट्ने समस्या हुन्छ ।
– धेरै तातो पानीले नुहाउनाले छाला सुख्खा हुन्छ । – ब्लड प्रेसरको औषधी सेवन गर्नेहरूमा छाला सुख्खा हुने समस्या धेरै हुन्छ।
– विभिन्न रोगका औषधि सेवन गर्नेहरूमा पनि छाला सुख्खा हुने समस्या बढी हुन्छ । – छाला सुख्खा हुनेहरूलाई चिलाउने समस्या बढी हुन्छ ।
– पटक पटक धेरै पानी चलाउँदा पनि हात फुट्ने हुन्छ ।
छालालाई सुख्खा हुनबाट कसरी जोगाउने
– जाडो याम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउनुपर्छ ।
– खानपानमा विशेष ध्यान दिनुपर्छ । हरियो साग सब्जीका साथै प्रशस्त पानी पिउने गर्नुपर्छ ।
– छालामा टाँसिने गरी सुती कपडाको प्रयोग गर्नुपर्छ ।
– धेरै तातो पानीले नुहाउनु हुँदैन ।
– कडा खालको साबुनको प्रयोग नगर्ने । मोइस्चराइजिङ कन्टेन्ट हाई भएका साबुन अथवा सावर जेलको प्रयोग गर्ने ।
– नुहाउना साथ मोइस्चराइजर क्रिम लगाइहाल्ने । जसले गर्दा छाला सुख्खा हुन पाउँदैन ।
– यदि धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या छ भने मनतातो पानीमा नुन राखेर डुबाउने अनि तेल, पेट्रोलियम जेली अथवा मोइस्चराइजर लगाउने गर्नुपर्छ ।
यति गर्दा गर्दै पनि तपाईंको छाला सुख्खा हुने र फुट्ने समस्या भयो भने डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ