काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा दुई दिने राष्ट्रिय संयुक्त बार्षिक समीक्षा बैठक सुरु भएको छ । उक्त बैठकको प्रमुख अतिथीका रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ रहेका थिए।
भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रको सभाहलमा सोमबार बिहानदेखी सुरु भएको उक्त बैठक मंगलबारसम्म रहनेछ ।
बैठकमा मन्त्रालय, स्वास्थ्य विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा महाशाखा, स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पतालहरुले एक वर्षमा सम्पन्न गरेका काम, उपलव्धी तथा स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरु बारे छलफल हुने बताइएको छ ।
प्राविधिक सत्रलाई स्वास्थ्य विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सम्वोधन गरेका छन् । उनले स्वास्थ्यले लिएको लक्ष्य, सूचक, र रणनीतिहरु कति सफल भए र कति बाँकी छन्, के कस्ता अफ्ट्याराहरु छन् यो बैठकमा आउने बताए । उनले समस्याहरु समाधान गर्दै अघि बढ्नका लागि यो बैठक सहयोगी हुने विश्वास समेत व्यक्त गरे ।
भोलीसम्म चल्ने बैठकमा भाग लिन स्वास्थ्यका बरिष्ठ अधिकारी, विभिन्न निकायका प्रतिनिधिहरु सहितका कर्मचारीहरु अहिले बोडे पुगेका छन् ।