रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्थालाई चाहि मधुमेह भनिन्छ । हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । यो हर्मोन पेटमा अर्थात पेङक्रियाजले उत्पादन गर्छ । यसको उत्पादन कम भयो भने या हर्मोनले राम्रोसंग काम गर्ने अवस्था भएन भने रगतमा चिनीको मात्रा बढ्छ ।
रगतमा चिनीको मात्रा बढेपछि यसलाई हामी मधुमेह रोग लागेको भन्दछौँ । यसको समयमा सहि उपचार हुन सकेन भने बिभिन्न जटिलताहरु ल्याउँछ । विश्वमा ८.६ प्रतिशत मानिसलाई मधुमेह रोग लागेको अनुमान छ । नेपालमा पनि मधुमेहबाट प्रभावितहरुको प्रतिशत त्यहि हाराहारीमा रहेको अनुमान छ । हामीले गतवर्ष केही ठाँउमा गरेको स्क्रिनिङको तथ्यांक केलाउँदा परीक्षण गरिएका मध्ये ८.४ प्रतिशतमा मधुमेहरोग देखिएको थियो ।
मधुमेह भएको कसरी थाहा पाउने
सामान्यतया स्वस्थ मान्छेमा खाली पेटमा रगतको जाँच गर्दा सुगर लेभल १०० भन्दा कम या कुनै पनि बेला अर्थात रेन्डम जाँच गर्दा १४० भन्दा कम हुनुपर्छ ।मधुमेह रोग लाग्यो भन्नलाई खाली पेटको जाँच गर्दा सुगर लेभल १२६ भन्दा माथि र खाना खाएपछि २०० भन्दा माथि पुग्नु पर्छ । यो बीचको लेभल अर्थात खाली पेटमा १०० देखि १२५ सम्मको अवस्था र खाना पछिको १२६ देखि १९९ सम्मको अवस्थालाई प्रि डायबिटिजको अवस्था अर्थात मधुमेह हुने सम्भावना भएको अवस्था भनेर बुझ्नु पर्छ ।
कुन उमेरका मानिसहरु मधुमेहको बढी जोखिममा
मधुमेह दुई किसिमको हुन्छ । टाइप वान (प्रकार एक) र टाइप टू (प्रकार दुई) । प्रकार एक वाला मधुमेह बच्चाहरुमा देखिन्छ । यो प्रकारको मधुमेहमा शरीरमा इन्सुलिनको उत्पादन बन्द नै हुन्छ । अर्थात बाँच्नका लागि इन्सुलिन दिनैपर्छ । औषधिले काम गर्दैन । यो जन्मजात भन्न मिल्दैन जन्मेको केही बर्षपछि बच्चाहरुमा यस्तो अवस्था देखिन्छ ।
प्रकार दुई वाला मधुमेह अलि उमेर भएपछि देखिन्छ । तर हिजोआजको जीवनशैली र खानपानका कारण कम उमेरमै पनि यस्तो देखिएको छ । अहिले बच्चाहरुमै मोटो पन बढेकोले प्रकार दुईवाला मधुमेह देखिन थालेको बताइन्छ । नेपालमा पनि यसको प्रभाव देखिन थालिसकेको छ ।मधुमेह रोग पहिल्यै लक्षण देखिएर लाग्न पनि सक्छ, लक्षण विना नै लाग्न पनि सक्छ । विभिन्न अनुसन्धानले के देखाएको छ भने मधुमेह भएकाहरुमध्ये झण्डै ५० प्रतिशतले आफूलाई मधुमेह भएको छ भनेरै थाह पाउन सक्दैनन् । किनभने लक्षण नै हुँदैन् कतिपयलाई ।
पिसाव लाग्ने, पानी प्यास लाग्ने, खान बढी मन लाग्ने जस्ता जुन प्रमुख लक्षण भन्छौँ आधा जसोमा त्यो लक्षण नै हुँदैन । त्यसैले जति मधुमेहका रोगी छन आधालाई रोग भएको थाह छैन भन्ने अनुमान छ ।मधुमेहले महिला पुरुष भनेर भेदभाव गर्दैन ।
मधुमेह भएको कसरी थाहा पाउने
-खाना रुचेर पनि तौल घटदै जाने ।
-पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने ।
- मुख सुख्खा हुने, प्यास धेरै लाग्ने
-भोक बढी लाग्ने तर दुव्लाउदै जाने
-कमजोरी हुने र खुट्टाहरु झम्झमाउने
-खुट्टाहरु पोल्ने
-पिसावमा कमिलाहरु देखिने
-घाउहरु छिटो निको नहुने
मधुमेह रोगीलाई अन्य कुन कुन रोगको जोखिम
मधुमेह भएर नियन्त्रणमा राख्न सक्नु भएन भने यसले धेरै अंगलाई असर गर्न सक्छ । टाउको देखि खुट्टासम्म त्यममध्ये प्राय देखिने एउटा असर भनेको आँखामा हुने गर्छ । आँखाको पर्दालाई असर गर्छ । त्यहाँ असर गरेर रगत जम्छ । त्यसपछि त्यो आँखा च्यातिने र अन्धोपनमा हुन जाँने हुन्छ ।
नेपालमा मधुमेहका कारणले हुनसक्ने अन्धोपनको सम्भावना २५ गुना बढी हुन्छ । अर्को असर मिर्गौलामा असर गर्छ । मिर्गौलाबाट प्रोटिन लिक गराएर मिर्गौला फेल हुने सम्भावना पाँच गुनाले बढ्छ । मुटु हृदयघात, मस्तिस्कघात हुने सम्भावना दोव्वर हुन्छ ।पक्षघाते सम्भावन पनि धेरै नै हुन्छ ।
त्यसपछि खुट्टाको नसालाई समेत असर गरेर खुटाको घाउन निको नहुने र खुटामा काटनुपर्ने सम्भावना २० गुना बढी हुन्छ । यी मुख्य हुन तर अन्य फुटकर असरहरु भई रहन्छ । मधुमेह हुन नदिन के गर्ने ? मधुमेह मुख्य दुई प्रकारको हुन्छ । एउटा बंशजको आधार अर्थात परिबारको एक सदस्यलाई भयो भने त्यो जिनको आधारमा सन्तानहरुमा देखिने । यस्तो सम्भावना ५० प्रतिशत रहन्छ । अर्को भनेको जीवन शैली नै हो ।
त्यो भनेको मोटोपन नियन्त्रण हुन नसक्ने, व्यायममा कमी, खानपानमा गडबढी नै हो । चिल्लो गुलियो र क्यालोरी भएको खानेकुरा नै दुम्मन हुन । बंषाणुगत समस्या भएपनि जीवन शैली सुधार्नु भयो भने नरहने सम्भावना पनि हुन्छ । तर मेरो बंशजमा छैन भनेर जीवन शैली सुधारेन भने हुने सम्भावना बढि हुन्छ ।
सामान्य खानपान अपनाउनु नै राम्रो हो । तर त्यसमा बिचार पुरयाउनुपर्छ । क्यालोरी भएको चिज अर्थात भात, मैदा, आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो। शारीरिक परिश्रमको मात्रा बढाएको खण्डमा पनि मधुमेहलाई केही मात्रामा नियन्त्रण गर्न सकिन्छ ।