काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको ऊर्जा, इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक्स प्रदर्शनी एवं गोष्ठीको १०औं संस्करण ‘निक इलेक्ट्रो टेक २०२२’ यही मंसीर २२ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएकोे छ ।
नेपाल विद्युतीय व्यवसायी महासंघले ऊर्जा तथा विद्युतीय व्यवसायको समग्र विकास, आन्तरिक ऊर्जा खपतको अभिवृद्धि एवम् आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि ‘निक इलेक्ट्रो टेक २०२२’ आयोजना गरेको हो ।
महासंघले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय उर्जा तथा विद्युतीय व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आह्वान गर्दै प्रदर्शनीका लागि स्टल राखिएको जनाएको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूद्वारा उत्पादित ट्रान्समिसन तथा डिष्ट्रिब्यूसन सामाग्रीहरू, ऊर्जा उत्पादक यन्त्रहरू, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्रहरू, हाउस वायरिङ सामाग्रीहरू, वायर, केबल तथा कण्डक्टरहरू प्रर्दशनीमा राख्नेछन् ।
यस्तै, एलिडी लाइटिङ फिक्चर्स ट्यूब तथा चिमहरू, घरेलु विद्युतीय उपकरणहरू, इलेक्ट्रोनिक उपकरणहरू, कार्यालय प्रविद्यि, बहुसञ्चार सम्बन्धी उपकरणहरू, सूचना प्रविधि, विद्युतीय सवारी साधन तथा वैकल्पिक उर्जा कम्पनीहरू सहभागी हुन सक्नेछन् कम्पनीले जनाएको छ ।प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एन्ड मेनेजमेन्ट सर्भिसेजले गर्दैछ ।