काठमाडौं । आजभोलि उमेर बढ्दै गएका मानिसलाई श्वासप्रश्वाससम्बन्धी रोगहरूको किन धेरै च्याप्न थालेको छ ? किन बुढेसकालमा मानिस श्वासप्रश्वास बढी संवेदनशील हुन्छ ?
किनकी उमेर बढेपछि उनीहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । सामान्यतया, धेरैजसोले वृद्धवृद्धाहरूमा घट्दै गएको प्रतिरक्षा प्रणाली (इम्युन सिष्टम) का लागि बढ्दो उमेरलाई जिम्मेवार मान्छन् । तर एक नयाँ अध्ययनले यो सबैको पछाडिको कारक तत्त्व वायु प्रदूषण भएको देखाएको छ । दशकौँसम्म वायु प्रदूषणमा मानिसको रोग प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँदै लाने खुलासा उक्त अध्ययनले गरेको छ।
कोलम्बिया विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको त्यो अध्ययनले मानिसलाई उमेर बढ्दै जाँदा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिमका लागि दशकौँदेखिको वायु प्रदूषणका बस्नुलाई मानेको छ । नेचर मेडिसिन जर्नलमा प्रकाशित भएको अध्ययनको निष्कर्षका अनुसार दशकौँदेखि प्रदूषित हावामा श्वास फेर्दा त्यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँदै गएको देखाएको छ ।
अध्ययनका अनुसार श्वासप्रश्वासका क्रममा वायु प्रदूषणका रहेका सूक्ष्म कणहरू दशकौँसम्म फोक्सोसँग जोडिएको लिम्फ नोड्सको प्रतिरक्षा कोशिकाहरूमा जम्मा हुन्छ । जहाँ यी सूक्ष्म कणहरूले श्वासप्रश्वासको संक्रमणसँग लड्ने कोशिकाहरूको क्षमतालाई कमजोर बनाउँछ।
वृद्धवृद्धाहरू विशेष गरी श्वासप्रश्वासको संक्रमणको जोखिममा छन्। यो तथ्य कोभिड–१९ को महामारीका बेला पनि बाहिर आएको थियो। जब यो महामारीबाट मृत्यु हुनेमा युवाको तुलनामा ७५ वर्षभन्दा माथिका व्यक्तिको संख्या ८० गुणा बढी थियो। साथै, वृद्धवृद्धाहरू इन्फ्लुएन्जा र अन्य फोक्सोको संक्रमणको जोखिममा हुन्छन्।
कोलम्बिया विश्वविद्यालयका अन्वेषकहरूले सुरुमा प्रतिरक्षा प्रणालीमा वायु प्रदूषणको प्रभावहरू अध्ययन गरेका थिएनन् । यस सम्बन्धमा अध्ययनका प्रमुख अनुसन्धानकर्ता प्रोफेसर डोना फारबरले भन्छन्, ‘जब हामीले मानिसको लिम्फ नोड्सलाई हेर्यौ, हामी छक्क पर्यौँ, किनभने फोक्सोको लिम्फ नोड्स कालो रङको थियो, जीआई ट्र्याक्ट र शरीरका अन्य भागहरू अँध्यारो थिए।’
यो बुझ्नको लागि, शोधकर्ताहरूले युवा मानिसहरूबाट कोषिकाहरू सङ्कलन गरे, जसमा फोक्सोको लिम्फ नोडहरूमा उमेर सम्बन्धित भिन्नताहरू स्पष्ट रूपमा देख्न सकिन्थ्यो । उनीहरूले बालबालिका र किशोरकिशोरीहरूको फोक्सोमा भएको लिम्फ नोड्स खैरझ रङको भएको फेला पारे, जबकि ३० वर्षभन्दा माथिका व्यक्तिहरूबाट लिइएको नमूनाहरूमा लिम्फ नोडहरू पहेंलो कालो थिए, जुन उमेरसँगै अझ कालो हुँदै गयो।
प्रदूषणका कणको असर
प्रमुख अनुसन्धानकर्ता प्रोफेसर डोना फारबरका अनुसार जब उनको टोलीले ती काला लिम्फ नोडहरू अध्ययन गरे, ती नोडहरू वायु प्रदूषणका कणहरूले भरिएको पत्ता लाग्यो । फोक्सोको लिम्फ नोड्समा पाइने प्रदूषक कणहरू म्याक्रोफेजहरू, प्रतिरक्षा कोशिकाहरूमा रहेको टोलीले फेला पार्यो ।
यी प्रतिरक्षा कोशिकाहरूले ब्याक्टेरिया, भाइरस, सेलुलर फोहोर र शरीरमा अन्य सम्भावित खतरनाक पदार्थहरूलाई नष्ट गर्दछ। यी कणहरू भएको म्याक्रोफेज कोशिकाहरू विशेष गरी विकृत भएको अनुसन्धानले देखाएको छ । यो अन्य कणहरू लिन र साइटोकिन्स संकेतहरू पठाउन असक्षम थियो।
साइटोकाइन संकेतहरू यी प्रतिरक्षा कोशिकाहरू द्वारा पठाइएका ‘मद्दत’ संकेतहरू हुन्, जसले प्रतिरक्षा प्रणालीका अन्य भागहरूलाई सक्रिय पार्छ । अर्कोतर्फ, प्रदुषणका कणहरू नभएको लिम्फ नोडहरूमा, म्याक्रोफेजहरू अप्रभावित थिए।
प्रमुख अनुसन्धानकर्ता प्रोफेसर डोना फारबर भन्छन्, ‘यी प्रतिरक्षा कोशिकाहरू प्रदूषण कणहरूले अवरुद्ध हुन्छन्, जसका कारण तिनीहरू आवश्यक काम गर्न सक्षम हुँदैनन् । जसले हामीलाई रोगजनकहरूबाट जोगाउन मद्दत गर्छ।’
प्रोफेसर डोना फारबर भन्छन्, ‘यद्यपि, फोक्सोको प्रतिरक्षा प्रणालीमा प्रदूषणले कति असर गर्छ भन्ने कुरा हामीलाई अहिलेसम्म पूर्ण रूपमा थाहा छैन । यसले वृद्ध मानिसहरूमा धेरै खतरनाक हदसम्म श्वासप्रश्वास संक्रमण गर्दछ भन्ने स्पष्ट छ। यस्तो अवस्थामा वायु प्रदूषणको रोकथाम धेरै महत्त्वपूर्ण छ।
धेरै अनुसन्धान नभएपनि नेपालमा वायु प्रदूषणको समस्याले गम्भीर रुप लिइसकेको छ।जाडोको मौसममा त प्रदुषणको मात्रा अत्यधिक हुन्। बढ्दो प्रदूषणले विशेषगरी सहरी मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा जारी वायुको गुणस्तर मापदण्डलाई हेर्ने हो भने त हामी नेपाली विषालु हावामा श्वास लिइरहेका छौ ।
-आइएनएस-स्वतन्त्र समाचार