काठमाडौं । हामीले दैनिक उपभोग गर्ने तरकारी र फलफूलमा रसायनिक विषादीको प्रयोग बढ्दो छ। नेपालमा कृषि व्यावसायीकरणसँगै बढ्न गएको विषादीको आयात, किनबेच र प्रयोगले मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने विज्ञहरुले बताउँदै आएका छन्।
कृषिमा विषादीको प्रयोग न्यूनीकरणबारे एकदिने छलफल सम्पन्न भएको छ । खासगरी तरकारी पकेट क्षेत्रहरुमा कृषकहरुले विषादीको प्रयोग पर्याप्त जानकारी बिना र सुरक्षाको सावधानी नअपनाई विषादी प्रयोग गर्छन्। बढ्दो विषादीको प्रयोग न्यूनीकरणका लागि प्रांगारिक अर्थात् अर्गानिक खेतीको विकल्प अपनाउनुपर्ने नेपाल जनस्वास्थ्य प्रतिष्ठानका निर्देशक डा.महेश कुमार मास्के बताउँछन् ।
उनका अनुसार नेपालमा तरकारीमा प्रयोग गरिने औषधिको आयात बढ्दो छ। र, विषादीको प्रयोग पनि बढ्दो छ। विषादी जनस्वास्थ्यका हिसाबले कति ठूलो समस्या हो भन्ने कुराको नेपालमा अध्ययन भइसकेको छैन। तर पनि विषादी स्वास्थ्यका लागि नकारात्मक प्रभाव पार्ने तत्व हो भन्ने कुरा स्थापित भइसकेको छ। यद्यपि तरकारीमा प्रयोग गरिने विषादीले मानव स्वास्थ्यमा कस्तो खालको, कसरी र कति असर गरेको भनेर अनुसन्धान भने हुन सकेको छैन।
जति रासायनिक मलको प्रयोग बढ्दै जान्छ। त्यति नै माटोको उत्पादनशिलतामा पनि कमी आउँदै जाने उनको दाबी छ ।
त्यस्तै कृषि अनुसन्धान परिषद्का महानिर्देशक डा.दीपक भण्डारीका अनुसार विषादीले स्वास्थ्यमा दुई किसिमको असर गर्छ। पहिलो तत्कालीन र दोस्रो हो दीर्घकालीन। छालामा हुने विभिन्न प्रतिक्रिया र स्नायु सम्बन्धी समस्याहरु तत्काल पार्न सक्छ। कतियले त आत्महत्याको लागि पनि विषादीको प्रयोग गरिरहेका हुन्छन्। विषादीले दीर्घकालमा पार्ने प्रभावहरु भने बहुआयामिक हुन सक्छ। विषादीले शरीरको विभिन्न प्रणालीमा नकारात्मक असर पार्न सक्छ।
उक्त छलफलमा बोल्दै इडिसिडीका महानिर्देशक चुमनलाल दासले स्नायु प्रणालीमा समस्या ल्याउनेदेखि क्यान्सर, छाला सम्बन्धी रोग, मिर्गौला सम्बन्धी रोगदेखि नसर्ने रोगहरुलाई बढाउन सक्ने बताए ।