काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश र ललितपुर महानगरपालिका–१० कुपण्डोलमा रहेको प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्योपचार सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। महासंघका तर्फबाट प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी र क्लिनिकका तर्फबाट प्रबन्ध निर्देशक डा कजन रानाभाटले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
एक वर्षका लागि भएको सम्झौता २० मंसिर २०७९ देखि लागू भइसकेको छ। हस्ताक्षर कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मणि दाहाल र प्रतिष्ठान प्रदेशका महासचिव रामकुमार शाहीको समेत उपस्थिति थियो।
सम्झौता अनुसार प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश र सबै प्रतिष्ठान शाखाहरूमा आवद्ध, हाल रहेका १४६७ सदस्यहरू (पत्रकारहरू)लाई परिचयपत्रका आधारमा ओपीडीमा ५० प्रतिशत, प्रयोगशालामा ४० प्रतिशत र फार्मेसीमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ। पत्रकारहरूको विवरण प्रदेश समितिले क्लिनिकलाई उपलब्ध गराउनेछ।
साथै, क्लिनिका प्रबन्ध निर्देशक डा कजन रानाभाटले बताएका अनुसार प्रतिष्ठान आवद्ध पत्रकारका आश्रित परिवारका तीन जनासम्म सदस्यलाई सूची उपलब्ध भएपछि सोही छुट उपलब्ध हुनेछ।समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा डा रानाभाटले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशसँग द्विपक्षीय सम्झौता गर्न पाउँदा खुशी लागेको बताए। उनले यसले आफ्नो व्यवसाय विस्तारमा टेवा पुग्नुका साथै श्रमजीवी पत्रकारहरूलाई उपचार सेवामा राहत मिल्ने बताए।
क्लिनिकमा प्रजनन् स्वास्थ्य सेवा, कलेजो प्रत्यारोपण सेवा, स्त्री तथा प्रसूती सेवा, हाडजोर्नी, मधुमेह तथा थाइरोइड, ग्यास्ट्रोलोजी, मुटु रोग, सामान्यदेखि जटिल अप्रेसन सेवा, दन्त उपचार सेवा, मनोपरामर्श तथा उपचार, मिर्गौला सम्बन्धी उपचार सेवा, नाक, कान, घाँटी, बालरोग, स्नायु सेवा, टेस्टयुब बेबी, छाला सम्बन्धी सेवा, फिजियो थेरापी, स्तन क्यान्सरको उपचार र सम्पूर्ण ल्याब सम्बन्धी सेवा उपलब्ध रहेको डा रानाभाटले बताए। ब्रेन स्ट्रोक भएको व्यक्तिलाई ७ घण्टाभित्र क्लिनिकमा पुर्याए पुरानै अवस्थामा फर्काउन सकिने डा रानाभाटले बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मणि दाहालले प्रतिष्ठान प्रदेशले राम्रो कामको सुरुआत गरेको भन्दै प्रशंसा व्यक्त गरे। उनले यस किसिमको समझदारीले खासगरी श्रमजीवी पत्रकारहरूलाई गम्भीर स्वास्थ्य समस्या आउँदा उपचार र आर्थिक रुपमा राहत हुने विश्वास लिए।प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले नेपालको स्वास्थ्योपचार सेवा महंगो बन्दै गएका बेला प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकजस्तो आधुनिक र सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदायकसँग समझदारी गर्न पाएकोमा खुशी लागेको बताए। उनले यसले प्रतिष्ठान आवद्ध सबै श्रमजीवी पत्रकारहरूलाई राहत मिल्ने विश्वास व्यक्त गरे।