काठमाडौं । विराटनगरमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रममो बीच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राइले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन उद्घाटन गरेका हुन ।
सेभ द चिल्ड्रेन ग्लोबल फण्डको प्राविधिक तथा आर्थिक सहयोगमा प्रयोगशाला स्थापना भएको हो । प्रदेशमा सञ्चालित सबै स्वास्थ्य प्रयोगशालाहरूलाई नियमन गर्न साथै प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्ने उद्देश्यले यो प्रयोगशालाको स्थापना गरीएको बताइएको छ।
कार्यक्रममा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादव, जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयबेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममाबोल्दै मुख्यमन्त्री राईले स्वास्थ्य र शिक्षामा लगानी गर्न अत्यावश्यक रहेको र अब आउने सरकारले यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।
स्वास्थ्यमन्त्री यादवले यो प्रयोगशालालाई उत्तम अनुसन्धान केन्द्रको रूपमा अगाडी बढाउने कार्यका लागि प्रदेश सरकारको तर्फ बाट आफु प्रतिबद्ध रहेको बताए।
ग्लोबल फण्डको सहयोगमा स्थापनाभएको प्रयोगशालाले एचआइभी, क्षयरोग र मलेरीया मात्र नभई सम्पूर्ण रोगहरूको समयमै पहिचान, उपचार र निराकरणमा सहयोग पुर्याउने सेभ द चिल्ड्रेनका पूर्व फिल्ड कार्यालयका एसोसीएट डाइरेक्टर डा. अजयकान्तले बताए।
स्वास्थ्यमन्त्रालय र प्रदेश जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा सेभ द चिल्ड्रेन ग्लोबल फण्डले १०.५ करोड लागतमा प्रयोगशाला निर्माण गरेको हो । प्रयोगशाला ०७७ मंसिरबाट निर्माण सुरु भएकोमा ०७९ मंसिरमा सम्पन्न भएको हो।