कञ्चनपुर । कालीकोटको थिप्पु गाउँपालिका –१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँ सहर चहार्दै हिँडछन्। झोला बोकेर हिँडनु उनका लागि रहर नभएर बाध्यता हो। पाँच जनाको परिवारको खर्च धान्नका लागि तीन वर्षदेखि उनी जडीबुटी बेच्ने कार्यमा संलग्न रहँदै आएका छन् ।
“हिमाली जिल्लाबाट जडीबुटी खरिद गरी ल्याएर पहिला भारतमा बेच्थे”,उनले भने, “कोरोना महामारी फैलिएपछि दुई वर्ष जति भयो, भारतमाजस्तै यहाँ जडीबुटीको व्यापारमा लागेको छु।” भारतमा हुँदा उनले दैनिक दुई हजार भारतीय रुपियाँ जतिको कमाइ गरेको बताए। भारतमा कोरोना महामारी फैलिएपछि घर फर्केपछि उनको कमाइ घटेको छ। अहिले दैनिक रु पाँच सयदेखि रु एक हजारसम्म मात्रै कमाइ भएको उनको भनाइ छ।
“व्यापारमा कमाइको कुनै ग्यारेण्टी हुँदैन”, उनले भने, “व्यापार भनेको जुवाजस्तै हो, नसिव भए कमाइ हुन्छ, नभए हुँदैन। कुनै दिन धेरै हुन्छ, कुनै दिन केही पनि हुँदैन।” आज कमाइ भएन भनेर मन मार्न भने नहुने उनले बताए। ग्राहकलाई आफूले ल्याएको जडीबुटीबारे जानकारी दिन सकेमा मन जित्न सकेमा व्यापार नहुने कुरै छैन, त्यसका लागि धैर्य गरिरहेको उनले सुनाए।
जुम्लाबाट उनले तितो, कटुको, गदानो, पदमचाल, हिंग, सिलाजित, कालो नुन, सतुवा र जडीबुटी तेल ल्याएर बेच्छन्। जडीबुटीकै व्यापारबाट पाँच छोरा, दुई छोरीको घरको पूरै खर्च व्यहोर्दै आएको उनले सुनाए। “जडीबुटीकै व्यापारबाट दुई जना छोराललाई पढाउँदै छु” उनले भने, “दुई जना प्रहरीमा भर्ती भएर जागीरमा लागेका छन्, एक जनाले कपडाको व्यापार गर्छन्, छोरीको पढाइ खर्च जडीबुटीकै कमाइबाट पूर्ति भइरहेको छ।”
“बूढेसकालले छोप्नै लागे पनि घर बसेर हुँदैन, परिवार पाल्न व्यापारमा संलग्न भएको छु, दैनिक कैलाली र कञ्चनपुरका गाउँ र सहरमा डुलेर जडीबुटी बेच्छु, यसबाटै गुजारा चलेको छ” उनले थपे, “पहाडमा रहेको घर, जमिन भल पहिराले लियो, भारतमा कमाएको केही पैसा जोडेको थिएँ, त्यसबाट कैलालीको घोडाघोडी नगरपालिकाको गाउँमा घरबासका लागि जग्गा किनेर परिवार राख्नेसम्मको व्यवस्था मिलाएको छु।”
घर खर्चका लागि प्रहरीमा रहेका र व्यापारमा संलग्न छोराहरूले सहयोग गर्दैआएको उनको भनाइ छ। जितना लुगुरा उतना जाडो, नहि लुगुरा नहि जाडो अर्थात् जति पैसा भए पनि पुग्दैन, थोरै पैसा भए पनि त्यसमै सन्तोष छ, उनले भने।
भारत अर्काको देश हो, त्यहाँ डराएर व्यापार गर्नु पथ्र्यो उनले भने, “यहाँ व्यापार गर्न डराउनु पर्दैन, भाषाको समस्या छैन, सबैले भनेको कुरा बुझ्छन्, कोही कोही जडीबुटी बेच्छौं लाइसेन्स छ भनेर हप्काउने पनि भेटिन्छन, तर त्यस्ताको वास्ता गर्दैन, आफ्नै तरिकाले व्यापार गर्छु।”
राजबहादुर जस्तै बाजुरा स्वामिकार्ति गाउँका मनविरे लुहार पनि जडीबुटीको व्यापारमा संलग्न छन्। पहिला मनविरे भारतमा काम गर्थे। भारतमा कोरोनाको सङ्क्रमणका कारण लकडाउन भएपछि स्वदेश फर्के। त्यसपछि भारततर्फ जान सकेका छैनन्। उनले रोकायाजस्तै गनानो, कटुको, चिराइतो, मालिस तेल, सिलाजित, हिमाली घोडामाच्यो, जम्बु, यार्सागुम्बा बेच्दै आएका छन्। “केही जडीबुटी हिमाली जिल्लामा आफैँ गएर खोजेर ल्याउँछु” उनले भने, “केही जडीबुटी घरेलु उद्योगबाट किनेर बेच्छु, यसबाटै परिवारको खर्च चलेको छ।”
भारतमा जडीबुटी यसैगरी बेच्दा रु तीस हजार जति महिनाको कमाइ हुनेगरेको उनले सम्झिए। यहाँ जडीबुटीको व्यापारबाट मासिक रुपमा रु २५ हजार जति कमाइ हुनेगरेको उनले बताए। दुई छोरा, दुई बुहारी, तीन नातिनातिना, तीन छोरी र बूढाबूढीको लत्ताकपडा, खाना खर्च यसै व्यापारबाट चलेको उनले सुनाए।
उनले भने, “पहाडमा जीवन चलाउन निकै कठिन छ, सहज जीवनयापनको खोजीमा व्यापारमा संलग्न भएका छौँ, घडेरी जोडेर झोपडी बनाई परिवार यहाँ ल्याएर राखेका छौँ।”
तीन दशकदेखि जडीबुटीकै व्यापारमा संलग्न कालीकोटको पलाँटा गाउँपालिका –३ लार्पाका हरिबहादुर रोकायाले महिनाको रु २५ हजार कमाइ गर्छन्। यसबाटै उनको परिवारको खर्च चलेको छ। “उमेर ढल्कदै जान थाले पनि यस व्यापारबाटै जीविका चल्दै आएकाले छोड्न सकेको छैन”, उनले बताए। पहाडी जिल्लाबाट जडीबुटी बोकेर तराईका जिल्ला पुगेर व्यापार गर्नेको सङ्ख्या निकै धेरै रहेको उनको भनाइ छ। हिउँदका बेला पहाडी क्षेत्रबाट आउने व्यापारीमध्ये केहीले जडीबुटी र केहीले कम्बल, राडी, पाखी, स्वेटरलगायतका न्यानो कपडाको व्यापार गर्नेगरेको उनले बताए।
हिउँदको कात्तिक महिना तराई पुग्ने व्यापारीले वैशाख महिना शुरु हुनैलाग्दा आम्दानी गरेको पैसा बोकेर पहाडतर्फ फर्कनेगरेका छन्। गतिलो कमाइ गर्नेले तराईमै घरघडेरी जोडेर तराईमै बस्नसमेत थालेका छन्। पहाडबाट तराई झरेर व्यापार गर्ने कार्य दशकौँदेखि चल्दैआएको छ। बूढापाकाले परम्परागत रुपमा गर्दैआएको व्यापारलाई थाति राखे पनि युवाले पिठ्युमा भारी बोकेर गाउँ शहर चहार्दै व्यापार गर्न रुचाउँदैनन्। रासस