काठमाडौं । पछिल्लो पाँच वर्षमा स्तनपान गराउने आमाहरूको संख्या १० प्रतिशतले घटेको छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण ०२२ अनुसार हाल ५६ प्रतिशत आमाहरूले मात्र पूर्ण स्तनपान गराउने गरेको पाइएको हो । यसअघि ६६ प्रतिशत आमाले पूर्ण स्तनपान गराउँदै आएका थिए ।
पूर्ण स्तनपान गराउने महिलाको संख्या वर्षेनि घट्दै गइरहेको एनडिएचएसको अध्ययनले देखाएको छ । सन् १९९६ मा ७५, २००१ मा ६८, २००६ मा ५३, २०११ मा ७०, २०१६ मा ६६ प्रतिशत रहेको यो संख्या सन् २०२२ मा ५६ प्रतिशतमा झरेको छ ।
पुड्कोपनको समस्या ११ प्रतिशतले घट्यो
नेपालमा पुड्कोपनको समस्यामा पनि उल्लेख्य सुधार आएको पाइएको छ । एनडिएचएसको अध्ययनअनुसार नेपालमा पुड्कोपनको समस्या २५ प्रतिशतमा झरेको छ । पाँच वर्षअघि सन् २०१६ मा ३६ प्रतिशतमा पुड्कोपनको समस्या थियो ।
सन् १९७५ मा पोषणसम्बन्धि गरिएको अध्ययनले ७० प्रतिशत बालबालिका उमेरअनुसार बढ्न नसकेकोमा १९९५ मा आइपुग्दा ६८ दशमलव २ प्रतिशतमा झरेको थियो । यस्तै, सन् १९९८मा ६१ दशमलव १ प्रतिशतमा झरेको थियो ।
हाल पुड्कोपनको समस्या सबैभन्दा धेरै कर्णाली प्रदेशमा पाइएको छ । हाल पुड्कोपनकाको समस्याबाट प्रभावित रहेका बालबालिकामध्ये कर्णलीमा ३६ प्रतिशत रहेको पाइएको हो । यस्तै, मधेश प्रदेशमा २९, सुदूरपश्चिम प्रदेशमा २८, लुम्बिनी प्रदेशमा २५, प्रदेश १, गण्डकीमा २० र बागमती प्रदेशमा १८ प्रतिशत रहेको छ ।
महिलामा रक्तअल्पतामा सुधार
महिलामा रक्तअल्पताको समस्यामा भने सुधार देखिएको छ । प्रजनन उमेर समूह अर्थात १५ देखि ४९ वर्ष उमेर समुहमा गरिएको सर्वेक्षणले महिलामा रक्तअल्पतामा सुधार भएको देखाएको हो ।
२००६ सम्ममा ३६ प्रतिशत महिलामा रक्तअल्पता रहेकोमा २०१६ मा आइपुग्दा ४१ प्रतिशतमा पुगेको थियो । तर, पछिल्लो पाँच वर्षमा ७ प्रतिशतले घटेर ३४ प्रतिशतमा झरेको छ । जसमध्ये १८ प्रतिशतमा हलुका रक्तअल्पता, १५ प्रतिशतमा मध्यम र १ प्रतिशतमा गम्भीर किसिमको रक्तअल्पताको समस्या देखिएको हो ।