- डा. श्रद्धा श्रेष्ठ
काठमाडौं - थाइरोइड घाटिँको पछाडि पुतलीको आकारमा रहेको ग्रन्थि हो । यो ग्रन्थिबाट थाइरोक्जिन हर्मोन निस्कन्छ । यो हर्मोन शारीरिक विकास, हड्डिको विकास तथा घनत्व कायम राख्न, शरीरको तापक्रम ठिक मात्रामा बनाइ राख्न, भुण्रको मानसिक तथा शारीरिक विकास, शरीरको चयपचय जस्ता कार्यहरु कायम राख्न आवश्यक पर्छ ।
गर्भावस्था भन्दा अगाडि वा गर्भावस्थामा थाइरोइडको समस्या देखिएमा गर्भवती हुदाँ आमा र भुण्र दुवैमा जटिलता उत्पन्न हुनसक्छ । थाइरोइड हर्मोन परिमाण भन्दा बढि भए हाइपरथाइरोइडिजम भनिन्छ भने परिमाण भन्दा कम भएमा हाइपोथाइरोइडिजम भनिन्छ ।
हाइपोथाइरोइडिजम
लक्षणहरु
तौल बढ्ने, कपाल झर्ने, थकान तथा निन्द्रा धेरै लाग्ने, कब्जियत हुन,शारिरिक दुर्बलता, महिनावारी गडबढि तथा महिनावारी हुदाँ धेरै रगत बग्ने, चिसो सहन नसक्ने आदि ।
गर्भावस्थामा थाइरोक्जिन हर्मोनको आवश्यकता अन्य समयमा भन्दा ४० प्रतिशत बढि हुन्छ । आमामा रहेको थाइरोइड हर्मोन भुण्रको मानसिक तथा शारीरिक विकासलाई नभई हुदैँन । त्यसैले गर्भावस्था भन्दा अगाडि नै हाइपोथाइरोइड भएका महिलाहरुले गर्भ रहेको थाहा पाउने बित्तिकै इन्डोक्राइनोलोजिष्टसँग परिक्षण गराउनुपर्छ । साथै आफुले खाइरहेको औषधिको परिमाण चिकित्सकको सल्लाह अनुसार बढाएर खानुपर्छ ।
गर्भावस्थाभन्दा अगाडि थाइरोइडको समस्या नभएका महिलाले पनि गर्भ रहने बित्तिकै थाइरोइड हर्मोनको परिक्षण गर्नुपर्छ । हर्मोनमा समस्या देखिएमा तुरुन्त चिकित्सकसँग सल्लाह लिएर औषधि खानुपर्छ ।
जटिलता
शिशुमा शारीरिक तथा मानसिक विकास नहुने तथा शिशु पछि गएर सुस्त मनस्थितीको हुन सक्छ, कान नसुन्ने वा उचाइ कम हुने जस्ता समस्या आउँन सक्छ, गर्भमा हुदाँ अक्सिजनको कमी भई गर्भमा नै मुत्यु हुन सक्छ ।
आमामा प्रि इक्लाम्पसिया, समय भन्दा अगाडि प्रसुती पिडा लाग्ने, प्रसुतीमा धेरै रगत बग्ने, भुण्रको तौल कम हुने वा मृत शिशु जन्मन सक्छ ।
यी जटिलताबाट बच्ने उपाय र उपचार पद्धती
गर्भ रहने बित्तिकै रगतको परिक्षण गर्ने, यो समस्या गर्भ रहनु अघि वा गर्भ रहे पश्चात देखिएमा बिशेषज्ञको सल्लाह अनुसार औषधि सेवन गर्ने, गर्भावस्थामा प्रत्येक महिना रगत परिक्षण गराउँने, १८ देखि २० हप्तामा एनोमेली परिक्षण भिडियो एक्सरे बाट गराउँने र भुण्रमा समस्या रहेमा बिशेषज्ञसँग सल्लाह लिने , थाइरोइड स्टिमुलेटिङ हर्मोन २.५ भन्दा कम राख्ने, बिहान उठ्नासाथ खाली पेटमा औषधि खाने र सो औषधिसँग ग्यासको औषधि वा आइरन चक्कि नखाने, प्रसुती पश्चात औषधिको मात्रा चिकित्सकको सल्लाह अनुसार कम गर्न सकिन्छ, शिशुको ४८ देखि ७२ घण्टा भित्र रगत परिक्षण गर्ने र समस्या रहेमा बिशेषज्ञको परामर्श अनुसार औषधि सुरु गर्ने । यस्तो अवस्थामा शिशुको जन्म नर्मल भजाइनल डेलिभरीबाट नै गर्न सकिन्छ तर अन्य समस्या रहेमा मात्र सिजेरियन सेक्सन गर्नुपर्ने हुन्छ ।
कस्ता महिलामा हाइपो थाइराइडको जोखिम
तौल बढि भएमा, बंशानुगत थाइरोइड सम्बन्धि समस्या भएमा, एन्टि टिओपि एन्टिबडि पोजिटिभ भएमा, उमेर ३५ बर्ष भन्दा माथी भएमा, अन्य अटो इम्युन रोग भएमा, थाइरोइडको शल्यचिकित्सा वा आयोडिन थेरापीलिएमा, आयोडिनको कमी भएको क्षेत्रमा बसोबास गरेमा।
सब क्लिनीकल हाइपोथाइराइडिजम
अर्थात एन्टिबडि ft3 / ft4 नर्मल, TSH बढि तर २० भन्दा कम भएको अवस्था हो । यस्तो अवस्थामा महिलाहरुले एन्टि टिओपि एन्टिबडिको रगत परिक्षण गर्नुपर्छ । केहि गरी एन्टिबडि नेगेटिभ भएमा TSH !) भन्दा माथी रहेकाले पनि चिकित्सकको सल्लाह अनुसार औषधि खानुपर्छ, TSH !) भन्दा कम भएमा पनि चिकित्सकको सल्लाह अनुसार औषधि खानुपर्छ ।
हाइपरथाइराइडिजम
गर्भावस्था भन्दा अगाडि ०.४ प्रतिशत देखि १ प्रतिशत महिलाहरुमा यो रोग Graves disease वा अटो इम्युन डिजिजले गर्दा हुन्छ भने यहि कारणले ०.२ प्रतिशत महिला गर्भावस्थामा हाइपर थाइरोइड अथवा थाइरोटक्सिकोसिसबाट पिडित हुन्छन् ।
लक्षणहरु
तौल कम हुनु, मुटु ढुकढुक गर्नू , धेरै पसिना आउनु, हात सधैँ पसिनाले बिझ्नु, आँखाहरु गडिनु र ठुलो देखिनु, कपाल झर्नु ,गर्भ बस्ने गाह्रो हुनु ,अत्याधिक वाकवाकि लाग्नु
जटिलता
शिशुमा जन्मजात बिकृती (मुटु, मिर्गौला तथा मस्तिष्कमा समस्या), मुटुको धड्कन धेरै बढ्नु, अटोइम्युन Graves disease हुनु, तौल कम हुनु , गलगाँड हुनु ,मुटु सम्बन्धि रोग हुनु ,गर्भमा नै मुत्यु हुनु
आमामा आफै बच्चा तुहिनु, समय भन्दा अगाडि प्रसुती पिडा लाग्नु, भुण्रको तौल कम हुनु, थाइरोइड स्ट्रोम (यो एक प्रकारको आकस्मिक जटिलता हो, तुरुन्तै अस्पताल लग्नुपर्छ ) ,प्रि इक्लाम्पसिया हुनु हार्ट फेल हुने ।
उपचार पद्धती
गर्भावस्थाभन्दा अगाडि Graves disease भएका महिलाहरुले सके सम्म नर्मल भएपछि मात्र बच्चाको योजना गर्ने ,नर्मल नभएकाहरुले रेडियो आयोडिन थेरापि लिएको भएमा ६ महिना देखि एक बर्षपछि मात्र गर्भाधारण गर्ने, गर्भावस्थामा थाइरोटक्सिकोसिस भएमा मुखले खाने औषधि बिशेषज्ञको सुझाव अनुसार खाने र यस औषधिले भुण्रमा जटिलता हुने भएकाले बिशेषज्ञको सल्लाह अनुसार मात्र प्रयोग गर्ने, रोग काबुमा नआएमा गर्भावस्थाको ४ देखि ६ महिनामा थाइरोइड सर्जरी गर्न सकिन्छ, भुण्रमा कुनै असर छ या छैन १८ देखि २० हप्तामा युएस्जि वा भिडियो एक्सरेको मार्फत हेर्न सकिन्छ, प्रसुती स्वभाविक रुपमा गर्न सकिन्छ, प्रसुती पश्चात दुध खुवाउने समयमा कुन औषधि र कती डोजको औषधि खाने बिशेषज्ञको परामर्श लिनुपर्छ, शिशु जन्मिएको ४८ देखि ७२ घण्टा भित्र थाइरोइड जाँच गर्नुपर्छ ।
पहिलो तिन महिनामा गर्भावस्थामा हुने हर्मोनको उतार चढावले धेरै वाकवाकी लागेर थाइरोटक्सिकोसिस जस्तो लक्षण देखिन सक्छ । तर सो महिलालाई कुनै पनि औषधिको आवश्यकता रहदैँन र पहिलो ३ महिना पश्चात आफै नियन्त्रणमा आउँछ ।
थाइरोइड सम्बन्धि रोग एक जटिल तथा राम्ररी उपचार नगरेमा धेरै जोखिम हुने रोग हो । स्वस्थ आमा तथा स्वस्थ शिशुको जन्म गराउनको लागी यस सम्बन्धि रोगको समयमा नै उपचार गराउनुपर्छ र साथै कुनै किसीमको हेलचेक्राइ गर्न मिल्दैन ।
(डा. श्रेष्ठ बल्खुस्थित वयोधा अस्पतालमा कन्सल्ट्याण्ट इन्डोक्राइनोलोजिष्टको रुपमा कार्यरत छिन् ।)