विराटनगर । नव निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित राम आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका छन् ।
चुनावका बेला गरेको बाचा पुरा गर्दै डा.शर्माले आफु निर्वाचित भएपछि व्यक्तिगत रुपमा विद्यार्थीलाई सहयोग गर्नुका साथै विद्यालयका तीन वटा कक्षा कोठामा कार्पेट पनि बिच्छाइदिएका हुन् ।
सांसद शर्माले व्यक्तिगत तवरबाट विद्यार्थी र विद्यालयलाई करिब तीन लाख मूल्य बराबरको सहयोग प्रदान गरेको विद्यालयका प्रद्यानाध्यापक दिलकुमार श्रेष्ठले बताए । कक्षा ५ सम्म पढाई हुँदै आएको सो विद्यालयमा १६९ विद्यार्थी अध्ययनरत छन् ।
त्यहाँ अधिकांश दलित र जनजाति समुदायका विपन्न परिवारका विद्यार्थीहरु अध्ययन गर्ने गर्छन् । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुलाई डा.शर्माले एकसरो न्यानो कपडा, छ–छ थान कपी र १०–१० वटा कलम प्रदान गरेका हुन् ।
त्यस्तै, विद्यार्थीको पढाईमा सहजताका लागि बाल विकास केन्द्रको एउटा कोठा र कक्षा एकको दुई वटा कोठामा बाक्लो कार्पेट पनि बिच्छाइएको हो । सहयोग प्रदान गर्न विद्यालयमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सांसद शर्माका वुवाआमा लोकनाथ र होमादेवी न्यौपानेले छोराको तर्फबाट विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका छन् । चुनावको बाचा अनरुप विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको सांसद शर्माकी धर्मपत्नी एवं नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले बताइन् । शर्मा दम्पतीको बैवाहिक बर्षगाँठको अवसर पारेर सहयोग प्रदान गरिएको हो ।
डा.शर्माले चुनावका बेला गरेका बाचा भटाभट पुरा गर्दै गरिरहेका छन् । चुनावी बाचा अनरुप उनले आफु निर्वाचित भएको भोलिपल्टै नोबेल अस्पतालमा ५० शैयाको क्याविन चुनावी क्षेत्रका जनतालाई निःशुल्क प्रयोगका लागि छुट्याइदिएका छन् ।