काठमाडौं । सिस्नोलाई लिएर अनेक तर्क र बितर्क पाइन्छन् । यो कुनामा पारिएको वनस्पति हो । सिस्नोको शब्द सुन्नसाथ दुःख र गरिबीसँग मजाक उडाइन्छ यो देखावटी समाजमा।
तर जब रोग लाग्छ अनिमात्र यसको महत्व थाहा पाइन्छ । तर, गरिबको घरमा प्रायः दैनिकीजसो नै सिस्नोको तरकारी बनाइएको हुन्छ।
सिस्नोमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइवर, फस्फोरस र आइरनजस्ता तत्त्व पाइन्छन् ।
यही तथ्य बुझेर होला पछिल्लो समय सिस्नोले धनीहरूको भान्सामा पनि पर्न थालेको छ । साना रेष्टुराँदेखि पाँचतारे होटलसम्म यसका परिकार अहिले बन्ने गर्छन् ।
औषधीय गुण
-सिस्नोमा पाइने फलामले महिलामा रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ ।
-कपाल झर्ने समस्या र डन्डिफोर, दादलगायत छालाका रोग निर्मूल पार्नसमेत सिस्नो उपयोगी हुन्छ ।
-पाचन प्रणाली मजबुत बनाउन सहयोग गर्दछ । साथै, अपचको समस्या समाधान गर्छ ।
-हाडजोर्नी दुख्ने वा बाथको समस्या भएका मानिसले सिस्नोको झोल खाएमा राहत मिल्छ ।
-सिस्नो नियमित सेवन गर्दा मधुमेह र मुटुरोगबाट बच्न सकिन्छ ।
-यसले डिएनए क्षयीकरण हुनबाट बचाउनुका साथै नयाँ कोष निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ।
उपयोग विधि
-सिस्नोलाई राम्ररी पखालेपछि उमालेर तरकारी पकाउन सकिन्छ । यसको तरकारीमा नुन, खुर्सानी, लसुन, टिमुर आदि हाल्न सकिन्छ ।
-सिस्नो मसिनो गरी काटेर घाममा सुकाई धुलो बनाउने । उक्त धुलोलाई तरकारी र सुपमा राखेर पनि खान सकिन्छ ।
सिस्नोलाई राम्ररी पकाएर भात तथा मकैको च्याख्लासँग मज्जाले खान सकिन्छ । आजभोलि सिस्नोको चिया खाने चलन पनि छ । ग्रिन टी जसरी नै सिस्नोको धुलो हालेर चिया बनाउन सकिन्छ ।