काठमाडौं । कोरोना होस् वा अन्य कुनैपनि भाइरल इन्फेक्सनबाट जोगाउनका लागि शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु आवश्यक हुन्छ । तर, तपाईंको रोग प्रतिरोधात्मक क्षमता कमजोर भयो भने त्यसले तपाईंलाई रोगसँग लड्न मद्दत पुग्दैन ।
कुनैपनि रोगबाट लड्नका लागि सबैभन्दा पहिले त रोग प्रतिरोधात्मक क्षमतलाई नै बलियो बनाउनुपर्छ । अन्यथा रोगले चाँडै सङ्क्रमण गराउने हुन्छ । तर, त्यसका लागि शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा देखिने सङ्केतबारे जानौंः
निरन्तर थकान महसुस भइरहने:
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूमा निद्रा पूरा भएपनि थकान महसुस हुने गर्छ । त्यसकारण, निद्रा पूरा भएपनि यदि थकान निरन्तर महसुस भइरहेको छ भने तपाईंको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको बुझ्नुपर्छ।
रुघाखोकीः
पटकपटक रुघाखोकी लागि रहनु या लामो समयसम्म रुघाखोकी हुुनु पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको सङ्केत हो ।
पेटको समस्याः
प्रायः झाडापखाला लाग्ने, सुन्निने र कब्जियत जस्ता पेटसँग सम्बन्धित समस्या भइरहन्छ भने तपाईंको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको बुझ्नुपर्छ ।
तनावमा हुनुः
अत्यधिक तनाव लिने व्यक्तिमा कुनैपनि रोगको सङ्क्रमणसँग लड्ने सेतो रक्तकोष कम हुन थाल्छ । त्यसकारण तनाव बढी लिनु हुँदैन ।
घाउ निको हुन समय लाग्ने :
यदि तपाईंको शरीरमा कुनैपनि घाउ छ र त्यो निको हुन लामो समय लागेको छ वा लाग्ने गरेको छ भने पनि त्यो कमजोर रोग प्रतिरोधात्मक क्षमताको सङ्केत हो ।
मुखमा घाउ हुनुः
विशेषगरी बी कम्प्लेक्सको कमीले मुखमा सेतो सेतो छाला फुटेको घाउ आउने गर्छ । साथै गिजाहरूपनि सुन्निने गरेको छ भने त्यो रोग प्रतिरोधात्मक क्षमता कमजोरका कारण हुन्छ ।
भिटामिन डीको कमी :
जो व्यक्तिमा भिटामिन डीको कमी हुन्छ, ती व्यक्तिमा पनि रोेग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । विभिन्न कारणले गर्दा मानिसमा यी समस्या देखिने गर्छ । जानीजानी कोही पनि रोगी बन्न चाहँदैन।
त्यसकारण, आफ्नो शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनका लागि सन्तुलित र स्वस्थ खानपान नियमित गर्नुपर्छ भने व्यायाम पनि गर्नु आवश्यक हुन्छ । खानपानका लागि आहार विशेषज्ञ र व्यायामका लागि प्रशिक्षकलाई सम्पर्क गर्नु झन् उचित हुन्छ।