- भागिरथी पण्डित
काठमाडौं - सिप जसले व्यक्तिलाई सक्षम र सबल बनाउँछ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ८ का महिलाहरु घरायसी काम सकेर खालि समयमा गलैचा बुन्ने गर्दछन् । उनिहरु आफ्नो आवश्यकता पुरा गर्न कसैको अगाडि हात फैलाउदैनन् । आफ्नै पौरखमा आत्मनिर्भर छन् । आर्थीक रुपमा सबल छन् ।
हामी बिहानको ११ बजे तिर त्यहाँ पुग्दा महिलाहरु कोहि गलैचाको तान लाउदै थिए भने कोहि गलैचा बुन्दै गरेका भेटिए । महिलाहरु गलैचा बुनाईप्रती आकर्षित देखिन्थे ।
सडक छेउमै थियो डोल्मा तामाङको घर । उनी गलैचा बुन्दै थिइन् । उनि भन्छिन् खेतबारी धेरै छैन । असार र मंसिरमा १० दिन काम गरे खेतबारीको काम सकिन्छ । अरु समयमा बिहान घरधन्दा सकेर बालबालिकालाई विद्यालय पठाए पछि फुर्सद हुन्छ । गाँउमा गएर कुरा गरेर समय खेर फाल्नुभन्दा गलैचा बुन्ने गर्छु । आफुलाई खर्च गर्न पैसा हुने फुर्सदकोे समय सदुपयोग पनि हुने ।
हेर्दा सोह्र सत्र बर्षको देखिने प्रतिमा तामाङ गलैचा बुन्नमा अब्बल थिइन् । उनी भन्छिन् सानो छदाँ आमाले बुनेको हेरेर नै सिके । बिहान कलेज जान्छु, दिउँसो गलैचाँ बुन्छु । आफ्नो पढाई र अन्य आवश्यक खर्च गर्न बाबा आमासँग पैसा माग्न परेको छैन ।
सिमा तामाङ संगितको तालमा रमाउदै गलैचाँ बुन्दै थिइन् । उनका अनुसार गलैचा बुन्न सुरु गरेपछि घरको केहि काम भए घरका अन्य सदस्यहरुले गर्छन । मलाई घरको कामको बोझ छैन । आफ्नै सुरमा काम गर्न पाउँछु । परिवारको साथले गलैचा बुन्न झन प्रेरित गर्छ । यसलाई नै आफ्नो व्यवसायको रुपमा अंगालेको छु । सानो तिनो खर्चका लागी क्रृुण काट्नु परेको छैन । घरखर्चको जोहो भएको छ ।
ग्रामिण भेगमा बसोबास गर्ने कृषिमा निर्भर अभिभाबकहरुलाई आफ्नो बालबालिकाको आधारभुत आवश्यकता पुरा गरिदिन पनि धौँ धौ हुन्छ । गलैचा बुनेर आफ्नो बालबालिकालाई राम्रो विद्यालय पढाउन थालेको माया तामाङले बताइन् ।
यस्तै सिप अन्य महिलाहरुलाई प्रदान गर्ने हो भने उनिहरु पनि सबल महिला हुने थिए । महिलाको सीप विकास र क्षमता अभिवृद्धि गरेरै उनीहरूलाई उद्यमी बन्न प्रेरित गर्न सकिन्छ भन्ने यस ठाँउका महिलाहरुले पुष्टि गरेका छन् ।
त्यस ठाँउमा अधिकाशं महिलाहरु अशिक्षित छन् । तर उनिहरुको हातमा भने सिप छ । यहि सिपले उनिहरुको जिवनयापन सहज भएको छ । अधिकाशं महिलाहरुले अरुले बुनेको हेरेर नै गलैचा बुन्न सिकेका छन् ।
कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा महिलाको भए पनि पेशा र व्यवसायमा भने महिलाको उपस्थिति न्यून छ । हालसम्म महिलाहरु घरधन्दा बाट बाहिर ब्यूटीपार्लर, सिलाईबुनाईजस्ता काममा मात्र सीमित छन् । ग्रामिण भेगका महिलाको शैक्षिक अवस्थामा सुधार ल्याई उपयोगी सिप प्रशिक्षण गराउने हो भने कुनै महिला अरुमा निर्भर हुनु पर्दैनथ्यो होला ।
महिलाको अत्याधिक सहभागिता रहेको क्षेत्र साना, मझौला तथा घरेलु उद्योग नै हो । तर, यस क्षेत्रमा पनि महिला उद्यमीको संख्या एक तिहाई नाघ्न सकेको छैन । घरेलु तथा साना उद्योग विकास समितिको तथ्यांक हेर्ने हो भने साना तथा घरेलु उद्यमीहरूमध्ये महिलाको हिस्सा २०६५ सालमा करिब १८ प्रतिशत थियो भने २०७१ सम्म आइपुग्दा ३० प्रतिशत पुग्यो र २०७४ सम्ममा यो संख्या ३३ प्रतिशत मात्रै पुगेको देखिएको छ ।
राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले पनि समय समयमा विभिन्न तालिमहरु सञ्चालन गर्ने गरेको छ । प्याट्रन सिलाई कटाइ, हाते ईम्ब्रोइडरी, मेसिन ईम्ब्रोइडरी, मखमल जुत्ता, डल बनाउने, बेकरी उत्पादन, खाद्य प्रशोधन, कागज वस्तु र स्क्रिन प्रिन्ट, ह्विल थ्रोईङ्ग, प्लम्बिङ्ग, हाउस वायरिङ्ग, हाते कागज र फेल्ट वस्तु उत्पादन, क्रिष्टल सामाग्री उत्पादन, रबरमोल्ड र रेग्जीन वस्तु उत्पादन, ब्युटीसियन सम्बन्धि तालिम प्रदान गर्दै आएको छ ।
यस्ता साना उद्योगहरुले पनि महिलाहरुलाई आत्मनिर्भर बन्नमा सहयोग गरीरहेको छ । घरमै घरेलु तथा साना उद्योगबाट अम्दानी गर्न सकिने धेरै उदाहरणहरु हाम्रो सामु छन् । त्यसमध्येकोे गलैंचा बुनाई एक हो ।
महिला उद्यमशिलता विकासका लागि कस्ता छन् नीतिगत व्यवस्था
औद्यौगिक नीति २०६७
महिलाको नाममा मात्र उद्योगदर्ता गरिएमा त्यस्तो उद्योग दर्ता गर्दा लाग्ने दर्ता दस्तूरमा ३५ प्रतिशत छुट ।
महिलाको नाममा मात्र दर्ता भएको उद्योगलाई औद्योगिक सम्पत्ति पेटेण्ट, डिजाईन र ट्रेडमार्क दर्ता गराउँदा लाग्ने दस्तूरमा २० प्रतिशत छुट दिईने ।
आर्थिक विधेयक, २०७४
महिला, दलित वा अपाङ्गहरू मध्ये कम्तीमा ३३ प्रतिशतलाई समेत समावेश गरी एक सय जनाभन्दा बढी नेपाली नागरिकलाई वर्षभरी प्रत्यक्ष रोजगारी दिएको विशेष उद्योगलाई उक्त वर्षको आयमा लाग्ने करको असी प्रतिशत मात्र कर लगाइने ।
महिला, सत्तरी वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिक र नाबालकको नाममा जुनसुकै प्रकारबाट स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा लगाइएको रजिष्ट्रेशन दस्तुरमा पच्चीस प्रतिशत छुट हुनेछ । तर एकल महिलाको हकमा भने ३५ प्रतिशत छुट हुनेछ ।
आयकर ऐन, २०५८
पारिश्रमिक आयमात्र भएको बासिन्दा प्राकृतिक व्यक्ति महिला भएमा कर रकममा १० प्रतिशत छुट ।
विशेष आर्थिक क्षेत्र ऐन, २०७३
विशेषआर्थिक क्षेत्र प्राधिकरणको सञ्चालक समितिमा महिला उद्यमी महासंघको अध्यक्ष वा निजले तोकेको सदस्यलाई समितिको सदस्यमा रहने व्यवस्था ।
महिला उद्यमशीलता विकास कोष सञ्चालन कार्यविधि, २०६९
महिलालाई उद्यमी बन्न प्रोत्साहन गर्न, महिलाको नाममा उद्योगको स्थापना, सञ्चालन, प्रवर्द्धन एवम् प्रविधि विकासमा सहयोग पुर्याउन बिना धितो कर्जा प्रवाह गर्न महिला उद्यमशीलता विकास कोषबाट एक आर्थिक वर्षमा ५ लाखसम्म ६ प्रतिशतको ब्याज दरमा कर्जा प्रवाह हुने व्यवस्था छ ।