बाजुरा । जिल्ला अस्पताल बाजुरामा सुरक्षित प्रसूति गराउने डाक्टर नहुँदा अछाम रिफर भएकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छन्। गौमुल गाउँपालिका ३ माँझपालीकी २१ वर्षिय भाग्य चँदारालाई स्थानीय स्वास्थ्य चौकीले जिल्ला अस्पताल पठाएको थियो।
अस्पतालमा आकस्मिक प्रसूति सेवा दिने डाक्टर नभएपछि चँदारालाई अछामको बयालपाटा अस्पताल रिफर गरियो। तीन घण्टाभन्दा बढी समय लाग्ने अछामको बयालपाटा अस्पताल नपुग्दै उनले बाटोमै बच्चा जन्माएकी हुन् ।
चँदाराले बुढीगंगा नगरपालिकाको बार्जुगाड नजिकै बाटोमै बच्चा जन्माएको गौमुल गाउँपालिकामा कार्यरत अनमी रमा रोकायाले बताइन्। अस्पतालमा स्थायी दरबन्दीका चिकित्सक नभएको र करारमा राखिएका डाक्टरहरु बिदामा बस्दा आकस्मिक प्रसूति सेवा रोकिएको अस्पतालका अध्यक्ष मानबहादुर कार्कीले बताए।
करारमा राखिएका चिकित्सकहरु डा सुनिल कमार शाह, डा बिपुल चौधरी र डा जस्मिता बलमपाकी एकसाथ बिदामा छन्। बाजुरामा सुरक्षित प्रसूति सेवा नहुँदा तीन वर्षमा ८ जना सुत्केरीको मृत्यु भइसकेको छ।
एमडिजिपी डाक्टर रोक्न बझाङका सांसद् सक्रिय
बाजुरामा झन्डै ६ वर्षदेखि एमडिजीपी चिकित्सक छैनन्। अनिवार्य आवश्यकता भन्दै पटक-पटक स्वास्थ्य मन्त्रालयमा डाक्टरको लागि पहल गरिएको अध्यक्ष कार्की बताउँछन्। अध्यक्ष कार्की र बडिमालिका नगरपालिका प्रमुख अमर खड्काले पटक-पटक स्वास्थ्य मन्त्रालयलाई दबाब दिएपछि मन्त्रालयले एकजना एमडिजिपी डाक्टर पठाउने निर्णय गरेको छ।
निक साइमन इन्सिच्युटको सहयोगमा अध्ययन गरेका डा प्रेरित देवकोटालाई बाजुरा अस्पताल सरुवा गरिएको हो। बाजुरा जानका लागि उनले यसअघि कार्यरत अस्पतालबाट बिदा लिएर बाजुराको नियुक्ति बुझेका छन्। अध्यक्ष कार्की आफैं स्वास्थ्य मन्त्रालय पुगेर त्यसका लागि पहल गरेका हुन्।
तर, डा देवकोटाको सरुवा भएको जानकारी पाउने बित्तिकै जिल्ला अस्पताल बाजुराका प्रमुख रहेका डा मिलन जोशी उनलाई रोक्न सक्रिय देखिएका छन्। आफ्ना नातेदार रहेका बझाङबाट निर्वाचित एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीमार्फत् देवकोटालाई रोक्न दबाब दिएका हुन्। दक्ष तथा आफू भन्दा वरिष्ठ चिकित्सक आउँदा आफ्नो हालीमुहाली नहुने भन्दै उनी रोक्न सक्रिय भएका हुन्।
सरुवा रोक्न माथिल्लो तहबाटै दबाब आउन थालेको मन्त्रालयका एक कर्मचारीले बताए। उनले भने, 'सरुवा रोक्न दबाब आएको छ। तर दुर्गममा जान तयार डाक्टरलाई रोक्नुहुँदैन भनेर हामीले भनिरहेका छौं। उहाँलाई हामीले पत्र दिइसकेकाले जानुहुन्छ।'
यसअघि पनि एकजना डाक्टर जिल्ला जान तयार भएपनि डा जोशीले रोक्न लगाएका थिए। यसैगरी स्वास्थ्य मन्त्रालयले बाजुरा खटाएका एक डाक्टरले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको 'पावर' लगाएर अन्तै सरुवा मागेका थिए। हाल बाजुरा सरुवा भएका एमडिजिपी डाक्टर देवकोटाले शनिबार गते काठमाडौंबाट बाजुरा जाने बताए।