काठमाडौं । कोसी अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नियमित काम गर्दापनि समयमा तलब नपाएको भन्दै विराटनगरको कोसी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारी आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
अस्पताल विकास समितिबाट करारमा नियुक्त भएका १ सय २१ जना चिकित्सक र कर्मचारीले कात्तिक र मंसिर महिनाको तलब पाएका छैनन् । नियमित काम गर्दापनि तलब नपाएको भन्दै उनीहरुले आइतबार बिहान १ घण्टा अस्पताल प्रशासनअगाडि धर्ना दिए । आन्दोलनका कारण बिहान १० बजेदेखि ११ बजेसम्म अस्पतालको ओपीडी सेवा बन्द भएको थियो ।
विकास समितिले चिकित्सक, स्टाफ नर्स, हेल्थ असिस्टेन, अनमी, फार्मेसी सहायक, ल्याब टेक्निसियन, खरिदार, मुखिया, चालक, कार्यालय सहयोगीसहित गरेर १ सय २१ जनालाई करारमा नियुक्त गरेको थियो । समितिको नियमित बैठक बस्न नसक्दा उनीहरुको करार अवधि पनि थप हुन सकेको छैन ।
कारार अवधि थप नहुँदासमेत अस्पतालमा उपस्थित भएर उनीहरुले नियमित काम गरिरहेका छन् । चिकित्सक र कर्मचारी आन्दोलित बनेपछि अस्पतालको सेवा प्रभावित बनेको छ । अस्पतालका फिजिसियन डा. रोशन खड्काले २ महिनासम्म तलब नपाएपछि बाध्य भएर आन्दोलन गर्नु परेको बताए ।
‘काम गरेको दुई महिना पूरा भइसक्दा पनि तलब पाइएन । करारकाले मात्रै तलब नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको हो,’ उनले भने, ‘पहिलो दिन सांकेतिक आन्दोलन स्वरूप १ घण्टा धर्ना दिएका छौँ ।
तत्काल तलबको व्यवस्था नगरिए चरणबद्ध आन्दोलनमा उत्रने तयारी छ ।’ डा. खड्काका अनुसार अस्पतालको सेवा प्रभावित हुन नदिन चिकित्सक र कर्मचारीलाई तत्काल तलबको व्यवस्था हुनुपर्छ । आन्दोलनअन्तर्गत सोमबार हातमा कालोपट्टि बाँधेर र मंगलबार अस्पताल परिषरमै बिरामीको उपचार गर्ने चिकित्सकको तयारी छ । अस्पतालले विगत ७ वर्षदेखि स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिएको छैन ।
कोसी अस्पताल विकास समितिको बैठक २ महिनादेखि बस्न सकिरहेको छैन । बैठक नबस्दा करारमा नियुक्त भएकाको म्याद थप हुन नसकेको हो । जसका कारण नियमित काम गरिरहेकाहरुले तलब पाउन सकिरहेका छैनन् । विकास समितिको बैठकले करारमा नियुक्त भएका चिकित्सक र कर्मचारीको म्याद थप गरेपछि उनीहरुले तलब पाउने व्यवस्था छ ।