गुल्मी । ग्रामीण भेगमा अझै पनि भान्सामा परम्परागत चुलोको प्रयोग गर्नाले दमका रोगी बढेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशलाई दमको समस्या देखिएको छ।
चन्द्रकोट –४ का बलबहादुर पुन उमेरले ८५ वर्षको पुगे । उनलाई दमसम्बन्धी समस्या पहिलेदेखि नै थियो तर, गाउँपालिकाको केन्द्र शान्तिपुरमा विशेषज्ञ डाक्टरसँग जाँच गराएपछि मात्र यसको बढी असर घरकै चुलोबाट भएको उनले थाहा पाए ।
चुलोबाट निस्कने धुवाँका कारण उनलाई फोक्सोसम्बन्धी दमले च्यापेको छ । “घरमा सधैँ चुलोमै खाना पाक्छ, धुवाँ हुन्छ तर यसको असर मलाई थाहा थिएन”, उनले भने, “डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो। ”
चन्द्रकोट–३ का शिवलाल न्यौपाने पनि डाक्टर आएको थाहा पाएपछि शान्तिपुरमा पुगे । ८० वर्षका उनलाई दम भएको थाहा भए पनि कारण जानकारी थिएन । डाक्टरसँगको जाँचपछि घरकै चुलोबाट निस्कने धुवाँ र धूमपानका कारण दम बढेको थाहा पाए। “धुलो र धुवाँमा त अनगिन्ती समयसङ्गत गरियो”, उनले भने, “यसको असरबारे मलाई अहिलेसम्म जानकारी थिएन।”
सोही ठाउँकी ७८ वर्षीया पार्वती सुवेदी पनि दमलगायतका रोगबाट पीडित छिन् । उनको अधिकांश समय चुलोको धुवाँसँगै बितेका कारण दमले च्याप्दै गएको डाक्टरको जाँचपछि पत्तो पाइन् । ८६ वर्षीया पूर्णकला थापाको पनि समस्या उहीँ हो ।
उनीहरु मात्र होइन, चन्द्रकोटको निःशुल्क स्वास्थ्य शिविरमा सहभागी अधिकांश बिरामी दमको विरामी छन् । शुक्रबार, शनिबार र आइतबार सञ्चालन भएको शिविरमा सेवा लिएका एक हजार छ सय २३ जनामध्ये अधिकांश दमका बिरामी सहभागी भए । योसँगै मिर्गौला, मुटु, स्त्री, जनरल फिजिसियन र आँखाका बिरामीले पनि सेवा लिएका छन् । निःशुल्क जाँचसँगै औषधि पनि पाएका छन्।
गाउँघरमा दैनिक चाहिने ऊर्जाका निम्ति कोइला, दाउरा तथा गुइँठा आगोको कच्चा पदार्थका रुपमा प्रयोग गरिन्छ । खाना बनाउनका लागि प्रयोग हुने गरेका यी वस्तु र चिसो मौसममा आगो तापेर चुलो छेउमा बस्दा पनि धुवाँले असर गरिरहेकै कारण अधिकांशमा दमको समस्या देखिएको हो।
चन्द्रकोट गाउँपालिकाको स्वास्थ्य शिविरमा उपस्थित अधिकांशमा आफूले जाँच गर्दा दमसम्बन्धी समस्या देखिएको जनरल फिजिसियन डा. नन्दु पाठकले जानकारी दिए । चुलोबाट निस्कने धुवाँ र धूमपान बढी प्रयोगका कारण दमको समस्या देखिएको उनले बताए। ग्रामीण भेगमा अझै पनि सुधारिएको चुलोको प्रयोगमा समेत कमी छ। रासस