काठमाडौँ । नाइजेरियामा फैलिएको हैजाको प्रकोपबाट मृत्यु हुनेको संख्या ५१ जना पुगेको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ हैजाबाट कम्तीमा पनि ५१ को ज्यान गएको जानकारी गराएका छन्।
उनीहरुका अनुसार नाइजेरियामा सोमबार मात्र ३१ जनाको ज्यान गएको छ। यसअघि आइतबारसम्म यहाँ २० को ज्यान गएको बताइएको थियो।सोमबार मात्र यो संख्या बढेर ५१ पुगेपछि यो सोमबार मात्र ३१ जनाको ज्यान गएको प्रमाणित भएको हो। पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको समाचारमा जनाइएको छ।
नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको समाचारमा जनाइएको छ। ज्यान जानेमा सोही राज्यका नागरिक बढी रहेका पनि समाचारमा उल्लेख गरिएको छ।
यहाँको उक्त राज्यको स्थानीय अबि क्षेत्रका १० गाउँमा बढी मात्रामा हैजाको प्रकोप फैलिएको उनीहरुको भनाई छ। नाइजेरियाली सरकारले यहाँका १० ओटा गाउँमा हैजा फैलिएको पाइएकोले त्यसको अनुसन्धान थालिएको जनाएको छ। यहाँका ती गाउँमा मात्र सयौँ मानिस विरामी भइ अस्पताल भर्ना भएका छन्।
यहाँका ती जिल्लामा केही हप्तादेखि झाडा पखालाका विरामी बढेको पाइएको थियो। ती विरामीमा हैजाको प्रकोपको आशङ्कामा अनुसन्धान गरिएको थियो।यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएअनुसार यहाँ गएको बुधबारदेखि हैजा सङ्क्रमण भएको पाइएको हो।
सरकारले ती क्षेत्रमा सफा पानीको प्रबन्ध र सरसफाईका कामलाई अघि बढाएको जनाएको छ। साथै गाउँलेहरुलाई सरसफाईसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको बताइएको छ।
यहाँका घना बस्तीहरुमा खानेपानी, सरसफाई तथा अन्य आवश्यक स्वास्थ्य पूर्वाधारको अभावमा नाइजेरियामा हैजाको प्रकोप बारम्बार फैलिने गरेको बताइन्छ। रासस