बैतडी । जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ।
स्वास्थ्य निर्देशनालय डोटी र निक साइमन इन्सिच्युटले गरेको संयुक्त अनुगमनमा जिल्ला अस्पताल बैतडी सेवा प्रदानको हिसाबले प्रदेशकै उत्कृष्ट देखिएको हो। जिल्ला अस्पातलले ८९ प्रतिशत अंक ल्याएर पहिलो नम्बरमा रहेको हो।
अस्पतालले प्रदान गर्ने सेवा, अस्पताल भित्रका प्राविधिक सुविधा, भौतिक व्यवस्थापन र जनसक्ति लगायतका सुचकका आधारमा अंक प्रदान गर्ने गरिन्छ। जिल्ला अस्पताल बैतडीमा ४ जना मेडिकल अधिकृत, १ जना हाडजोर्नी बिशेषज्ञ, एक जना एमडीजीपी, एक जना एनेस्थेसियोलोजिस्ट र एक जना डेन्टल सर्जज गरी ८ जनाले सेवा दिइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेश क्षेष्ठले जानकारी दिए। ‘अहिले नयाँ भवनबाट सेवा दिइरहेका छौँ, केहि उपकरणहरु पनि थपिएका छन्, सवा सुविधा पनि थपिएको भएर यो उपलब्धी हासिल भएको हो,’ डा श्रेष्ठले भने।
जिल्ला अस्पतालमा न्युनतमदेखि विशिष्ट चिकित्सकीय सेवा प्रदान भइरहेको उनले बताए। नयाँ भवनबाट सेवा प्रदान भएदेखि आइसियूसहित ५० शय्याको भवन संरचनाबाट सेवा प्रदान भइरहेको छ। स–साना समस्या पर्दा समेत भारतको पिथौरागढ जाने यहाँका बिरामीहरु अहिले जिल्ला अस्पतालबाटै सेवा पाएपछि खुसी छन्। ‘हात भाँचिएको अवस्था र दाँत दुखेको अवस्थामा समेत हामि पिथौरागढ जान्थ्यौँ, अहिले सानो समस्या देखि जटिल खालका रोगहरुको पनि जिल्ला अस्पतालमै उपचार भइरहेको छ, खुसी लाग्यो,’ सेवाग्राही निर्मला टेरले भनिन्।
यसैगरी स्वास्थ्य सेवाका हिसाबले बैतडीको पुर्चाैडी नगरपालिका जिल्लाकै उत्कृष्ट रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। स्वास्थ्य प्रगति सूचकको आधारमा पुर्चाैडी नगरपालिका पहिलो नम्बरमा रहेको हो। स्वास्थ्यको बजेटको अवस्था, तथ्याङ्क अध्यावधिकको कार्य, समय समयमा रिर्पाेटिङ गरिएको, स्वास्थ्य सस्थाहरुले विभिन्न कार्यालयहरुमा भइरहने समन्वय आदि सूचकका आधारमा पुर्चाैडी नगरपालिका पहिलो नम्बरमा परेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए।
स्वास्थ्य निर्देशनालयको वार्षीक कार्यक्रम अनुरुप जिल्लालाई उत्कृष्ट पालिका छनौट गर्न जिल्लालाई जिम्मेवारी दिने गर्दछ। निर्देशनालयले दिएको सूचकको आधारमा पुर्चाैडी पहिलो नम्बरमा परेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताए।
बैतडीका अन्य पालिकाहरुको अवस्था पनि सुधारात्मक अवस्थामै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा मुख्यतय समस्याको रुपमा जनसक्ति व्यवस्थापन रहेको पाइएको छ। लोकसेवा आयोगले दरबन्दी अनुसार कर्मचारी नखटाउँदा सेवा प्रवाहमा समस्या भइरहने गरेको पाइएको हो। त्यसैगरी भौतिक संरचनाको मुख्य समस्या रहदै आएको छ।