कोरोनाभाइरस सङ्क्रमण दर तीव्र गतिमा फैलिरहँदा राजधानी काठमाण्डू लगायत देशका विभिन्न भागका अस्पतालहरूमा अक्सिजनको सङ्कट झन झन गहिरिँदै गएको छ।
अक्सिजनको सङ्कट गहिरिएपछि हालै मात्र झन्डै एक दर्जन विभिन्न अस्पतालहरूले थप बिरामीहरूलाई सेवा दिन नसक्ने अवस्था सार्वजनिक गरेका विवरण आएका छन्।
कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अस्पतालहरूलाई दैनिक निश्चित कोटा छुट्याइदिएको भएपनि त्यो अपर्याप्त भएको अस्पताल सम्बद्ध चिकित्सक र व्यवस्थापकहरूले बताएका छन्।
अक्सिजन उत्पादक सङ्घका एक जना अधिकारीले कोरोनाभाइरस महामारीको दोस्रो लहर आउनुभन्दा अघि खराब अवस्थाको आँकलन गरेर पूर्व तयारी नगरिएको भन्दै नयाँ उद्योग स्थापना गर्न तीन महिनासम्म लाग्न सक्ने बताए।
राजधानीमा उद्योग र अस्पतालले गरेर दैनिक १० हजार सिलिन्डरसम्म अक्सिजन आपूर्ति गर्नसक्ने भएपनि १५ हजारसम्म सिलिन्डरको माग आउन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मङ्गलवार सरकारले अक्सिजनको सङ्कट सम्बोधन गर्न देशभित्र रहेका अक्सिजन उद्योगको क्षमता विस्तार, लिक्विड अक्सिजन प्लान्टको जडान र खाली सिलिन्डर खरिद् जस्ता विषयलाई प्राथमिकतामा राखिएको बताएको थियो।
बढ्दो सङ्क्रमण दरलाई ध्यान दिँदै आगामी असार महिनासम्ममा ५ लाख ६६ हजार सिलिन्डर अक्सिजन बजारमा परिचालन गर्नुपर्ने अवस्था रहेको सरकारले बताएको छ।
अस्पतालहरूको अवस्था के छ?
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक विमल पाण्डेका अनुसार चाहिएको परिमाणमा अक्सिजन उपलब्ध नहुँदा उपचार प्रभावित भएको छ।
उनले भने, “हाम्रा प्रशासनका कर्मचारीहरू प्लान्ट प्लान्टमा पुग्नुहुन्छ। त्यसले जसो तसो धानेको छ। भएका बिरामीलाई अक्सिजन नपुग्ने अवस्था रहेकाले थप भर्ना गर्न नसक्ने अवस्था छ।”
कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि छुट्टाइएको ३०० बेडमा पूर्ण क्षमतामा उपचार सेवा दिँदा लगभग ६०० सिलिन्डर आवश्यक रहनेमा झन्डै २०० वटा आपूर्ति भइरहेको उनको भनाइ छ।
राजधानी काठमाण्डूको ओम अस्पतालका व्यवस्थापक विनोद अधिकारीले जम्मा ५० वटा अक्सिजन सिलिन्डर छुट्टाइएकाले आफ्नो अस्पतालले सबै किसिमका नयाँ बिरामी भर्ना लिन बन्द गरेको बताए।
उनी भन्छन्, “अक्सिजन सिलिन्डरको सङ्ख्या बढाएर ७५ वटासम्म दिने भन्ने प्रतिबद्धता जनाइएको छ। जेनतेन अहिले भर्ना भएका व्यक्तिहरूलाई उपचार गरिरहेका छौँ तर नयाँ बिरामी लियौँ भने अक्सिजनको अभावका कारण उपचार पुर्याउन नसक्ने भएर रोकेका छौँ।”
उनले साधारण अवस्थामा ओम अस्पतालले दैनिक डेढ सय अक्सिजन सिलिन्डर खपत गर्ने बताए।
राजधानीमा निजी क्षेत्रका अक्सिजन उद्योगबाट दैनिक आठ हजार भन्दा बढी सिलिन्डर भर्न सकिने र विभिन्न अस्पतालमा रहेका प्लान्टले थप दुई हजार सिलिन्डर भर्न सकिने अधिकारीहरू बताउँछन्।
बुधवार बिहानसम्म राजधानीका कम्तीमा १० वटा अस्पतालले अक्सिजन सिलिन्डर अभावका कारण नयाँ बिरामी भर्ना लिन नसक्ने धारणा सार्वजनिक रूपमा राखेका थिए।
कोभिड-१९ का बिरामीहरूलाई दैनिक १४ देखि १५ हजार सिलिन्डर अक्सिजन आवश्यक पर्न थालेको बताएको सरकारले यसै साता दातृ निकायलाई सहयोगको अनुरोध गरेको थियो।
सरकारले निजी क्षेत्रले उत्पादन गरिरहेको अक्सिजनको वितरणलाई नियन्त्रणमा लिएर कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र मार्फत कोटा तोकेर अस्पतालहरूलाई बाँड्न थालेको छ।
अक्सिजन उद्योगका प्रतिनिधि के भन्छन्?
अक्सिजन ग्यास उत्पादक सङ्घ नेपालका अध्यक्ष गौरव सारडा बिग्रिएको अवस्थामा बाहेक राजधानीका सबै अक्सिजन उद्योगहरूले चौबिसै घण्टा काम गरिरहेको तर बजारमा माग नै बढी भएकाले सङ्कट देखिएको बताउँछन्।
उनले भने, “सरकारले कोटा तोकेर त्यस अनुसार हामीलाई आपूर्ति गर्न भनेको छ। त्यसमा केही त्रुटि भयो भनेर हामीले आवाज उठाएपछि त्यसलाई सच्याएर कार्यान्वयन गरिएको छ।”
उनले थपे, “जुन अस्पतालमा माग बढी छ त्यसलाई कम कोटा उपलब्ध गराइएको छ। हामीले बिरामी कति छन् र माग कति छ त्यो यकिन गर्न वास्तविक समयको तथ्याङ्क लिने गरी अस्पतालहरूमा कर्मचारी खटाउन सरकारलाई भनेका छौँ। हाम्रो उत्पादन क्षमता सीमित भएकाले यसबाट कसरी अधिकतम गर्न सकिन्छ भनेर तथ्याङ्कमा आधारित निर्णय गर्नुपर्छ भन्ने हाम्रो कुरा हो।”
राजधानी र महामारीको जारी लहरबाट नराम्रोसँग प्रभावित नेपालगन्ज, भैरहवा र बुटवलमा अक्सिजनको माग उच्च रहेको उनले जानकारी दिए।
सारडाले राजधानीमा दैनिक आठ हजार सिलिन्डर भर्न सकिने क्षमता भएको उल्लेख गर्दै नयाँ अक्सिजन प्लान्ट स्थापना गर्न चुनौती रहेको बताए।
उनी भन्छन्, “अक्सिजन उत्पादन क्षमता वृद्धि गर्ने काम एक दिनमा हुनसक्दैन। हामीले भारतमा सङ्क्रमणको दर बढेको हेर्दा हेर्दै पनि कदम नचालेर महत्त्वपूर्ण समय नोक्सान गर्यौँ। सामानहरू भित्रिसकेपछि पनि उद्योग स्थापना गर्न न्यूनतम चार महिना लाग्छ। अरू विकल्प भनेको लिक्विड अक्सिजन राख्ने र पीएसए प्लान्ट अस्पतालहरूमा नै जडान गर्ने भन्ने हो।”
नेपालमा चार वटा अस्पतालमा मात्रै लिक्विड अक्सिजन राख्ने ट्याङ्क छ। लिक्विड अक्सिजनको आयातका लागि महामारीको लहरले नराम्रोसँग गाँजेको भारतमा निर्भर हुनुपर्ने अवस्था भएकाले त्यो सहज नभएको सारडा बताउँछन्।
राजधानीको सीता अक्सिजन उद्योगका सञ्चालक प्रह्लाद तिमिल्सीनाले उद्योगहरूलाई नियमित ढङ्गले आपूर्ति गर्न नदिएर सरकारले हस्तक्षेप गरेको बताए।
उनले भने, “हामीले भइरहेकै प्रणालीलाई व्यवस्थित गरौँ भन्दाभन्दै उहाँहरूले आफ्नै ढिपीमा काम गरिरहनुभएको छ। हामीले चौबिसै घण्टा सेवा दिइरहेका छौँ हामीलाई नै थिचोमिचो गरिदियो भने उद्योग कसले चलाइदिन्छ। यस्तो प्रयासले मनोबल घटाउँछ।”
अक्सिजनको अभावले गर्दा मानिसहरू रित्तो सिलिन्डर लिएर उद्योग बाहिर आउने क्रम बढेको भन्दै उनले उद्योगहरूमा सुरक्षा कायम गर्न सरकार गम्भीर भएर लाग्नुपर्ने बताए।
अक्सिजन उत्पादक सङ्घका प्रतिनिधि, उद्योगी र उच्च सरकारी अधिकारीहरूबिच उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा आपूर्ति सहज पार्न संयुक्त रूपमा गर्न सकिने कामहरूका विषयमा छलफल भएको थियो।
सरकार के भनिरहेको छ?
कोभिड-१९ सङ्क्रमितहरूको सङ्ख्या ह्वात्तै बढेकाले उत्पादनमा वृद्धि नभएसम्म अक्सिजनको वितरणमा चुनौती नै रहने स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल बताउँछन्।
“यो माग पुरा गर्न तत्काल हामीले अक्सिजनको उत्पादन र आयात बढाउने विषयलाई ध्यान दिनुपर्छ। त्यो हिसाबले लिक्विड अक्सिजनको प्रयोग बढाउनलाई भारत सरकारसँग हामी छलफल गरिरहेका छौँ। केही समयमा नै हामी टिचिङ अस्पतालमा लिक्विड अक्सिजन लगाउने काम हामी सम्पन्न गर्छौ।“
हालसम्म राजधानीको ट्रमा सेन्टर र टेकु अस्पताल र नेपालगन्जको भेरी र कोहलपुर अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क रहेको भन्दै त्यहाँ आपूर्ति सुनिश्चित गरिने उनले बताए।
उनले नौ वटा ट्याङ्क खरिद गर्न बोलपत्र आह्वान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए।
अक्सिजन अभाव हुन नदिन नेपालले चीन सरकारलाई २० हजार सिलिन्डर उपलब्ध गराउन अनुरोध गरेकोमा पहिलो चरणमा ३५ सय वटा सिलिन्डर उपलब्ध गराउने निर्णय बेइजिङले गरेको छ।
त्यसमध्ये चार सय सिलिन्डर मङ्गलवार राजधानी आइपुगेको थियो। थप १६ सय सिलिन्डर हवाई मार्गबाट भित्र्याउने सरकारको तयारी छ।
त्यसबाहेक विश्व ब्याङ्क र राष्ट्रसङ्घीय बाल कोष युनिसेफसँग मिलेर करिब बीस/बीस हजार अक्सिजन सिलिन्डरको खरिदका लागि प्रक्रिया अघि बढाएको स्वास्थ्य मन्त्रालयका सचिव अर्यालले जानकारी दिए।
उनले आपूर्ति प्रणाली सहज गर्न तत्काललाई लिक्विड अक्सिजन ट्याङ्क भित्र्याउन जोड दिइने भन्दै बिग्रिएका अक्सिजन प्लान्टहरू पनि मर्मत गर्न थालिएको बताए।
यसअघि सरकारले अक्सिजन र योसँग आवश्यक उपकरणहरू अत्यावश्यक भएको भन्दै त्यसलाई भित्र्याउँदा भन्सार छुट दिने निर्णय गरेको थियो।
यसै साता मात्रै स्वास्थ्य मन्त्रालयले सात वटा अक्सिजन उत्पादन गर्ने प्लान्ट र ६० हजार सिलिन्डर तीन महिनाभित्र आवश्यक रहेको भन्दै दाताहरूलाई पत्राचार गरेको थियो।
सीसीएमसीले अक्सिजन सम्बन्धी जानकारीको लागि शुल्क नलाग्ने नम्बर १११४ सञ्चालनमा ल्याएको छ।
साथै उसले अस्पतालहरूलाई वितरण गरिएका अक्सिजनको कोटाको संख्या पनि आफ्नो वेवसाइटमा राखेको छ।
त्यसबाहेक अक्सिजनका लागि पठाउने दैनिक माग फारममा आइसीयू, एचडीयू, क्याविन र इमरजेन्सीको क्षमता र कोभिड-१९ वा अन्य रोगका कारण भर्ना भएका बिरामीको संख्या उपलब्ध गराउन सीसीएमसीले अस्पतालहरूलाई भनेको छ।
बिबिसी