काठमाडौँ । स्वास्थ्य रहनका लागि हिँड्नु पर्छ । शरीर स्वास्थ्य राख्ने हो भने बिहान कम्तीमा पनि ३० मिनेट हिँड्नु पर्ने चिकित्सकहरुको भनाई छ । बिहानको समयमा हिँड्नु स्वास्थ्यको लागि राम्रो हो । गर्मी मौसममा बिहान हिँड्दा स्वास्थ्यमा खासै नकारात्मक नपर्ने भएपनि जाडोको समयमा भने मर्निङवाक जानुअघि अनेकन कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
जाडोको समयमा मर्निङवाक कतिको उपयुक्त हो ? मर्निङवाक गर्दा के कुरामा ध्यान दिन आवश्यक छ ? कस्ता रोगीले मर्निङवाक नगर्ने ? कसले मर्निङवाक गर्नेलगायत विषयमा मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले यसबारे सविस्तार जानकारी गराएका छन् :
सामान्य व्यक्तिले दिनको ३० मिनेट अनिवार्यरुपमा शरीरिक गतिविधि गर्नुपर्ने हुन्छ । मधुमेह, पेसर र कोलेस्ट्रोल भएका व्यक्तिहरुले एकदेखि ढेड घण्टा प्रतिदिन हिँड्नुपर्ने हुन्छ ।
हिँडन छोड्नु भयो भने अर्काे केही दिनदेखि प्रेसर तथा सुगर बढ्न थाल्छ र अनेक जटिलताहरु उत्पन्न हुन्छन् । त्यसैले वाकिङ एक्सरसाइजलाई नियमित गर्नुपर्छ । स्वास्थ्य रहने एउटा महत्वपूर्ण उपाय एक्सरसाइज हो । त्यसमा पनि वाकिङ । यसको ठाउँमा अरु विकल्प पनि छैन ।
जाडोको समयमा मर्निङवाक गर्दा विशेष सावधानी अपनाउन पनि एकदमै जरुरी छ । मर्निङवाक गर्नुपर्छ र गर्नु हुँदैन भन्ने दुबै कुरा गलत हो । कारण प्रत्येक व्यक्तिको शरीर र स्वास्थ्य अर्काे व्यक्तिको भन्दा फरक हुन्छ । खानपान, एक्सरसाइज र रोगनै फरक हुन्छ । जसले गर्दा आफूले मर्निङवाक गर्नु हुँदैन भन्दैमा अरुले पनि गर्नु हुँदैन भन्नु गलत हो ।
त्यसैले आफ्नो शरीर कुन अवस्थामा छ र के–केमा सचेत हुनुपर्ने हो भन्ने कुराको बारेमा जानकारी राख्नु जरुरी हु्न्छ । कसैले भन्दैमा मर्निङ वाक गर्नु हुँदैन या गर्नुपर्छ दुबै कुरा गलत हुनसक्छ ।
मुटुरोगीले ध्यान दिनु जरुरी
जाडोको समयमा मृत्यू हुनेको संख्यामा धेरै मुटुरोगीहरु हुन्छन् ।
– संसारभरीनै अहिलेसम्मको अनुसन्धानले के भन्छ भने गर्मीको तुलनामा जाडोको समयमा मृत्यू हुनेको संख्या धेरै रहेको छ । जसमध्ये मुुटु र रक्तनलीसम्बन्धी रोगीहरुको संख्या धेरैनै हुन्छ । यस्तै दमको रोगीहरु पनि बढ्ने गर्छन् । किन मुटुरोगीको धेरै मृत्यू हुन्छ भन्ने एकिन कारण नभए पनि जाडोकोे समयमा तापक्रम कम भएको कारणले शरीरमा धेरै नकारात्मक परिवर्तनहरु भइरहेको हुन्छ ।
– जाडोको समयमा व्यायाम पनि कम हुन्छ । अल्छिपनाको कारणले गरिरहेको एक्सरसाइज छाडिन्छ र तेस्रो कुरा प्रदूषण पनि बढ्छ । यस्तो प्रदूषणले चिसो महिनामा मुटु र रक्तनलीमा नकरात्मक असर गर्छ ।
– संक्रमण पनि चिसोको समयमानै धेरै हुन्छ । विशेष गरेर फोक्सोको संक्रमण बढ्ने र त्यो संक्रमणले मुटुको समस्या हुने हुन्छ । दम र हृदयघातको कारणले पनि मृत्यू हुनेको संख्या धेरै रहेको छ ।
– खानपिन पनि जाडो र गर्मीमा फरकनै हुन्छ । जसको कारण केही जोखिमहरु हामीले जान–अन्जानमा लिइरहेका छौँ ।
जाडोको समयमा तापक्रम घट्यो भने यसले शरीरमा प्रत्यक्ष र अप्रत्यक्ष असर गर्छ । प्रत्यक्ष असर रक्तिनलीहरु जाडोकोे कारणले खुम्चिन्छ । गर्मीमा रक्तनली फराकिलो हुने र जाडोमा खुम्चिने हुन्छ । खुम्चीदा मुटुलाई लोड बढ्छ जसले गर्दा मुटुको धड्कन बढ्छ र रक्तचाप बढ्छ ।
अर्काे कुरा जाडोको कारणले शरीरमा विभिन्न किसिमका हर्माेनहरु उत्पन्न हुन्छ । मुटुभित्र मुटु बाहिरको रक्तसंचार डिसाइड गर्ने महत्वपूर्ण हार्माेनहरु पनि बनेका हुन्छ । यस्तै क्लटिङटेन्डेन्सी पनि जाडो महिनामा बढ्छ । क्लटिङको स्तरनै जाडो महिनामा धेरै हुन्छ । क्लटिङ बढ्नु भनेको जाडोमा हृदयघात, ब्रेन स्ट्रोक, डिबिटी हुने खतरा बढ्नु हो ।
यस्तै जाडोको समयमा रगतको घनत्व पनि बढ्छ । जसले गर्दा सामान्य तरिकाले हुनुपर्ने रक्तसंचारमा पनि परिवर्तन आउँछ । यसको प्रमुख कारण हर्मोनमा आउने परिवर्तन हरु नै हुन् ।
जाडोमा मुटु धेरै सक्रिय हुन्छ
सामान्य भाषामा हामीले के बुझ्न जरुरी छ भने जाडो महिनामा हाम्रो मुटु अन्य समयभन्दा बढी सक्रिय हुन्छ ।
जाडोको कारण मुटुले रेष्ट गर्ने समयमा पनि काम गर्नुपर्ने हुन्छ । यदी कोही मुटुको बिरामी हुनुहुन्छ या हुने सम्भावना छ भने त्यस्ता व्यक्तिलाई जाडोको समयमा अलि जोखिम हुन्छ ।
त्यसैले अलि बढी ब्यायाम गरियो भने जोखिम देखा पर्न सक्छ । हृदयघातका बिरामी, मुटुमा ब्लकेज भएर उपचार नगरेको, मुटुको भल्व, मुटुको चाल अर्थात मुटु सम्बन्धी बिरामी भनेर थाहा भइसकेका बिरामीहरुले विशेष सावधानी लिन जरुरी हुन्छ । किनभने जाडोले मुटुलाई विशेष जोखिममा राखेको हुन्छ ।
यी व्यक्तिहरु मुटुरोगको जोखिममा
७० देखि ८० वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिहरुमा उमेरकै कारणले मुटुको ब्लकेज हुने सम्भावना हुन्छ ।
यस्तै सूर्तिजन्य पदार्थ र मादक पदार्थ धेरै सेवन गर्ने व्यक्ति, दमको रोगी लिवर, किड्नी र मस्तिष्कको रोगीमा मुटुरोगको जोखिम उच्च हुन्छ ।
जाडोको कारण मुटुको चाल त्यसै तीब्र हुन्छ । बिश्रामकै बेलामा जाडोमा अचानक एक्स्पोजर भयो र एक्सरसाइज गर्न थालियो भने त्यस्ता व्यक्तिलाई हृदयघात र छाती दुख्ने एन्जाइनाका लक्षणहरु देखिन सक्छ । त्यसैले चिसोको समयमा धेरै हिँड्नु हुँदैन ।
जो सामान्य बिरामी छ, प्रेसर पनि नियन्त्रणमा छ, र नियमित औषधि खाइरहेको छ, त्यस्ता व्यक्तिले दैनिकीलाई केहीपनि परिवर्तन गर्न जरुरी हुँदैन । सामान्य तरिकाले मर्निङवाक जति चिसोमा पनि गर्न सकिन्छ । तर मर्निङवाकमा जाँदा मनतातो पानी खाएर हिँड्नु राम्रो हुन्छ । दोस्रो कुरा मर्निङ वाकमा जानु पहिले आफ्नो शरीरलाई वार्मअप गर्दा राम्रो हुन्छ ।
किनभने अचानक हिँड्दा मुटु अत्याधिक खतरामा हुन्छ त्यसैले जस्तो राम्रो अवस्थामा भएपनि वार्मअप गर्न एकदमै जरुरी छ ।
अर्काे महत्वपूर्ण कुरा के रहेको छ भने मानौंँ तपाईँ गर्मीमा ६ किलोमिटर हिँड्नुहुन्थ्यो भने जाडोको समयमा ५ किलोमिटरमात्रै हिँड्नुस् । जाडोको महिनामा पानी परेको छ या चिसो हावा चलिरहेको छ भने त्यस्तो बेलामा नहिँड्नु हितकर हुन्छ । समय छ भने घाम उदाएको बेलामा हिँड्दा पनि राम्रो हुन्छ।
यस्तै जाडोको समयमा शरीर तताउनको लागि मादक पदार्थ र चूरोट सेवन गर्ने पनि चलन रहेको छ । चूरोटले जाडोको समयमा मुटुको धड्कन बढाउने, पेसर बढाउने काम गर्छ । यस्ता कुराले शरीर तताउने होइन हृदयघात गराउन पनि सक्छ ।
यस्तै मादक पदार्थले तपाईँको शरीरलाई तातो पार्दैन बरु भएको हिटलाई पनि नोक्सान गर्ने काम गर्छ ।
तपाईँमा प्रेसर, सुगर र कोलेस्ट्रोल कति छ भनेर परीक्षण गरेर हेर्न जरुरी छ किनभने जाडोको समयमा बढ्ने र घट्ने भइरहेको हुन्छ । जाडोमा हिँड्ने क्रममा छाती भारी हुने, अप्ठारो हुने र रोकिएपछि ठिक हुने जस्ता लक्षण देखियो भने तत्काल चिकित्सकलाई देखाउन जरुरी हुन्छ । यो मुटुरोगमा ब्लकेजको लक्षण पनि हुनसक्छ ।
डा. अनिलले आफ्नो सामाजिक सञ्जालमार्फत शेयर गरेकाे सामग्रीमा आधारित