काठमाडौं। देशभर चिसो बढिरहेको छ। केही समययता बढ्दो चिसोसँगै शीतलहर र हिमपातले जनजीवन प्रभावित हुन थालेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिसोबाट जोगिन विभिन्न उपायहरू अपनाउन सुझाव दिएको छ।
यस्ता छन् मन्त्रालयका सुझाव:
१. शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाऔँ ।
२. कोठा न्यानो पारौँ र पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था गरौँ ।
३. बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घरोगीहरूलाई चिसोबाट बचाऔँ ।
४. आमाको दूध सेवन गर्ने शिशुहरूलाई नियमित रूपमा स्तनपान गराऔँ ।
५. तातो तथा पोषिलो झोलपदार्थहरू प्रशस्त मात्रामा सेवन गरौँ ।
६. धूमपान तथा मद्यपान नगरौँ ।
७. स्वास्थ्यसम्बन्धी कुनै समस्या जस्तै : ज्वरो आएमा, झाडापखाला लागेमा, दम बढेमा, खोकी लागेमा, घ्यारघ्यार भएमा, श्वास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ ।
८. सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला ब्रिकेट आदि बाली झ्यालढोका बन्द गरेर कहिल्यै नसुतौँ । त्यसो गरेमा श्वास फेर्न नसकी निसासिएर मृत्यु समेत हुनसक्छ ।
९. आगो बालेको ठाउँमा बालबालिकालाई एक्लै नछोडौँ ।